समाज

दोधारा-चाँदनीका बाढीपीडितलाई ८० बोरा चामल प्रदान

इकागज |
कात्तिक ८, २०७८ सोमबार १४:३४ बजे

कञ्चनपुर – कञ्चनपुरको दोधारा–चाँदनीका बाढीपीडितका लागि राहतस्वरुप ८० बोरा चामल हस्तान्तरण गरिएको छ । केही दिनअघि आएको बाढीबाट विस्थापित भएका पीडितलाई स्थानीय अगुवाको पहलमा उक्त राहत सामग्री दोधारा–चाँदनीका नगर प्रमुख वीरबहादुर सुनारलाई हस्तान्तरण गरिएको हो ।

दोधारा–चाँदनीमा आइतबार राति सम्पन्न डे–नाइट क्रिकेट प्रतियोगिताको मैत्रीपूर्ण खेल पत्रकार महासंघ र सुरक्षाकर्मीबीच भएको थियो । सोही अवसरमा पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकमार्फत राहतस्वरूप चामल हस्तान्तरण गरिएको हो । 


‘मैत्रीपूर्ण क्रिकेट खेल्दै हामीले पीडितलाई सहयोग होस् भन्ने उद्देश्यले यहाँ सुरक्षाकर्मी, पत्रकार र व्यवसायी मिलेर सहयोग गरेका हौं,’ स्थानीय अगुवा सुरेश भट्टले भने, ‘धेरै पीडितको घरमा अहिले छाक टार्नसमेत मुश्किलपर्ने अवस्था देखेपछि राहत दिन लाग्यौं ।’

राहतका लागि सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐर, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपाने, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशवराज भट्ट, वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक अमर माझीलगायतले सहयोग गरेको भट्टले जानकारी दिए ।


Author

थप समाचार
x