समाज

प्रधानन्यायाधीशविरुद्ध आन्दोलनमा साथ दिन नेपाल बारको आग्रह

इकागज |
कात्तिक २३, २०७८ मंगलबार १४:२६ बजे

काठमाडौँ – नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलनमा साथ दिन सेवाग्राहीहरूलाई आग्रह गरेको छ । एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलनमा साथ दिन सेवाग्राहीहरूलाई अनुरोध गरेका हुन् ।

मंगलबार सर्वोच्च अदालतको प्रांगणमा एक घण्टे धर्ना कार्यक्रमपछि आयोजित कोणसभामा बोल्दै उनले प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलनलाई सशक्त बनाउन बिहीबारदेखि काठमाडौं उपत्यकाभित्रका सबै अदालतहरूमा २ घण्टा इजलास नबस्ने घोषणा गरे ।


उनले बिहान १० बजेदेखि १२ बजेसम्म काठमाडौं उपत्यकाभित्रका उच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, न्यायाधिकरणमा इजलास नबस्ने निर्णय गरिएको जानकारी दिए ।  अध्यक्ष श्रेष्ठले बारले आह्वान गरेअनुसार सो इजलासमा नबस्न न्यायाधीश र अदालतका कर्मचारीहरूलाई पनि आग्रह गरेका छन् । उनले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आफूहरूको आन्दोलन जारी रहने चेतावनी दिए । ‘प्रधानन्यायाधीश जबराले आफूखुसी पेशी तोक्ने काम गरेका छन् । न न्यायाधीशको विश्वास जित्न सकेका छन्, न बारको विश्वास लिन सकेका छन् । प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म हाम्रो आन्दोलन जारी रहनेछ ।’ उनले भने । 

कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रधानन्यायाधीशविरुद्धको आन्दोलनलाई प्रभावकारी बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ गठबन्धनविरुद्ध पनि आन्दोलन गर्न नेपाल बारलाई सुझाव दिए । प्रधानमन्त्री देउवा र सत्तारुढ गठबन्धनले अहिलेको प्रधानन्यायाधीशलाई भागबण्डा दिएकाले उनीहरूविरुद्धको आन्दोलनलाई पनि बारले अघि बढाउनुपर्ने उनको तर्क छ ।


Author

थप समाचार
x