दाङमा दुई सातामा मरे ३० खसी बाख्रा
फाइल तस्बिर
दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका– १३ फूलबारी क्षेत्रमा खसी बाख्रामा प्रकोप देखिएको छ । खसी बाख्रामा झाडापखालाको प्रकोप देखिएको हो । खसी बाख्रामा पखाला लाग्ने, बिरामी हुने र मर्ने क्रम बढेको स्थानीय किसानहरूले बताएका छन् । प्रकोपबाट दुई साताको अवधिमा ३० खसी बाख्रा मरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारीमा बाख्रा पालन गर्दै आएका ६ जना किसानका ३० वटा खसी बाख्रा मरेको बाख्रा पालक किसान गोविन्द सुवेदीले जानकारी दिए ।
उनका अनुसार खसी बाख्रामा केही दिनदेखि पखालाको समस्या देखिएको थियो । उक्त समस्या देखिएको केही दिनमा नै सबै खसी बाख्रा मरेको उनले बताए । बिरामी भएका स्थानीय किसान हिरामती चौधरीका चार खसी र सात बाख्रा गरी ११ वटा, लालबहादुर चौधरीको दुई बाख्रा, शान्ता चौधरीको ६ बाख्रा, बलवीर चौधरीको चार वटा बाख्रा, मनोज चौधरीका चार बाख्रा र पूर्णबहादुर चौधरीका दुई बाख्रा मरेको उनले जानकारी दिए ।
दुई साताको अवधिमा उक्त संख्यामा खसी बाख्रा मरेको र अझै पनि ८ वटा बिरामी रहेको पशु सेवा शाखा तुलसीपुरका शाखा अधिकृत सुवास आचार्यले जानकारी दिए ।
किसानले समयमा उपचारमा ध्यान नदिँदा ठूलो क्षति भएको उनले बताए । वर्षातको समयमा खसी बाख्राको खानपान र स्याहारमा ध्यान नदिँदा मरेको उनले बताए । चरनका क्रममा भिजेका कारण पखाला र ज्वरो आउने जस्ता लक्षण देखिएकाले उनीहरूको खानपान, औषधीउपचार र स्याहारमा विशेष ख्याल गर्नुपर्ने उनले बताए । आफूहरूले पीडित किसानसँग भेट गरी बाँकी बिरामी बाख्राका लागि औषधि र परामर्श दिइएको आचार्यले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया