समाज

आज मादल बजेको किन ? गाउँ घर दुनियाँ ब्युँझाउन...

अतिन आचार्य |
कात्तिक १९, २०७८ शुक्रबार १४:० बजे

'आज मादल बजेको किन ?
गाउँ घर दुनियाँ ब्युँझाउन...'

जनकवि केशरी धर्मराज थापाको यो गीतले भनेझैँ यसपालीको तिहारमा गाउँ घर दुनियाँ ब्युँझाउने मादल बज्‍नेछ । गएरातिदेखि देशैभर देउसीभैलोसँग मादलको धुन बज्‍न सुरु गरिसकेको छ । पोहोर कोभिड-१९ को महामारीमा सुस्ताएका मानिसहरू यसपाली भने जागेका छन् ।


हिन्दू धर्मावलम्बीको घरमा दसैँ पछाडिको दोस्रो चाड तिहार आज गोबर्द्धन पुजा हो । अर्कोतर्फ तिहारलाई विशेषगरी बत्ती र संगीतको चाड मानिन्छ । तिहारमा प्रत्येकको घर बत्ती बाली आँगनमा मादलको धुनसहित देउसी-भैलो खेल्नेको भीड देखिन थालेको छ ।

घर आँगनमा देउसीसहित मादलको धुन बजिसकेको छ । गत वर्षभन्दा यसपटक मादल पसलमा ग्राहकको भीड बढेको थियो । कोभिड-१९ को महामारीले पोहोर साल धेरै मानिस बाहिर निस्केका थिएनन् । सरकारले देउसी भैलीजस्ता सांगीतिक कार्यक्रम नगर्न पनि निर्देशन दिएको थियो ।

पोहोर पसलमा झुण्डिएको मादल यस वर्ष ग्राहकको घाटी र हातमा झुण्डिएका छन् । काठमाडौँ उपत्यकालगायत बाहिरी गाउँमा देउसी भैलो खेल्न सुरु भइसकेको छ । देउसी भैलोमा यसपटक मादलको धुन सुनिएको छ । सबैलाई रमाइलो आनन्दित बनाएको र सांगीतिक माहोल बनाएको छ । गत वर्षभन्दा यसपटक मादल खरिद गर्ने ग्राहकको संख्या बढेको मादल व्यापारीहरू बताउँछन् ।

लैनचौरस्थित नेपाल म्युजिक ग्यालरीका कमल सुवेदी मादल किन्‍नेको संख्या बढेको बताउँछन् । गत वर्षको तिहारमा भने पसलमा मादलजस्ता लोक संगीतका सामग्री खरीद गर्ने ग्राहकको कमी थियो । यसपटक भने दसैँदेखि मादल किन्‍न ग्राहकहरू आएको उनले बताए । मानिसको चहलपहल बढेको हुनाले र गत वर्ष तिहारमा देउसी खेल्न नपाएकाहरूले खरिद गरेको उनले सुनाए ।

ग्राहकले खरी भएको मादललाई सबैभन्दा राम्रो मान्‍ने गर्छन् । उनको पसलमा १५ सयदेखि १४ हजार रुपैयाँ मूल्य बराबरको मादल पाइन्छ । नेपाली लोक धुन र परम्परागत बाजा भएकोले मादल तथा सारंगीको बढी बिक्री हुने गरेको उनको भनाइ छ । नेपाली ग्राहकले मादल, सारंगी अन्य नेपाली लोक बाजाभन्दा गितार बढी खोज्ने गरेको उनको अनुभव छ। 'गितारलाई २५ सय भन्दा सहजै तिर्छन् तर, मादललाई २५ सय रुपैयाँ तिर्न गाह्रो मान्ने गर्छन्‌,' उनी सुनाउँछन् ।

नेपाली ग्राहकले भन्दा बढी विदेशी पर्यटकले नेपाली लोक बाजाको महत्त्व बढी बुझेको उनको बुझाइ छ ।

काठमाडौँका पसलमा राखिने अधिकांश मादलहरू उपत्यका बाहिरका जिल्लाबाट ल्याउने गरिन्छ । धादिङ, गोर्खा र नुवाकोटका मादल उपत्यकाका विभिन्न म्युजिक ग्यालरीमा भेटिन्छ । मादल बनाउन गरिएको मेहनत र व्यक्तिको हात अनुसार मजबुत हुनेमा व्यापारीहरू विश्वास गर्छन् ।

ठमेलका ओम तारा म्युजिकल ग्यालरीका दिग्गज कुमालले यसपटक मादल किन्‍ने ग्राहक पर्खेनन् । गतवर्ष जस्तो ग्राहक शून्य नभएको उनले बताए । पोहोर महामारीमा मानिसहरू सीमित रमाएका थिए । 'मादल किन्‍ने  ग्राहक आए, दसैँ पनि सहजै मनाएकाले होला तिहारमा मादल किन्‍ने ग्राहकको संख्या बढयो,' उनी सुनाउँछन् ।

तिहारको समयमा उत्साहजनक व्यापार भएको कुमालले बताए । उनकाअनुसार ग्राहकले खोजेको जस्तो मादल लिएर गएका छन् । मादलमा बनाइएको बुट्टा अनुसार मूल्यमा फरक पर्छ । पसलमा १५ सय देखि २५ हजार रुपैयाँसम्मका मादल छन् । उनका नियमित ग्राहक इटाली, जापान र भारतका छन् । उनको पुरानो पसल भएकोले नेपाली र विदेशी ग्राहकहरू आउने गरेका छन् ।

नेपालीहरूको मौलिक बाजा मादल भएकाले सबैले जगेर्ना गर्नुपर्ने मादल वाद्यवादक खड्गबहादुर बुढा मगर बताउँछन् । यसपटक मानिसको जमघट बढी भएकोले आफ्नो परम्परागत बाजा बजाइ रमाइलो गर्न उनले आग्रह गरे । सांस्कृतिक कार्यक्रमममा मादलको  प्रयोग नगरेकोमा उनी सुनिए ।

'नेपाली समुदायमा मादलले छुट्टै पहिचान बोकेर बसेको छ,'उनले भने 'सानो वा ठूलो भीडमा यसले मानिसलाई छिटो मनोरञ्‍जन प्रदान गर्छ । नेपालीका विभिन्‍न समुदायका आ-आफ्नै मौलिक बाजा रहेको छ।'

नेपाली लोक भाकाका सामग्रीहरूलाई प्रोत्साहन गर्न विद्यालय स्तरको शिक्षामा समावेश गर्नलाई उनले सुझाव दिए । काठमाडौँमा कुलु समुदायले मादल बनाउने गर्छन् । कुलु समुदायले मादल बनाउनुअघि उपत्यका आसपासका जिल्लाबाट मादल ल्याएर बिक्री गरिन्थ्यो । सानु कुलुलाई पोहोर तिहारमा फुर्सद थियो । यसपटक मादलको माग बढी भएर उनलाई बनाएर भ्याइनभ्याइ रहयो ।

संगीतका सामग्री बिक्री गर्नेले धेरै मादलको माग गरेका छन् । कुलुलाई मादल किन्‍न आउने ग्राहकको फोन पोहोर सालभन्दा बढी आएको छ । काठमाडौँमा भूकम्प पछाडि मादलको बिक्री र माग ह्वात्तै घटेकोमा उनले चिन्ता प्रकट गरे । 'मादल हराउनु भनेको आफ्नो मौलिक बाजागाजा हराउनु हो,' उनी भन्छन् । उपत्यका आसपासका जिल्लाका मानिसहरू अहिले पनि किन्‍न आइरहेका छन् । काभ्रे, सिन्धुपाल्चोक र नुवाकोटका मानिसहरू आउँछन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x