तनहुँको ऋषिङ गाउँ फर्किनेलाई एक लाख अनुदान
पोखरा – तनहुँको ऋषिङ गाउँपालिकाले गाउँ फर्किनेलाई घर बनाउन एक लाख अनुदान दिने निर्णय गरेकाे छ । १० औं गाउँसभाको निर्णयअनुसार चालू आर्थिक वर्षदेखि अनुदानको घोषणा गरेपछि त्यसलाई कार्यान्वयन सुरु गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।
‘पहिले दुर्गम भएकोले मान्छेहरू बाहिर गए । बाहिर गए पनि उनीहरूसँग उता घरजग्गा छैन । ऋषिङमा पनि घरजग्गा नभएकाहरू गाउँ आउँछन् भने रकम दिने सभाले निर्णय गरेको छ,’ उनले भने, ‘देख्दा सामान्य लागे पनि यो निर्णय हाम्रा लागि महत्त्वपूर्ण छ । गाउँमा विकास आयो तर विकास उपभोग गर्ने नागरिक नै छैनन् भने त्यसको के काम ?’
चालू वर्षमा १५ घर फर्किने पालिकाको अनुमान छ । सोही अनुसार १५ लाख विनियोजन गरेर कार्यक्रम अघि बढाइएको श्रेष्ठले बताए । तर अनुमान भन्दा बढी आए पनि रकम व्यवस्थापन गर्ने उनको भनाई छ । विशेषगरी वैदेशिक रोजगारीले गाउँबाट बसाइँ सह्राइ गर्नेहरू बढी रहेका श्रेष्ठले जानकारी दिए ।
‘श्रीमान् विदेश गएर पैसा कमाउन थालेपछि बालबच्चा पढाउन श्रीमतीहरू सहर झरे । त्यो बेला बाध्यता थियो । तर अहिले गाउँमै शिक्षा, स्वास्थ्यको राम्रो व्यवस्था छ,’ उनले भने, ‘अब सहर बस्नुपर्दैन । रोजगारी पनि गाउँमै छ । २-४ हजार कमाउन गाउँ छोड्नु पर्दैन ।’
घर बनाउन आवश्यक जग्गा भने व्यक्तिले किन्नुपर्छ । त्यसको सहजीकरण पालिकाले गरिदिने पालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले जानकारी दिए । ‘जग्गा उहाँहरूले किन्नुहुन्छ । तर आवश्यक परे सहजीकरण सरकारले गर्छ,’ उनले भने, ‘घर बनाएपछि बत्ती, पानीजस्ता सुविधा निःशुल्क उपलब्ध गराउने योजना छ ।’
उनकाअनुसार गाउँको आकर्षण बढाउन थप योजना आउँदै छ । पुसमा बस्ने गाउँसभाबाट ऋषिङ फर्किने अन्यलाई पनि राहत स्वरूप अनुदान व्यवस्था गर्न लागिएको उनले सुनाए । यसरी गाउँ फर्किनेलाई लक्षित गरेर व्यावसायिक कृषि कार्यक्रम ल्याएको छ । सोही बैठकले जोखिमयुक्त क्षेत्रको बस्ती स्थानान्तरणका लागि थप अनुदान दिने निर्णय गरेको छ । क्षति हेरेर ६० हजारसम्म अनुदान दिइने पौडेलले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया