जनकपुर बम काण्डका योजनाकार साहलाई ११ वर्ष कैद सजाय
जनकपुरधाम- जनकपुर बम काण्डका योजनाकार रहेको आरोपमा पूर्वराज्यमन्त्री सञ्जय साहलाई उच्च अदालत जनकपुरधामले ११ वर्ष कैदको सजाय सुनाएको छ ।
विक्की दासले दिएको मुद्दामा सोमबार बहस गर्दै न्यायधीश धीरबहादुर चन्द र रमेश ढकालको संयुक्त इजलाशले पूर्वराज्यमन्त्री साहलाई बम काण्डका मुख्य योजनाकार रहेको ठहर गर्दै ज्यान मार्ने मुद्दामा ११ वर्षको कैद सजाय सुनाएको हो ।
यसअघि २०७५ सालमा जिल्ला अदालत धनुषाले साहलाई मुख्य अभियुक्त ठहर गर्दै जन्म कैदको सजाय सुनाएको थियो । तर साहलाई चित्त नबुझेपछि उच्च दालतमा पुरावलोकनका लागि रिट दायर गरेका थिए ।
साह हाल सञ्चार उद्यमी अरूण सिंघानियाको हत्या आरोपमा काठमाडौंको नख्खु कारागारमा छन् । उनी धनुषा क्षेत्र ३ बाट संविधानसभाको दुवै निर्वाचनमा विजयी भएका थिए । पहिलो पटक तत्कालीन मधेसी जनअधिकार फोरमबाट र दोस्रो पटक तत्कालीन सद्भावना पार्टीबाट चुनाव जितेका थिए । उनी संविधान सभा सदस्य रहेकै बेला भारतको दिल्लीबाट पक्राउ परेका थिए । पहिलो संविधान सभामा उनी विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबाट भौतिक पुर्वाधार विकास राज्यमन्त्री बनेका थिए ।
२०६९ वैशाख १८ मा मिथिला राज्यको माग गर्दै रामानन्द चोकमा बसेको धर्नालाई लक्षित गरी बम विस्फोट गरिएको थियो । सो बमकाण्डमा मिथिला नाट्य कला परिषद्का कलाकार रञ्जु झासहित ५ जनाको मृत्यु भएको थियो भने ४० जनाभन्दा बढी व्यक्ति घाइते भएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया