मकवानपुरको कैलाश गाउँपालिका अध्यक्षमाथि भ्रष्टाचार मुद्दा
'कार्यालयका दैनिक कार्यसम्पादन र राजनैतिक समन्वय गर्न असहज'
हेटौंडा - मकवानपुरको कैलाश गाउँपालिका अध्यक्षको जिम्मेवारी उपाध्यक्ष सुकुमाया थिङले सम्हाल्दै आएकी छन् । अध्यक्ष टंक मोक्तानलाई अख्तियार अनुसन्धान दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी आरोप पत्र दायर गरेपछि मोक्तान कार्यालय जान छोडेका छन् ।
असोज १५ गते अख्तियारले अध्यक्ष मोक्तानसहित फिलिङो मिडिया हाउसका रामकुमार रिसाल, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर कुसारी, लेखापाल सुजन श्रेष्ठ, आन्तरिक लेखापरीक्षक त्रिलोक थापा मगर र सामाजिक विकास अधिकृत मोहनप्रसाद पौडेललाई भ्रष्टाचार आरोपमा बिगो रकम माग दाबीसहित मुद्दा दायर गरेको हो ।
गाउँपालिकाका अध्यक्ष मोक्तानलाई २ लाख ६० हजार ९ सय, फिलिङो मिडिया हाउसलाई २ लाख ६० हजार ९ सय र प्रमुख प्रशासकीय अधिकृतलगायत अन्यलाई संयुक्त रूपमा २ लाख ६० हजार ९ सय रूपैयाँ बिगो रकम माग दाबीसहित अख्यितारले मुद्दा दायर गरेको हो ।
आर्थिक वर्ष ०७५/७६ मा युवा क्षमता विकास तालिम र आधारभूत पत्रकारिता तालिम सञ्चालन गर्दा अनियमिता भएको भन्दै अख्तियारले छानबिन गर्दा कार्यक्रम सञ्चालन गरेको खर्चभन्दा २ लाख ६० हजार ९ सय बढी भुक्तानी दिएर लेनदेन भएको खुलेपछि उनीहरूविरुद्ध अख्तियारले मुद्दा हालेको हो ।
सो मितिबाटै अध्यक्ष मोक्तान गाउँपालिकाको कार्यालय गएका छैनन् । मुद्दा दायर भएसँगै स्वतः निलम्बन हुने कानुनी व्यवस्था रहेकाले उनी सोही दिनबाट कार्यालयमा अनुपस्थित भएको प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले इकागजलाई जानकारी दिए ।
अध्यक्ष मोक्तानमाथि भ्रष्टाचार मुद्दा दर्ता भएकाले पदबाट निलम्बित भई बस्न कात्तिक ९ मा अख्तियारले पठाएको पत्र गाउँपालिकामा आइपुगेको छ । गाउँपालिका अध्यक्षविहीन भएपछि कार्यालयका दैनिक कार्यसम्पादन र राजनैतिक समन्वय गर्न असहज भएको प्रमुख प्रशासकीय अधिकृत चौलागाईंले बताए । मुद्दाको किनारा नभएसम्म अध्यक्ष मोक्तानले गाउँपालिकाको काममा चासो नराख्ने बताएका छन् । नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका मोक्तान एमाले विभाजन भएसँगै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया