आमसञ्चार प्रशिक्षण प्रतिष्ठान चितवनमा स्थापना गर्न माग
सौराहा - नेपाल पत्रकार महासंघले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान चितवनमा स्थापना गर्न माग गरेको छ । सौराहामा जारी महासंघको बागमती प्रदेशको प्रथम प्रादेशिक भेलाको आइतबार समापन समारोहमा ११ बुँदे सौराहा घोषणापत्र जारी गर्दै महासंघले यस्तो माग गरेको हो ।
नेपाल सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको आमसञ्चार प्रशिक्षण प्रतिष्ठानलाई चितवनमा स्थापना गर्ने सम्बन्धमा महासंघको केन्द्रीय समितिले निर्णय गरेकाले त्यसको कार्यान्वयन गर्न घोषणा पत्रमा माग गरिएको छ । महासंघको काभ्रे शाखाद्वारा निर्माणधीन भवनमा आवासीय प्रशिक्षण केन्द्र स्थापनाका लागि आवश्यक प्रबन्ध मिलाउन पनि सम्मेलनले सरकारसँग माग गरेको छ । महासंघको प्रदेश कार्यालय रहेको हेटौंडा उपमहानगरपालि–११ स्थित जग्गामा प्रादेशिक सञ्चारग्राम स्थापनाका लागि प्रक्रिया अघि बढाउन आग्रह गरिएको घोषणा पत्रमा उल्लेख छ ।
यस्तै प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित, क्षमता अभिवृद्धि तथा पेशागत सुरक्षाको आवश्यक प्रबन्ध गर्न सम्मेलनले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । कोभिड महामारीलगायत कारण देखाउँदै सञ्चारमाध्यमले पत्रकारलाई कामबाट हटाउने, पारिश्रमिक नदिनेजस्ता गतिविधि गरेकोमा सम्मेलनको ध्यानाकर्षण भएको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया