समाज

रामजानकी विवाहपञ्चमी महोत्सवको तयारी सुरु

माछा-मासु र मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइने

इकागज |
कात्तिक २६, २०७८ शुक्रबार २०:३५ बजे

जनकपुरधाम – जनकपुरधाममा रामजानकी विवाहपञ्चमी महोत्सवको तयारी सुरु गरिएको छ । प्रत्येक वर्ष जनकपुरधाममा सप्ताहव्यापी रूपमा मनाइने धार्मिक तथा ऐतिहासिक विवाहपञ्चमी महोत्सव भव्य बनाउन जानकी मन्दिरले तयारी थालेको हो ।

विवाहपञ्चमीलाई भव्य बनाउन मन्दिरले  मूल समारोह समितिका साथै विभिन्न उपसमिति गठन गरिने जानकी मन्दिरमा महन्त रामतपेशर दासले बताए । शुक्रबार पत्रकार सम्मेलन गरी मन्दिरले विवाहपञ्चमीको तयारीको विषयमा जानकारी दिएको हो । विगतका वर्षमा विवाहपञ्चमीमा सहभागी नेपाल तथा भारतका विशिष्ट व्यक्तिहरूको सहभागिता हुने गरेको भए पनि मन्दिरले अहिलेसम्म त्यसको विषय जानकारी गराएका छैन । ‘अहिलेसम्म अतिथिहरू यकिन गर्न सकिएको छैन, यकिन भएपछि यहाँहरूलाई जानकारी गराउँछौं,’  महन्त दासले भने । 


विवाहपञ्चमीको तयारीस्वरूप अहिले मन्दिर परिसरमा पण्डाल निर्माण, सौन्दर्यकरण, सरसफाइका काम सुरु गरिसकेको छ । यसैबीच, विवाहपञ्चमीको अवसरमा प्रत्येक वर्षजस्तै यस वर्ष पनि केही दिनका लागि माछा–मासु र मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइने स्थानीय प्रशासनले जनाएको छ ।
 


Author

थप समाचार
x