समाज

जोरबिजोर र लकडाउनमा पनि बढ्‍यो गाडी दुर्घटनाको पारो

सृजना खड्का |
पुस ८, २०७७ बुधबार ७:४५ बजे

काठमाडौँ : थानकोटबाट कलंकीतिर आउँदै गरेको मालवाहक ट्रक मंसिर २६ गते दुर्घटनामा पर्‍यो । ब्रेक फेल भएर भएको दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भयो । दुईजनाको उपचारको क्रममा मृत्यु भयो । पाँच जना घाइते भए । काठमाडौँ महानगरपालिका-१६ स्थित ढुंगेअड्डामा प्रदेश-२-०३-००१ ख १४२० नम्बरको ट्रक दुर्घटनामा परेको थियो ।

ट्रकले विभिन्‍न ६ सवारीसाधनलाई समेत क्षति पुर्‍याएको थियो । ट्रकको ठक्करबाट ट्याक्सी, पीकअप भ्यान, बस, मोटरसाइकल र स्कुटरमा क्षति पुगेको प्रहरीले जनाएको थियो । घटनास्थलमा क्रेन लगेर दुर्घटना भएको ट्रक तानिएको थियो । ट्रक तान्दा त्यहाँ भित्र मृतक भेटिएका थिए ।  
०००
मंसिर ९ गते बैतडीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भयो । भारतबाट पेन्सन बुझेर फर्किएका भारतीय भूपू सैनिक परिवार चढेको जिप दुर्घटनामा परेको थियो । जिपमा नौँ जना थिए । जसमध्ये चारजना घाइते भएका थिए । भारतीय सीमावर्ती क्षेत्र झुलाघाटबाट गोठलापानीतर्फ जाँदै गरेको गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका १० पुट्कामा दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो ।


सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार दुर्घटनामा पावर्ती चन्द (७५), पावर्ती चन्द (७०‍), भागिरथ पाण्डेय (७७), कृष्ण लावड (५८), र कलावती चन्द (७५) को घटना स्थलमै मृत्यु भएको थियो ।
त्यस्तै, कार्तिक २७ गते पनि बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार बसमा करिब ४३ जना यात्रु सवार थिए । ३५ जना घाइते भएका थिए । बस सडकबाट करिब सय मिटर तल खसेको थियो ।
०००
                        
मंसिर १५ गते अछाममा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भयो । १७ जना घाइते भए । धनगढी आउँदै गरेको ना ४ ख ९९७२ नम्बरको बस अछाम चौरपाटी गाउँपालिका-७ मार्कुमा दुर्घटना भएको थियो । दुर्घटनामा १७ वर्षीय निरज कुँवरको मृत्यु भएको थियो । यान्त्रिक खराबी हुँदा बस दुर्घटना भएको अनुमान प्रहरीले गरेको थियो । बस साँपे-चौखुट्टे सडक खण्डबाट ६० मिटर तल खसेको थियो ।

पाँच महिनामा नौ सय ४० को मृत्यु
साउनदेखि मंसिरसम्म पाँच महिनाको अवधिमा ७ हजार ८ सय ५३ सडक दुर्घटना भएको छ । जसमा ९ सय ४० जनाले ज्यान गुमाएका छन् । २ हजार ७ सय ९ जना गम्भिर घाइते भएका छन् भने ६ हजार ८ सय ६२ जना सामान्य घाइते भएका छन् ।

पाँच महिनामा लगभग एक हजार जनाले गुमाए ज्यान

त्यस्तै, काठमाडौँ उपत्यकामा पाँच महिनामा ३ हजार ७ सय ४७ सडक दुर्घटना भएको छ । जसमा ६९ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा संलग्न सवारी साधनको संख्या ६ हजार ६ सय १८ रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकले देखाएको छ । मंसिर महिनामा मात्रै उपत्यकामा ३ हजार ७ सय ४७ सवारी दुर्घटनामा परेका छन् । जसकारण १९ जनाले ज्यान गुमाएका छन् ।

सवारी सर्भिसिङ भएन कि !
दुर्घटना निरीक्षक केपी शर्मा कोभिडका कारण कम सवारी चल्दा पनि लगभग हजार जनाले ज्यान गुमाउनु दुखद् भएको बताउँछन् । ‘कोभिडले गाडीहरू खासै गुड्न नपाएको बेलामा पनि दुर्घटना बढ्नु दुखलाग्दो कुरा हो,’ उनी भन्छन्, ‘यसले हाम्रो सडकप्रतिको चेतना र सडकको संरचनालाई झल्काउँछ ।’

कोभिडका कारण लामो समयसम्म सवारीसाधन थन्किनु, सवारीका पाटपुर्जाहरू बिग्रिसकेको हुनु र, तिनै सवारीलाई मर्मत वा सर्भिसिङ नगरी सडकमा निकालिनुलाई उनी सवारी दर्घटनाको प्रमुख कारण ठान्छन् । दोस्रो कारण भने उनलाई पुराना कर्मचारीहरू ड्राइभिङ पेशाबाट विस्तापित हुनुलाई मान्छन् । ‘पुराना कर्मचारी विस्तापित हुँदा नयाँ कर्मचारीले काम गर्न थाले,’ उनी भन्छन्, ‘कम अनुभवी ड्राइभरहरू पेसामा आउने संभावना बढ्यो ।

अब कसरी कम गर्ने ?

