समाज

तराईका जिल्लाभर सोमबारदेखि छठ उत्सव सुरु

इकागज |
कात्तिक २२, २०७८ सोमबार १५:३१ बजे

काठमाडौँ – सोमबारदेखि तराईका जिल्लाहरूमा छठ उत्सव धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व सोमबारदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सा, झापासहित उत्तर भारतको विहार राज्यको सीतामढी, मधुवनी, दरभंगा, मुज्जफरपुरलगायतका क्षेत्रमा धुमधामका साथ सुरु भएको हो ।   

छठ पर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबास, झापाको कनकाइ माईलगायत क्षेत्रका पोखरी, तलाउ तथा जिल्लाको प्रसिद्ध नदी बिग्ही, रातो मरहा, जंगहा, अंकुसी नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक मनाइँदै छ ।  


सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गर्ने चलन रहेको जलेश्वर नगरपालिका– ८ का पंडित कालिकान्त झाले बताए  । 

पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ । 

चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन सोमबार व्रतीले नहा खा अर्थात् नुहाएर खाने गर्दछन् अर्थात् जीउ चोख्याउने काम गर्नेछन् । त्यस्तै पर्वको दोस्रो दिन मंगलबार (भोलि) खर्ना मनाइनेछ । खर्नाका दिन व्रतीले दिनभरि उपवास बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गर्नेछन् र राति अरवा अरबाइन (नून नहालेको) खानेकुरा खाने चलन छ ।

त्यस्तै यस पर्वको मुख्य दिन षष्ठीका दिन अर्थात् बुधबार साँझ गहुँ र चामल ओखल, जातो वा ढिँकीमा कुटानपिसान गरी सोबाट निस्केको पिठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मूला, गाँजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नांलो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती र ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशयनजिक बनाएको छठ घाटसम्म पुग्नेछन् । षष्ठीका दिन व्रतीले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ अर्पण गर्नेछन् । 


Author

थप समाचार
x