बैतडीमा बाढीको वितण्डा
बाढीले पक्की पुल बगाएपछि काठे पुलबाट ओहोर-दोहोर
बैतडी - यसै महिना परेको बेमौसमी वर्षाका कारण नदीमा आएको बाढीले पक्की पुल बगाएपछि काठे पुल प्रयोग गर्न स्थानीयबासी बाध्य भएका छन् । न्वाघरी गाड नदीमा रहेको पक्की पुल बाढीले बगाएपछि स्थानीयबासी काठे पुल प्रयोग गर्न बाध्य भएका हुन् ।
बाढीले पक्की पुल बगाएपछि सिगास गाउँपालिका- ६ र ७ का बासिन्दाले नदीमा दुई वटा काठेपुल निर्माण गरेका छन् । नदीबाट आवतजावत गर्नका लागि तत्काल अन्य व्यवस्था नभएकाले काठेपुल निर्माण गरिएको सिगास गाउँपालिका ६ का स्थानीय डम्मर साउदले बताए । विद्यार्थीको विद्यालय जाने बाटोको पुल बगाएपछि स्थानीयले काठेपुल निर्माण गरेको उनले बताए ।
‘कात्तिक पहिलो साता परेको अविरल वर्षाले पक्की पुल बगाएपछि आवतजावतमा निकै समस्या हुन थाल्यो । बालबालिकाहरूलाई विद्यालयमा जान समेत समस्या भएपछि पुल निर्माण गरेका हौं,’ उनले भने ।
नदीमा आएको बाढीले दुई ठाउँको पक्की पुल बगाएपछि स्थानीयबासीले दुवै ठाउँमा काठेपुल निर्माण गरेका स्थानीयसमेत रहेका शिक्षक पदम साउदले जानकारी दिए । ‘वडा नम्बर ७ का विद्यार्थीको गणेश माविमा आउने बाटोमा पर्ने पुल बगाएपछि स्थानीयहरूले मिलेर काठेपुल निर्माण गरेका छन् । अहिले सोही पुलबाट आवतजावत भइरहेको छ,’ उनले भने । गणेश माविमा अध्ययनरत बालबालिका र पढाउने शिक्षकहरूलाई न्वाघरी नदीमा पुल नहुँदा विद्यालय पुग्न मुस्किल भएपछि पुल निर्माण गरिएको सिगास गाउँपालिकाका-७ का शंकरदत्त अवस्थीले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया