रूपातालको आकार बढाउन परियोजना सुरु
पोखरा – पोखराको रूपातालको आकार बढाउन परियोजना सुरु भएको छ । फिल्डमै कार्यालय खोलेर काम थालिएको हो । रूपा अहिले कास्कीको तेस्रो ठूलो ताल हो । यद्यपि, यसको चर्चा खासै हुँदैन ।
नजिकै भएको बेगनास तालमा पर्यटकको भीड लाग्छ । बेगनास पुगेका कतिपय पर्यटकलाई नजिकै रहेको रूपातालबारे ज्ञान छैन । सरकारले रूपाताललाई आय आर्जनसँग जोड्ने गरी परियोजना अघि बढाएको हो । आउँदो पाँच वर्षमा अहिले भइरहेको तालभन्दा पौने दुई गुणा आकार बढ्छ भने पानी पनि साढे तीन गुणा थपिन्छ । त्यसका लागि छ मिटर अग्लो र ६ सय मिटर लामो बाँध बनाइनेछ । ‘बाँध बेगनासतालको जस्तै हो । त्यहाँ बाँध मात्र बन्यो, यता अरू फिचर पनि हुन्छ’, आयोजना प्रमुख तुलसी भट्टराईले भने, ‘पुलहरू बन्छन् । फुट ट्र्याकलगायत धेरै छन्, जसले पर्यटकलाई भुलाउन मद्धत पुग्छ ।’
आयोजना निर्माणका लागि अधिकांश टेण्डर भइसकेको छ । ‘ड्यामको ठेक्का बन्दोबस्त भइसक्यो । एक्सेस रोडको ठेक्का लाग्दै छ । फुट ट्र्याक र साइकल ट्र्याकको काम पनि सुरु हुन्छ,’ उनले भने, ‘भौतिक प्रगति ३० प्रतिशत कटिसक्यो । तोकिएकै म्यादमा तोकिएका सबै काम सकिन्छ भन्ने विश्वास छ ।’
आर्थिक वर्ष ०८२/०८३ भित्र काम सक्ने गरी आयोजना सुरु गरिएको हो । ‘पूर्ण रूपमा चार अर्बको आयोजना हो । सवा अर्ब मुआब्जामा मात्र खर्च हुन्छ,’ भट्टराई भन्छन्, ‘बहुउद्देश्यीय आयोजना भएकाले केही कामहरू बढ्न सक्छन् । सरकारले चाह्यो भने नयाँ फिचरहरू थप्न सक्छ ।’
मुख्यतः तालको क्षेत्रफल बढाउने उद्देश्यले नै यो आयोजना सुरु गरिएको हो । आयोजनाका लागि झण्डै एक हजार रोपनी जग्गा अधिग्रहणका लागि सूचना निकालिएको छ । ०७४ सालमा अधिग्रहणका लागि एक हजार ४ सय ७२ रोपनी जग्गा रोक्का राख्ने सूचना जारी गरेको थियो । त्यसमध्ये ९ सय ९५ रोपनी नौ आना जग्गाको मुआब्जा वितरण गर्ने निर्णय भएको छ । हालसम्म ७६ करोड ७९ लाख ७१ हजार रूपैयाँ मुआब्जा वितरण गरिसकेको आयोजनाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया