समाज

ललितपुरका सहायक सीडीओसहित गृहका १३ उपसचिवकाे सरुवा

इकागज |
कात्तिक १०, २०७८ बुधबार १७:५६ बजे

काठमाडौँ – गृह मन्त्रालयले ललितपुरका सहायक सीडीओ ललितकुमार बस्नेतसहित १३ उपसचिवको सरुवा गर्ने भएको छ । गृहअन्तर्गतका उपसचिवलाई निजामती सेवा ऐन २०४९को दफा १८ (क) बमोजिम कर्मचारी सरुवा गर्न लागिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । 

गृहका उपसचिव श्रीधर केसीलाई सुर्खेतको सहायक प्रमुख जिल्ला अधिकारी, उपसचिव लक्ष्मण ढकाललाई कारागार व्यवस्थापन विभाग, मोहनप्रसाद अर्याललाई इलाका प्रशासन कार्यालय सिमरा, वासुदेव घिमिरेलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिने भएको हो ।


गृहका उपसचिव हरिप्रसाद पन्तलाई ललितपुरको सहायक सीडीओको जिम्मेवारी दिइएको छ भने हाल ललितपुरका सहायक सीडीओ बस्नेतलाई राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागमा पठाइने भएको छ । यस्तै गृहकी उपसचिव कल्पना घिमिरेलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गर्ने भएको छ ।

भिमफेदी कारागार मकवानपुरका जेलर उपसचिव नारायण पाण्डेलाई इलाका प्रशासन कार्यालय चन्द्रौटा सरुवा गरिने भएको छ भने गृहका उपसचिव इश्वरीप्रसाद ढकाललाई कास्कीको सहायक सीडिओको जिम्मेवारी दिइएको छ । गृहका उपसचिव विष्णु पौडेललाई बाँकेको सहायक सीडिओको जिम्मेवारी दिइएको छ भने गृहका उपसचिव मिना अर्याललाई राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागमा पठाइने भएको छ ।

यस्तै गृहका उपसचिव सागर शाहलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग र इलाका प्रशासन कार्यालय उर्लाबारीका उपसचिव श्रवणकुमार पोखरेललाई कारागार व्यवस्थापन विभागमा सरुवा गरिने भएको हो । ‘सिफरिसमा परेका १३ उपसचिवमध्ये तीन, चार जना सरुवा भइसक्नु भएको जानकारी छ । बाँकी उपसचिव पनि सरुवा हुन लाग्नु भएको हो,’ गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले इकागजसँग भने ।


Author

थप समाचार
x