केही समयअघि कलंकीमा भएको दुर्घटना त्यसकै उदाहरण हो । गाडी रोक्न खोज्दा रोक्न नसकेर छ÷सातवटा गाडी र मोटरसाइकललाई हानेको थियो । उसको ठाउँमा अनुभवी ड्राइभर भएको भए त्यहाँ तीनजनाले ज्यान गुमाउनुपर्ने थिएन ।’ तेस्रो कारण उनी बिग्रिएका सडक मर्मत नहुनुलाई मान्छन् । ‘उपत्यका बाहिर सडकको अवस्था गम्भिर छ,’ उनी भन्छन्, ‘बिग्रिएका सडकहरू राम्रोसँग बनेका छैनन् । यसले पनि दिनहुँ दुर्घटना निम्त्याइ रहेको छ ।

सडक राम्रो हुँदैमा सवारी दुर्घटना कम हुँदैन
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवम् एसपी श्यामकृष्ण ज्ञवालीले ट्राफिक नपुग्ने दुरदराजतिर दुर्घटनाका घटना भएपनि उपत्यकामा खासै यस्ता घटना नभएको बताउँछन् । ‘सामान्य खालका दुर्घटना भएपनि ठूला दुर्घटना भएका छैन,’ उनी भन्छन्, ‘राति मापसे गरेर ठोक्किनेहरू हुन्छन् । ट्राफिक नपुग्ने ठाउँमा जोडले हाकेर दुर्घटनामा पर्नेहरू पनि छन् । अहिले हामीले ट्राफिक नियम उल्लङ्घन गर्ने करिब तीन हजारको सवारीसाधनलाई दैनिक कारबाही गरिरहका छौँ ।’

कोभिडका कारण उपत्यकाका गाडीमा लागू गरिएको जोर बिजोर प्रणाली हटाइयो । जोड बिजोर फुक्का गरिसकेपछि भने केही चुनौति थपिएको एसपी ज्ञवालीले बताए । ‘अहिले भने उपत्यकाका सडकमा थप चुनौति थपिएको छ,’ उनी भन्छन्, ‘तर, हामीसँग भएका १४ सय ट्राफिक प्रहरीलाई सडकमा खटाइसकेका छौँ ।'

यातायातविज्ञ आशिष गजुरेलले सडकमा सवारी कम गुड्दा पनि दुर्घटना हुनुको कारण तिब्र गतिलाई मान्छन् । ‘सवारी कम गुड्दा खाली सडक देखेर ड्राइभरहरूले झनै तिब्र गतिमा सवारी चलाउँछन्,’ उनी भन्छन्, ‘९० प्रतिशत दुर्घटना ‘ओभर स्पिड’को कारणले हुन्छ । सवारी तिब्र कुद्ने बित्तिकै दुर्घटना उसै बढ्छ ।’

सडक राम्रो हुँदैमा दुर्घटना कम नहुने यातायातविज्ञ गजुरेल बताउँछन् । ‘सुरक्षाको मापदण्डअनुसार सडक बनेको छ कि छैन त्यो पनि महत्‍वपूर्ण हुन्छ,’ उनी भन्छन् । सवारी दुर्घटना कम गर्र्न कुनै पक्ष मात्रै नभएर पुरै सिस्टम परिवतन र सुधार गर्नुपर्ने उनी बताउँछन् ।  भन्छन् - ‘सडकका पूर्वाधारलाई सुरक्षित बनाउनुपर्छ । सबैले सडकको नियम पालना गर्नुपर्छ ।’

कोभिडले गर्दा लामो समय सवारीसाधन ठप्प भएसँगै कमाइ पनि ठप्प भएकाले कमाउने हतारोका कारण पनि दुर्घटना भएको हुन सक्ने सडक निरीक्षक शर्मा बताउँछन् । ‘यतिबेला उनीहरूलाई गन्तव्यमा पुग्न र फर्किन हतारो छ,’ उनी भन्छन्, ‘जति टिप गर्न सक्यो उती पैसा कमाइन्छ भन्‍ने छ । कोभिडको प्रकोप यथावत भएकाले उनीहरू प्रेसरमा काम गरिरहेको हुन सक्छन् ।’

कोभिडको डर हुँदाहुँदै पनि आर्थिक परिस्थितीले गर्दा काम गर्नु परेकाले पनि दुर्घटना भएको उनी बताउँछन् । ‘गाडीमा जो पनि चडिरहेका हुन्छन्,’ उनी भन्छन्, ‘संक्रमित हो होइन भनेर नाप्ने संयन्त्र छैन । साहुले गाडी स्यानिटाइज नगरेको महिनौँ भइसक्यो । यस्ता कुराले पनि उनीहरू तनाबमा हुन्छन् । र, तनाबले दुर्घटना बढाउँछ ।’ यस्तो अवस्थामा यातातात व्यवसायीले उठाएका मागलाई संवोधन गरिनुपर्ने उनी बताउँछन् । ‘उनीहरूलाई पहिलाकै लयमा फर्काउनुपर्छ,’ उनी भन्छन्, ‘उनीहरूले उठाएका ऋण, किस्ता र सुरक्षा मापदण्डका विषय संवोधन गरिनुपर्छ ।’ 
 


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x