समाज

व्यापकता पाउँदैछ छठ पर्वले

अतिन आचार्य |
कात्तिक २४, २०७८ बुधबार १७:४७ बजे

सबै तस्बिरः अतिन आचार्य

काठमाडौँ- छठ पर्व अब तराई क्षेत्रमा मात्र सीमित रहेन ।  अहिले भने सहरी क्षेत्रमा र पहाडतर्फ पनि छठले व्यापकता पाउँदै गएकाे छ । पहिले याे पर्व तराईमा मात्र मनाइन्थ्याे भने छठी माताकाे व्रतबारे जानकारी महिमाबारे बुझाइ बढ्दै गएपछि यसकाे स्वीकार्यता र अपनत्व बढेकाे छ । पछिल्लो समय काठमाडौँ उपत्यका लगायत सहरका पहाडी समुदायका मानिसले धुमधामसँग मनाउन थालेका छन् ।

आजको दिन विशेषगरी खोला र पोखरीका किनारामा अस्ताउदो सूर्यलाई अर्घ्य दिएर छठको व्रत सुरु हुन्छ भने भाेलिपल्ट विहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत सम्पन्न हुन्छ । काठमाडौँमा बागमती, थापाथली कमलपोखरी लगायत नदी किनारमा  उपत्यकाभर विभिन्‍न नदीमा छठ मनाइन्छ । तर, काठमाडौँमा बस्दै आएका पहाडे समुदायका महिलाहरूले समेत मनाउन थालेका छन् ।


चावहिल चुच्चेपाटीकी जानुका ढकालले प्रत्येक वर्ष छठ माताको नाममा भाग चढाउँदै आइरहेकी बताइन् । गुह्येश्‍वरीस्थित बागमती किनारामा भेटीएकी ढकालले तराईमा मनाइरहेको चाड काठमाडौँमा पनि देखिन थालेपछि मनाउन थालेकी हुन् ।

'निश्चित समुदायको मात्र चाडपर्व हुदैन, सबैले मनाउन सकेमा सबैको हुन्छ,' उनी भन्छिन,' १० वर्षदेखि निरन्तर छठ मनाउन थालेको छु । भागमा नरिवल, बत्ती र केरा अन्य पुजाको सामग्री लिएर आएकी छु ।'

मैजुबहालबाट आएकी अर्की नरमाया श्रेष्‍ठले पूजा गरेको तीन वर्ष भयो । यसपटक पनि सदाझै बागमती किनारामा आएकी छिन् । सुरुमा तराईतिरका मानिसहरूले मात्र मनाउने गरेका थिए ।

नरमाया रहर लागेर छठ पर्व मनाउन थालेकी बताउँछिन् । उनी भने रातभर व्रत बस्‍ने तयारीमा छिन् । व्रत वर्ष बस्‍नका लागि नयाँ सारी किनेर राखेकी उनले सुनाइन् ।

बाँसको डाला, फलफूल र अन्या पूजा सामग्री साथमा राखेर उनी बागमती किनारामा बसेकी छिन् । बाहिरी जिल्लाका अन्य समुदायका मानिसहरू बस्दा सहिष्‍णुताको भावना जागृत पैदा हुने उनलाई विश्वास जागेको छ । 

आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन व्रतालुले पानीमा उभिएर दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर मनाउँछन् । खेतवारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ्य दिई पूजापाठ गर्छन् ।

अस्ताउँदो सूर्यलाई अर्घ्य दिन बिहानैदेखि पकवानहरू खोला र नदी सजाइन्छ  । सन्तान प्राप्ति , निरोगिता , सुख , समृद्धि र चर्मरोग निको हुने जनविश्‍वास अनुरूप पारस्परिक आत्मीयता र सद्भावका प्रतीक छठ पर्व मनाइन्छ ।

अर्घ्य दिने व्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x