समाज

मोरङ कारागारभित्र कैदीको शंकास्पद मृत्यु

बाबुराम भण्डारी |
कात्तिक २५, २०७८ बिहीबार १८:४७ बजे

विराटनगर – जिल्ला कारागार मोरङभित्र बुधबार राती एक कैदीको शंकास्पद मृत्यु भएको छ । ६ वर्षदेखि कारागारमा कैद भुक्तान गरिरहेका मोरङको रतुवामाई नगरपालिका–१० (साविक इटहरा–८) का ४३ वर्षीय नारायण थापाको मृत्यु भएको निमित्त जेलर राम पोखरेलले जानकारी दिए ।

पेट दुखेपछि उपचारका लागि बिहीबार बिहान कोसी अस्पताल लगिएकोमा उनको मृत्यु भएको जनाइएको छ । उनी जबरजस्ती करणी मुद्दामा १० वर्षका लागि जेल परेका थिए । मृतक थापाको शव कोसी अस्पतालमै राखिएको जेलर पोखरेलले बताए । घटनापछि मृतकका आफन्तलाई बोलाइएको उनले बताए । थापा यसअघि जेलभित्र बिरामी भएको रेकर्ड नभएको जनाइएको छ । थापाको अचानक मृत्यु भएपछि घटनालाई रहस्यमय रूपमा लिइएको छ । मोरङ कारागारभित्र केही दिनअघि मात्रै कैदीबन्दीहरूको दुई समुहबीच झडप भएको थियो ।


कात्रिक  मण्डल समुहको नेतृत्वमा चौकीदार किरण गुरुङसहित नाइके र भाइनाइकेहरूलाई नियन्त्रणमा लिएर कुटपिट भएपछि झडप भएको थियो । झडपमा थापा संलग्नताबारे खुलेको छैन । आफन्तहरूले भने बिहीबार राति १ बजेतिर नारायणको मृत्यु भएको खबर आएको जानकारी दिएका छन् । मृतकका भाइ हरि थापाले घटना थाहा पाएपछि आफुहरू अहिले विराटनगर जाँदै गरेको जानकारी दिए ।
 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x