सुर्खेतमा बेवारिसे बम विस्फाेट हुँदा दुई जना घाइते
सुर्खेत - सुर्खेतमा बेवारिसे बम विस्फाेट हुँदा घाँस काट्न गएका दुई जना घाइते भएका छन् । वीरेन्द्रनगर–७ कटकुवा सामुदायिक वनमा घाँस दाउरा संकलन गर्ने क्रममा बेवारिसे बम विस्फोट हुँदा दुई जना घाइते भएका हुन् । घाइते हुनेमा वीरेन्द्रनगरका १४ वर्षीय नरेश नेपाली र गुराँस गाउँपालिका–६ दैलेखका २१ वर्षीय लिला परियार छन् ।
वीरेन्द्रनगर–७ ईत्राममा बस्दै आएका उनीहरू शनिबार बिहान घाँस लिन कट्कुवा सामुदायिक वनमा घाँस काट्न गएका थिए । उनीहरूको देउती अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि आँखा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) रामप्रसाद घर्तीले जानकारी दिए ।
मुखमा बमको छर्रा लागेकाले नरेशको आँखामा पनि असर पर्न सक्ने देखिएकाले उनको आँखा अस्पतालमा उपचार भइरहेको छ । नेपाली सेनाले केही समय पहिले कटकुवा क्षेत्रमा अस्थायी तालिम सञ्चालन गरेकाले सो क्रममा बम छुटेको हुनसक्ने स्थानीयको आशंका छ ।
हरेक शनिबार सो सामुदायिक वन सार्वसाधारणका लागि खुला गरिने भएकोले उनीहरू घाँस दाउरा लिन गएको बेला बेवारिसे बममा परेर विस्फोट भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया