ठेकेदारको लापरबाहीले सुन्दरी खोलाको पुल अलपत्र
उदयपुर – उदयपुरको चौदण्डीगढी नगरपालिका– ४ सुन्दरी खोलामा निर्माणाधीन मोटेरेबल पक्की पुल अलपत्र परेको छ । चौदण्डीगढी नगरपालिका वडा– ४ बसाहा चिचाइ टोल र वडा– ५ ढेलाचौरी बीचमा रहेको सुन्दरी खोलाको पुल निर्माणमा ठेकेदारले चासो नदिँदा अलपत्र परेको हो ।
चौडाइ साढे ११ मिटर लम्बाइ ६२ मिटर बनाउने डिजाइनसहित काम सुरु गरे पनि राम जानकी निर्माण सेवा कम्पनीले एक वर्षमा सक्नुपर्ने योजना तीन वर्ष बितिसक्दासमेत काम हुन सकेको छैन ।
निर्माण कम्पनीका ठेकेदार निर्माणधीन पुलमा दुईवटा पिल्लर उठाएर बेपत्ता भएपछि एक वर्षमा सकिनुपर्ने काम नसकिएको हो । तीन वर्ष बितिसक्दा पनि निर्माण कार्य सम्पन्न नहुँदा स्थानीयबासीले वर्षायाममा बाढीको समयमा वारिपारि आउजाउ गर्न सास्ती खेप्नुपरेको स्थानीय रमेश बिष्टले बताए । ठेकेदार शम्भु ठाकुरले केही दिनमा पुनः निर्माणको काम सुरु हुने बताए । ‘आगामी जेठ मसान्तभित्रमा सक्नुपर्ने दबाब छ मलाई, त्यसैले चाँडै काम सुरु हुनेछ,’ उनले भने । सो पुल ११ करोड रूपैयाँमा ठेक्का लगाइएको हो ।
यस्तै बसाहा शनिबारेस्थित कालीखोलाको पुलमा स्ल्याब हाली सकिएकोले त्यहाँको पनि काम चाँडै सक्ने ठेकेदार ठाकुरले बताए । दुवै पुल एउटै निर्माण कम्पनीले ठेक्का लिएको हो । ‘काम छाडेको छैन । त्यही कामका लागि इक्विपमेन्टहरू पठाउने काम भइरहेको छ । छिट्टै काम थाल्नेछौं,’ निर्माण कम्पनीका इञ्जिनियर सुरेन्द्र सिंहले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया