सुवास नेम्वाङद्वारा फाल्गुनन्दको सालिक अनावरण
इलाम – राष्ट्रिय विभूति फाल्गुन्दको १३७ औं जन्मजयन्तीको अवसरमा इलाममा सालिक अनावरण गरिएको छ । इलाम नगरपालिका–९ सुकिलुम्बामा स्थापना गरिएको सालिक इलामबाट विजयी सांसद तथा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले अनावरण गरेका हुन् ।
सो अवसरमा नेम्वाङले महागुरू फाल्गुनन्दले समाजको उत्थान र परिवर्तनको लागि अतुलनीयय योगदान पुर्याएको बताए । ‘शान्ति स्थापना र मानवअधिकार स्थापनामा उहाँको ठूलो योगदान छ,’ नेम्वाङले भने । नेम्वाङले राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्तीलाई राष्ट्रिय पर्वकै रूपमा मनाउनु पर्नेमा जोड दिए । ‘फाल्गुनन्दको जन्मजयन्ती प्रदेशमा मात्रै होइन राष्ट्रिय पर्वकै रूपमा मुलुकभर मनाउनुपर्छ,’ नेम्वाङले बताए ।
नेम्वाङले सालिकसहित सुकिलुम्बा एयरपोर्टमा निर्माण गरिएको प्रवेशद्वार तथा पार्कको उद्घाटन गरेका छन् । सालिक, प्रवेशद्वार र पार्क १३ लाख ३७ हजार तीन सय २७ रूपैयाँ लागतमा निर्माण गरिएको इलाम नगरपालिकाका इन्जिनियर दीपक गुरागाईंले जानकारी दिए ।
इलाम माङसेबुङ गाउँपालिका–२ साविक इभाङ–५, चुक्चीनाम्बा गाउँमा जन्मिएका फाल्गुन्दलाई समाज सुधारक तथा किरात धर्मगुरुको रूपमा लिइन्छ । २५ कात्तिक १९४२ मा जन्मिएका फाल्गुनन्दको २२ चैत २००५ मा ६३ वर्षको उमेरमा पाँचथरको सिलौटीमा निधन भएको थियो । किरात दर्शन, भाषा संस्कृति लिपिको उत्थान, किरात समुदायको विकास र यो समुदायभित्रको कुरित, कुसंस्कृतिलाई हटाउन फाल्गुनन्दले अगुवाइ गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया