समाज

जनकपुरमा हिन्दू-मुस्लिम समुदायबीच झडप, प्रहरीसहित छ जना घाइते

आइतबार राति १० बजेसम्म निषेधाज्ञा जारी

सुभाष कर्ण |
कात्तिक २७, २०७८ शनिबार १७:५३ बजे

जनकपुरधाम - प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा हिन्दू र मुस्लमान समुदायबीच साम्प्रदायिक झडप भएकाे छ । बिहीबार जनकपुरधाम उपमहानगरपालिका २० रुपैठामा छठ पर्वमा मनाउन हिन्दू धर्मावलम्बीहरूलाई मुस्लिम समुदायले अवरोध गरेपछि उत्पन्न विवाद अहिले दंगाको रूपमा परिणत भएको हो ।

दुवै पक्षको विवादले उग्र लिई दंगामा परिणत भएपछि स्थानीय प्रशासनले सयौंको संख्यामा प्रहरी परिचालन गरिएको छ । घटनामा चारजना सशस्त्र, एक नेपाल प्रहरी र एक महिला गरी ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक वसन्त रजौरेले इकागजलाई जानकारी दिए । तनावपूर्ण अवस्थालाई साम्य पार्न प्रहरीले दर्जनौं राउन्ड आश्रुग्यास प्रहार गरिसकेको छ । दुवै पक्ष एक अर्काको घेराबन्दीमा रहेको कारण कुनै पनि समय ठूलो दुर्घटना हुनसक्ने सम्भावना देखेर व्यापक संख्यामा प्रहरी परिचालन र निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी वन्धुप्रसाद वास्तोलाले बताए । 


तनावपुर्ण अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले शनिबार २ बजेदेखि आइतबार राति १० बजेसम्मका लागि सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । रुपैठा प्रवेश गर्ने चारै नाका पुर्वमा जलाद नदीको कलरी बाँध, पश्चिममा जनकपुर जटही मार्ग दोबादो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचोकदेखि बहुअर्वा जाने बाटोसम्म प्रवेश निषेध गरिएको छ । 

यही २४ गते षष्ठी संझुका अर्घका दिन स्थानीय तेलिया पोखरीमा हिन्दू समुदायले छठ मनाउन घाट बनाउन लाग्दा मुस्लिम समुदायका व्यक्तिहरूले अवरोध गरेपछि विवाद उत्पन्न भएको थियो । सो दिन दुई पक्षीय झडपमा परी चारजना घाइते भएका थिए । सो विवाद सल्टिन नपाउँदै शनिबार हिन्दूवादी संगठनले जनकपुरधामबाट रुपैठासम्म विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनपश्चात पुनः दुवै समुदायबीच विवाद हुँदै उग्ररूप लिई साम्प्रादयिक दंगामा परिणत भएको हो ।

अहिले रुपैठामा हिन्दू र मुस्लिम समुदायबीच झडप जारी छ भने प्रहरीले जनकपुरधाम जटही सडकखण्ड पुर्णरूपमा  बन्द गरेको छ । स्थानीय ओमप्रकाश पण्डितले मुस्लिम समुदायका व्यक्तिहरू आफूहरूको घर– घरमा घुसेर कुटपिट गरिरहेको बताए । मुस्लिमबाहुल्य क्षेत्र भएका कारण कुनै पनि समय अप्रिय घटना हुनसक्ने उनको भनाइ छ । यसैबीच जिल्ला प्रशासन कार्यालयले सुरक्षाका लागि व्यापक संख्यामा प्रहरी परिचालन गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेकाे आदेश :


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x