सञ्चिता मनाउँछिन् उहिल्यैदेखि ‘बहिनीटीका’
सञ्चितालाई मधुरो सम्झना छ । त्यो बेला उनी छ-सात वर्षकी हुँदिहुन् । तिहारमा उनको बुवाका चार दाजु-भाइ र चार दिदीबहिनी भेला हुन्थे । टीकाका लागि फुपूहरूको तयारी लोभलाग्दो हुन्थ्यो । मखमली मालादेखि मसलाको प्याकेटले घर रंगीचंगी बनाउँथ्यो ।
बुवा र काकाहरू लहरै टीका लगाउन बस्थे । फुपूहरू कोही पानी त कोही तेलको धारो चुहाउँदै बुवा र काकाको वरिपरि घुम्थे । बुवा र काकाहरू शिरदेखि पाउसम्म सयपत्री फूलले ढाकिएका हुन्थे । सप्तरंगी टीकामा उनीहरू धपक्कै बल्थे । सञ्चिता र उनका दुई बहिनीहरू समिता र शिवानी यो दृश्य टुलुटुलु हेरेर बस्थे । उनीहरूलाई पनि त्यसरी नै टीका लगाउन खुब रहर लाग्थ्यो । तर ‘भाइटीका’ लगाउन न उनीहरूका भाइ थिए न दाइ । उनीहरूले जीवनका केही वर्ष बुवाको भाइटीका हेरेर मात्र बिताए । कसैलाई टीका लगाइदिएनन् । न त अरुकै हातको थापे ।
सधैँका वर्षझैँ एकवर्ष बुवा र फुपूहरूले धुमधामसँग टीका लगाए । यो पालि भने दिदीबहिनीको मन टुलुटुल हेरेर बस्न मानेन । उनीहरूले टीका लगाएपछि सञ्चिताका तीन दिदीबहिनी पनि एकअर्कालाई टीका लगाउन तम्सिए । परिवारले नाइँनास्ति गरेन । सञ्चिताले दाजु बन्ने निर्णय गरिन् । समिता र शिवानी बहिनी । त्यही साल समिता र शिवानीले फुपूहरूको सिको गर्दै तेल र पानीको धारा चुहाउँदै सञ्चिताको परिक्रमा गरे । दाजुलाईझैँ उनको निधारमा सप्तरंगी टीका लगाइदिए । मखमली माला पहिर्याइदिए । सञ्चिताले पनि बहिनीलाई उसैगरी टीका लगाइदिइन् ।
हरेक वर्ष एउटै दृश्य हेरेर हुर्केका उनीहरूलाई तिहारको टीका कसरी लगाउने कन्ठै थियो । बुवा र फुपूहरूले टीका लगाएको उनीहरू सुरुदेखि अन्तिमसम्म हेरेर बस्थे । बुझ्ने भएपछि धेरैले आफन्तका दाजुभाइसँग टीका लगाउने सल्लाह नदिएका होइनन् । तर, उनीहरूलाई आफन्तको यो सल्लाह जँचेन । नमान्नुको पछाडि आफ्नै कारण थियो । ‘एकवर्ष लगाएर अर्को वर्ष टीका छुट्यो भने नराम्रो हुन्छ, बरु कसैलाई पनि नलगाउने भनेर हामी मानेनौँ,’ सञ्चिताले सुनाइन् ।
सोध्न त चिन्ने नचिन्ने धेरैले सञ्चिता र उनका बहिनीहरूलाई सोध्छन्- दाजुभाइ छैनन् ? प्रश्न भुइँमा खस्न नपाउँदै तीनैजना जवाफ फर्काइहाल्छन्- हाम्रा लागि दाजु पनि हामी नै भाइ पनि हामी नै । यो प्रश्न उनीहरूभन्दा आमाबुवाले झन् झेल्नुपथ्र्यो । तर, त्यस्ता प्रश्न उनीहरूले एक कानले सुनेर अर्को कानले उडाइदिए । छोरीहरू मात्र भए भनेर आमाबुवाले दुःख मनाउ गरेको सञ्चिताले कहिल्यै देखिनन् । सानैदेखि आमाबुवा दुवै जागिर खान हिँडेको देखेर सञ्चिता हुर्किइन् । पारिवारिक वातावरणले नै सञ्चिता र उनका दुई बहिनीहरूलाई दाजुभाइ भएनन् भन्ने कहिल्यै अनुभव भएन । ‘मेरो फुपूहरूलाई पनि बुवा र काकाहरू जसरी नै हुर्काइएको थियो,’ सञ्चिताले भनिन्, ‘फुपूहरू पनि बुवा र काकाहरूजस्तै पढेर जागिर खान जानुहुन्थ्यो ।’
सञ्चिताकी आमाका पनि दाजुभाइ छैनन् । उनीहरू सात दिदीबहिनी हुन् । बिहे अगाडि सञ्चिताको आमाले कहिल्यै तिहारको टीका लगाइनन् । ‘बिहेपछि भने फुपूहरूले बुवालाई टीका लगाइदिँदा ममीलाई पनि टीका लगाइदिन थाल्नुभयो,’ उनले सुनाइन् । मामाहरू नभएकै कारण धेरैले सञ्चिता र उनका बहिनीहरूलाई ‘मामाघर छैन ?’ भनेर सोध्थे जुन प्रश्नबाट उनीहरूले अहिलेसम्म पनि छुटकारा पाएका छैनन् ।
तिहारमा दिदीबहिनी टीका लगाउँदा उनीहरूलाई कतिपयले विकृति ल्याएको ‘वचन’ पनि सुनाएका छन् । तर, उनीहरूलाई त्यसको वास्ता लाग्दैन । तिहारको टीका मात्र होइन, रक्षाबन्धनमा पनि उनीहरू एकअर्कालाई राखी बाँध्छन् । सञ्चितालाई यो संस्कृति विरोधी काम लाग्दैन । यसलाई उनी आत्मसन्तुष्टिसँग जोडेर हेर्छिन् । ‘हामीले संस्कृतिलाई तोड्नभन्दा पनि आफ्नो खुसीको लागि टीका, राखी लगाउने गरेका हौँ,’ उनले भनिन्, ‘तिहारमा अरुको निधारमा टीका देखेर दुःखी हुनुभन्दा आफ्नै दिदीबहिनीसँग टीका लगाउनु ठीक लागेर लगाएका हौँ ।’
फिल्म क्षेत्रमा काम गर्ने भएकाले धेरैजनासँग सञ्चिताको चिनजान हुन्छ । सुटिङको क्रममा पनि उनलाई कसैले दिदी बनाउँछन् त कसैले बहिनी । तर, ती सम्बन्धहरूलाई हत्तपत्त राखी र टीकासम्म पुर्याउन उनलाई मन लाग्दैन । ‘कसैले आफ्नै दिदी, कसैले आफ्नै बहिनी जस्तो लाग्यो भन्नुहुन्छ,’ उनले भनिन्, ‘मलाई ती सम्बन्धहरू मीठा लाग्छन् । तर, आज एउटा ठाउँमा भएको मान्छे भोलि अर्कै ठाउँमा पुगिन्छ । मन दुख्छ भन्ने डरले टीका र राखी चाहिँ लगाइहाल्दिन ।’
सानोबेला जति नै रमाइलो भए पनि ठूलो भएपछि सञ्चिता फिल्म क्षेत्रतिर व्यस्त हुन थालिन् । उनकी माइली बहिनी समिता पढाइको सिलसिलामा फ्रान्स गइन् । समितासँग सञ्चिता र शिवानीले टीका लगाउन नपाएको १० वर्ष भयो । शिवानी र सञ्चिता अघिल्लो वर्षसम्म तिहार उसैगरी मनाउँथे । तर, एकवर्ष पहिले शिवानी पनि अमेरिका गएपछि सञ्चिताको निधार खालि हुन थालेको छ ।
उनीहरूको यो एक्लोपन र खल्लोपनलाई सामाजिक सञ्जालले केही हदसम्म राहत दिएको छ । तिहार होस् वा रक्षाबन्धन भिडियोमा जोडिएर उनीहरू विगतलाई सम्झिन्छन् । आफ्ना दुःख, सुख साट्छन् । ‘बहिनीहरू विदेश गएपछि धेरैले अब कसलाई टीका लगाउने भनेर जिस्काउनु हुन्छ,’ सञ्चिताले भनिन्, ‘बहिनीहरू मात्र होइन, दाजुभाइ भएको भए पनि समय आएपछि टाढिनुपथ्र्यो । यो वर्ष छोराछोरीले टीका लगाएको हेरेर रमाइलो गर्छु ।’
सञ्चिताले हरेक कदममा समिता र शिवानीको साथ पाइन् । उनी आफैँ पनि बहिनीहरूको जीवनमा सधैँ छायाँ बनेर उभिइन् । यी तीनबीच दुःख, सुख सबै सेयर हुन्छ । भौतिक रुपले टाढा भए पनि एक अर्काको निकै नजिक पाउँछन् उनीहरू । ‘कामले बाहिर निस्किनुपर्दा ब्यागप्याक गर्नेदेखि सबै काममा बहिनीहरूले सहयोग गरिदिन्थे,’ उनले भनिन्, ‘अहिले ती कुरा सम्झिँदा उनीहरूको निकै याद आउँछ ।’
तीन दिदीबहिनी तिहार सुरु हुनेबित्तिकै घरमा झिलिमिली बत्ति हाल्थे । पालामा तेल भरेर बत्ती बाल्थे । रंगोली बनाउँथे । आफन्त र छरछिमेककोमा देउसीभैली खेल्न पनि जान्थे । तिहार भन्नेबित्तिकै पटाका सम्झिन्छिन् सञ्चिता । सानैदेखि महसुर हुँदै पटाका पड्काउन तम्सिन्थिन् उनी । ‘बहिनीहरू पटाकासँग असाध्यै डराउँथे,’ उनले सम्झिइन्, ‘ म चैँ नडराउने । झिरझिरे चाहिँ बालेर बहिनीहरूलाई पास गर्थेँ । झिरझिरसम्म चैं खेलाउँथे ।’
समिता विदेशिएपछि उनीहरूको तिहार केही खल्लो भयो । तर शिवानी पनि विदेशिएपछि त सञ्चिताको तिहार नै सकियो भने पनि हुन्छ । ‘अहिले त तिहार मलाई मात्र होइन ममीबाबालाई पनि नरमाइलो लाग्छ,’ उनले भनिन्, ‘ बहिनीहरूविनाको तिहार साँच्चै नै अँध्यारो हुन्छ । त्यसै पनि चाडपर्वमा परिवारसँगै नहुँदा खल्लो भइहाल्छ । अझ मेरो त झिरझिरे र पटाका नै उनीहरू हुन् । उनीहरूविना के मज्जा ?’ यो तिहार यस्तै भए पनि अर्को सालको तिहार एकै ठाउँमा मनाउने उनीहरूको योजना छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया