समाज

तिहार लाग्‍यो

सडकमा फूल बेच्‍ने भेटिए किन्‍ने भेटिएनन्

अतिन आचार्य |
कात्तिक १८, २०७८ बिहीबार ११:४५ बजे

काठमाडौँ- हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार भित्रिएसँगै दीपावलीका लागि आवश्यक पर्ने सामग्री खरिद गर्नेहरूको काठमाडौँको गल्ली-गल्लीमा भिड देखिन थालेको छ । तिहारले काठमाडौँ उपत्यकालाई मात्र छोपेको छैन । देशभर तिहारको रौनक छाएको छ ।

त्यसो त तिहारलाई झिलीमिली बत्ती तथा फूलहरूको चाँडको रुपमा मानिदै आएको छ । यमपञ्‍चकदेखि तिहार सुरु भएर अन्तिम दिन भाइटीका सम्म मानिन्छ ।चेलीबेटीले आफ्ना दाजुभाइलाई माला लगाउन सयपत्री तथा मखमली फूलको माला लगाइदिने गरेका छन् । तिनै फूलको व्यापार यतिखेर बिस्तारै बजारमा बढ्न थालेको छ । 


चोक-चोकमा फूल बिक्री गर्नेदेखि तिहारका लागि सामग्री खरिद गर्नेहरू देखिन थालिसकेका छन् । काठमाडौँका न्यानो सडकमा व्यापारीहरू तिहारका लागि हात-हातमा फूलको माला बिक्री गर्न थालेका छन् । त्यसैगरी ग्राहकहरू पनि फूलको मालाको मूल्य सोध्‍न थालेका छन् । 

उपत्यका आसपासका जिल्लाबाट न्युरोड, सुन्धारालगायतका स्थानमा फूल व्यापारीहरू आएका छन् । उनीहरूले धादिङ, काभ्रेपलाञ्चोक, रामेछाप, नुवाकोट, ललितपुर र भारतमा उत्पादित सयपत्री तथा मखमलीको फूलहरू सडकका किनारामा फूल बिक्रीमा राखेका छन् ।  

सडकमा बसेका व्यापारीहरू यसपटक उत्साहजनक व्यापार नभएको बताउँछन् । काभ्रेका यानप्रसाद गौतम फूललाई काठमाडौँसम्म ल्याएर पनि राम्रोसँग बिक्री हुन नसकेको बताउँछन् । गत वर्ष पहिलो दिनमा ५० हजार रुपैयाँको बिक्री गरेको उनले सुनाए ।

फूल बिक्री नभएकाले गत वर्षभन्दा पनि सस्तो मूल्यमा बिक्री गर्नुपरिरहेको गौतमले बताए । 'एक झुप्‍पाको पाँच सय रुपैयाँमा बिक्री गर्नु परिरहेको छ,' उनले भने,' गत वर्ष एक झुप्पा मालाको एक हजार रुपैयाँमा बिक्री गरिएको थियो ।'

उनका अनुसार गाउँमा चार सय रुपैयाँमा बिक्री हुन्छ । काठमाडौँमा ल्याएको फूलका माला पाँच सय रुपैयाँमा पनि बिक्री हुन गाह्रो भइरहेको छ । गत वर्ष तिहारमा बाटोमा एक झुप्पाको हजारमा बिक्री भएको थियो ।

गौतमले गाउँमा एक रोपनी खेतमा फूल खेती गरेका छन् । तिहारलाई लक्षित गरी उनले फूल खेती गरेका थिए । उनले गाउँबाट गएराति १ बजे फूल ल्याएका थिए । पाँच-छ धोक्रो फूल ल्याएका छन् । फूल  बिक्री गरीसकेर मात्र गाउँतर्फ जाने योजनासहित उनी काठमाडौँ आएका हुन् ।

काभ्रेबाट आएका अर्का व्यापारी केदारनाथ चौलागाईंंले यसपालि सन्तोषजनक व्यापार नभएको बताए । बारीमा लगाएको फूल फुल्न नसकेको उनले गुनासो गरे ।उनको पोहोर साल एक लाख रुपैयाँसम्मको फूल बिक्री भएको थियो ।' यसपटक २० हजारको पनि बिक्री हुन गाह्रो छ,' उनले भने ।

ठूलो थुँगा भएका फूलको झुप्पा मालाको एक हजार रुपैयाँ पर्ने चौलागाईंले बताए । न्युरोडको सडकमा धेरै फूल व्यापारी भएर होला पर्याप्त ग्राहक नआएको उनको भनाइ छ ।

न्युरोड गेटबाट पाँच सय मिटर पर पीपलबोटमा भारतबाट ल्याएको फूलहरू पनि बिक्रीमा राखिएको छ । जगदेव शाह अरुबेला फलफूल बिक्री गर्थे । फूलको सिजन भएकाले भारतबाट ल्याइएको फूल बिक्री गर्न सुरू गरेको उनले बताए ।

'एक हजार रुपैयाँमा खरिद गरी झुप्पाको १३ सय रुपैयाँमा बिक्री गर्न थालेको छु,' शाहले भने,' अरुबेलाको तिहारमा जस्तो फूल खरिद गर्ने मानिसहरू आएका छैनन् ।' पहिलो दिन भएकाले मानिस नआएका हुन सक्ने उनको भनाइ छ ।

नेपालमा तिहारमा खपत हुने अधिकांश सयपत्री, मखमली फूल भारतबाट भित्रिने गरेको छ । नेपालमा तिहारमा मात्रै सयपत्रीका १६ लाख वटा माला बिक्री हुने गरेको फ्लोलिकल्चर एसोसिएसनका अध्यक्ष्य मीनबहादुर तामाङले इकागजसँग भने ।

मुलुकमा उत्पादित फूलको मात्र भरपर्ने हो भने २ लाख ५० हजार माला अपुग देखिन्छ । प्रत्येकवर्ष २ देखि ५ लाख वटासम्म मालाहरू भारतबाट आयात हुने गरेको उनको भनाइ छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x