समाज

किनमेल गर्नेको भिड

रङ्‍गीचङ्‍गी बजारमा तिहारको रौनक

अतिन आचार्य |
कात्तिक १५, २०७८ सोमबार ७:३५ बजे

सबै तस्बिरः अनुज बज्राचार्य

काठमाडौँ- दसैँलगत्तै नेपालीको अर्को ठूलो पर्व तिहार घर-आँगनमै आइपुगेको छ । तिहार नजिकिएसँगै उपत्यकालगायत मुलुकभर चिसो पनि बढेको छ । काठमाडौँमा जाडो बढ्दैछ । तर, किनमेलमा निस्किएका मानिसहरूको भिडभाडले सहर तताएको छ । बजारमा छुट्टै रौनक छाएको छ । भाइ मसला, ओखर, रंगौलीका रंग, तामाका भाँडाकुडा र रंगबिरंगी मालाले बजार सजिएका छन् । चिसो बढेकोले लत्ता कपडा किन्‍नेको भिडभाड पनि उस्तै छ । बेलुकीको झिलिमिली छुट्टै रमाइलो छ । 

गत वर्ष कोभिड-१९ को महामारीले दसै-तिहारजस्ता चाडपर्व खुलेर मनाउन पाइएन । यसपालि भने मानिसले खुलेर चाडपर्व मनाइरहेका छन् । मानिसहरू किनमेलका लागि निस्किरहेका छन् ।


पोहोर साल कोभिडविरुद्धको खोप उपलब्ध नभए पनि यसपटक भने अधिकांश नेपालीले एक डोज भए पनि खोप लगाएका छन् । मुलुकमा संक्रमण कायमै रहे पनि खुला रूपमा चाडपर्व मनाउन उत्साहित भएका छन् ।

विशेषगरी तिहारमा चेलीबेटीले आफ्ना दाजुभाइलाई उपहारस्वरूप भाइ मसलाका तथा ढाका टोपी दिने प्रचलन रहेको छ । चोक-चोकका बजारमा पनि उपहारका सामग्री खरिद गर्नेहरूको भिड लाग्‍न थालेको छ । काठमाडौँको व्यापारिक केन्द्र मानिने न्युरोड, इन्द्रचोक र असनमा रहेका व्यापारीहरूले विभिन्‍न प्रकारका उपहारस्वरूप दिइने सामग्री बिक्री गर्न थालेका छन् ।

गत वर्षभन्दा यसपटक तिहारका सामग्री खरिद गर्न आउनेहरूको भीडभाड बढेको व्यापारीहरूले बताउँन थालेका छन् । भाइ मसला, ओखर, रंगौलीका लागि रंग, टीका लगाउनका लागि प्रयोग हुने रङ्ग तथा तामाका भाँडाकुडासमेतको बिक्री बढिरहेका छन् । यतिखेर प्रत्येक पसलमा तिहारका लागि सामग्री खरिद गर्ने ग्राहकहरूको भिड बढlरहेको देख्‍न सकिन्छ ।  

तिहारका लागि किनमेल गर्न आउन मानिसहरूको संख्या दिनप्रतिदिन बढ्न थालेको असनकै भिडभाड सडकमै ढाका टोपी बेच्‍न बसेका नरबहादुर बस्‍नेत बताउँछन् । गत वर्ष कोभिड महामारीले घरबाहिर ननिस्केका मानिसहरू यसपालि भने सहज चाडपर्व मनाइरहेका छन् ।

'तिहार लागेकाले होला टोपी खरिद गर्न आउनेको संख्या पनि बढिरहेको छ,' उनले भने,'दिनमा ४० देखि ५० वटा टोपी बिक्री हुने गरेका छन् ।' उनकोमा एक सयदेखि चार सय रुपैयाँ पर्नेसम्मको टोपी पाइन्छ ।

पाल्पाली र पूर्वेली टोपीको मूल्य सबैभन्दा महँगो पर्ने गरेको बस्‍नेत बताउँछन् । सबैभन्दा बढी तीन सय रुपैयाँ मूल्यको बिक्री हुने गरेको उनले सुनाए । कतिपय ढाकाटोपीहरू बाहिरी जिल्लाबाट आयात गरिने उनको भनाइ छ । 'कपडा आयात गरी काठमाडौँमा पनि टोपी निर्माण गरिन्छ,' उनले भने ।

असनमा एक दशकभन्दा बढीदेखि तिहारका सामग्री बिक्री गरिरहेकी शकुन्तला श्रेष्‍ठसँग यसपटक पोहोर सालको भन्दा बेग्लै अनुभव छ । दसैमा जस्तै भिडभाड बढेको र किनमेल गर्नेको संख्या पनि बढिरहेको उनले बताइन् । गत वर्ष मानिसहरू किनमेलका लागि धेरै आएका थिएनन् । अहिले भने बेलैदेखि भिड बढिरहेको उनको भनाइ छ ।

यसपटकको तिहारमा शकुन्तलाले बाटोमै भाइ मसलाका बिक्री गर्न राखेकी छिन् । चेलीबेटीले आफ्ना दाजुभाइलाई उपहारस्वरूप दिनका लागि भाइ मसलाका खरिद गर्ने गरेकी उनले बताइन् ।

दैनिक ७०-८० वटा भाइ मसलाका प्याकेट बिक्री भइरहेको उनी सुनाउँछिन् । उनका अनुसार एक सय, दुई सय, तीन सय र हजार रुपैयाँ सम्मका भाइ मसलाका प्याकेट उपलब्ध हुने गरेका छन् ।

सबैभन्दा बढी मध्यम खालको प्याकेट ५ सय रुपैयाँको भाइ मसलाकाको प्याकेट बिक्री हुने गरेको शकुन्तलाले बताइन् । 'सस्तो खालको खोज्‍ने पनि उतिकै संख्यामा रहेका छन,' उनले थपिन् ।

लक्ष्मीपूजाका दिन विशेष पूजा गर्न तामाका भाँडाकुडाहरू किन्‍न आउनेहरूको भिड पनि भाँडा पसलमा देखिएको छ । किलोमा बिक्री हुने तामाका थाल, लोटा तथा कचौराहरू किन्‍नेहरू बढी आउने गरेको भाडा पसलका विदुर डंगोल बताउँछन् ।

केही दिनदेखि पसलमा भिडभाड बढ्न थालेको डंगोलले बताए । 'हिजोभन्दा आज अलिक बढी भिड छ,' उनले भने,' किलोको ५ सयदेखि माथि तामाका भाडाहरू पाइने गर्छ । ' बढीजसो लोटा बिक्री हुने गरेको डंगोलको अनुभव छ । उपत्यका नजिकका काभ्रेपलाञ्चक, धादिङ, नुवाकोट र सिन्धुपाल्चोकसमेत ग्राहक आउने गरेका छन् ।

तिहारका लागि पूजा तथा आफ्ना दाजुभाईलाई उपहारस्वरुप प्रदान गर्ने सामग्री खरिद गर्नेहरूको पनि उत्तिकै भिड थियो । बालाजुकी कमला खड्का किनमेल गर्नका लागि सधैँ असन आउने गर्छिन् । उनको अनुभव दसैमा जस्तै भिड गर्नेको कमी छैन । वर्षमा एकपटक आउने चाडपर्वमा खुलेर किनमेल गर्ने भएकाले पनि असन इन्द्रचोक र असन बजारमा उनी आउछिन् ।

दाजुभाइ मात्र ४ जना रहेको खड्काले सुनाइन् । बारम्बार यसरी एकै ठाउँमा भेला हुन नसकिने पनि उनले बताइन् । चाडपर्वले माइती र चेलीको भेट जुराउने गरेको उनलाई लागेको छ । 

दाजुभाइका लागि उपहार र पूजा सामग्री खरिद गर्न उनी आएकी छिन् । 'वर्षमा एकपटक आउने चाडपर्वमा खुलेर रमाउन मन छ,' खड्का भन्छिन्,' गत वर्ष कोभिड महामारीले दसै-तिहार मनाउन सकिएको थिएन । आफ्नो घर-परिवारमा सिमित भइएको थियो ।' बाहिरी जिल्लामा रहेका दाजुभाइ पनि टीका थाप्‍न आउने उनको भनाइ छ । 

उनी जस्ता धेरै किनमेलको लागि बाहिर बजारमा समेत निस्कन थिएनन् । यसपालि भने तिहार प्रवेश गर्न केही दिन छदै चोक-चोकमा मानिसहरूको भिड बढेको छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x