समाज

बाढी, पहिरोपीडित महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई छुट्टै राहतका विषयमा छलफल सुरु

इकागज |
कात्तिक ७, २०७८ आइतबार १५:३५ बजे

काठमाडौँ – सरकारले बाढी, पहिरो र डुबानपीडित महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई छुट्टै राहत दिने विषयमा छलफल सुरु गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आफ्नो मन्त्रालयसँग प्रत्यक्ष सरोकार राख्ने बाढी, पहिरो, डुबानलगायतका विपद्मा परेकाहरूलाई राहत दिने विषयमा छलफल सुरु गरिएको बताएकी हुन् ।

आइतबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले त्यसका लागि स्थानीय सरकारसँग तथ्यांक लिएर मन्त्रालयसँग सरोकार राख्ने महिला, बालबालिका, ज्येष्ठ नागरिकलगायतलाई गर्न सकिने सहयोगका विषयमा ठोस निर्णय लिने प्रतिबद्धता व्यक्त गरिन् । मन्त्री रेग्मीले विपद्ले थप पीडामा परेका सुत्केरी, नवजात शिशुको स्तनपान, गर्भवती महिलालगायतलाई तत्काल राहत दिने काम भने स्थानीय सरकारको भएको पनि स्पष्ट पारिन् ।


‘महिला, बालबालिकाहरू हरेक प्रकोपमा बढी प्रभावित हुन्छन् । कोभिडमा पनि महिला, बालबालिका बढी प्रभावित भए । अहिले बाढी, पहिरो, भुकम्प जेमा पनि उनीहरू धेरै प्रभावित भएका छन्,’ मन्त्री रेग्मीले भनिन्, ‘सरकारले गर्दा समग्रतामा गर्ने हो । स्पेसिफिक होइन । जहाँसम्म हाम्रो मन्त्रालयको कुरा छ, अब त्यस्तो सत्यतथ्य कति छ ? कति महिला, बालबालिका प्रभावित भए ? त्यसको तथ्यतथ्य आँकडा स्थानीय सरकारसँग लिएर त्यसमा के गर्न सकिन्छ ? त्यो कुरा चाँहिँ छलफल गर्दैछौं ।’ उनले विपद्मा परेका नागरिकलाई तत्काल राहतको व्यवस्था गर्ने काममा ढिलाइ नगर्न स्थानीय सरकारलाई आग्रहसमेत गरिन् ।


Author

थप समाचार
x