समाज

विश्‍व शौचालय दिवस

छिर्नै नसकिने सहरका सार्वजनिक शौचालय

अतिन आचार्य |
मंसिर ३, २०७८ शुक्रबार ७:३१ बजे

काठमाडौँ- रत्‍नपार्कको सार्वजनिक शौचालयदेखि पाँच सय किलोमिटर दक्षिणमा काठमाडौँ महानगरपालिकाको कार्यालय छ । शौचालयको दुर्गन्ध महानगरसम्म पुग्दैन । बाटोमा हिड्ने पैदलयात्री र शौच गर्नेलाई दुर्गन्धले वाक्‍कै बनाउँछ । केन्द्र सरकारका मन्त्री तथा र महानगरका पदाधिकारी त्यही बाटो ओहोरदोहोर गर्छन् तर, उनीहरूले दुर्गन्धको महसुस गर्दैनन् । पैदलयात्री र असन, महाबौद्धमा घरायसी सामग्री खरिद गर्न आउनेले भने दुर्गन्ध प्रवाह नगरी सार्वजनिक शौचालयको प्रयोग गर्छन् ।

'शौचालयभित्र बसुन्जेल श्‍वास फेर्न गाह्रो भयो । कतिखेर बाहिर निस्कनु जस्तो भएको थियो । शौच गर्नुभन्दा नगर्नु बेस,' रत्‍नपार्कको सार्वजनिक शौचालय अगाडि भेटिएका मनमोहन अधिकारीले इकागजसँग भने। रत्‍नपार्क आउँदा शौचालय सफा नभए पनि उनले बारम्बार प्रयोग गरिरहन्छन् । शौचालय प्रयोग गर्नू रहर थिएन उनलाई  बाध्यता थियो ।


केन्द्रिय राजधानीको मुख्य सहरको मुटु रत्‍नपार्कलगायत अन्य स्थानमा सार्वजनिक शौचालय नहुँदा सेवाग्राहीले सास्ती भोग्‍ने गरेका छन् । अधिकारीसँग रत्‍नपार्क बाहेक अन्य स्थानमा जाँदाआउँदा जरुरी परेको समयमा शौचालय प्रयोग गर्न नपाएको अनुभव छ ।

'पिसाब फेरेको १० रुपैयाँ तिर्दा सफासुग्घर शौचालय प्रयोग गर्न पाइँदैन,' उनले भने,' पर्याप्‍त पानी पनि छैन । अध्यारो ठाउँ छ । कमसेकम बिजुलीको व्यवस्थासमेत गर्नुपर्थ्यो तर, छैन ।'

विश्‍व स्वास्थ्य संगठनका अनुसार बढी भीडभाड हुने ठाउँमा तीन सय मिटरको दूरीमा सार्वजनिक शौचालय हुनुपर्छ । काठमाडौँ उपत्यकाको मुख्य मुख्य चोकमा शौचालय नहुँदा पैदलयात्रीले विभिन्‍न व्यापारीको मलको शौचालय प्रयोग गर्ने गरेका छन् ।

अधिकारीले उपत्यकाको विभिन्‍न स्थानमा यात्रा गर्दा शौचालय नभेट्‌दा सास्ती भोगेको अनुभव बताए । शौचालयको खोजीमा लामो समयसम्म बिताएको समेत सुनाए । सरकारले शौचालय निर्माणमा ध्यान नदिँदा जनताप्रति गैरजिम्मेवार बनेको उनले आरोप लगाए । मुख्‍य-मुख्य चोकमा शौचालय निर्माण गर्न उनी सुझाव दिन्छन् । 

मुख्य चोकमा छैनन् व्यवस्थित शौचालय

अहिले पनि कोटेश्‍वर, चाबहिल, कलंकी, महाराजगञ्‍ज, माईतीघरलगायतका स्थानमा शौचालय छैनन् । त्रिपुरेश्‍वर, बानेश्‍वर, गौशाला, स्वयम्भूलगायतका स्थानमा भने शौचालय छन् ।

चाबहिलबाट महाबौद्धमा पसलका लागि सामग्री खरिदका गर्न आएकी शान्ता लामाको अनुभव भने अधिकारीको भन्दा फरक रहेको छ । महिलाको शौचालयमा पानी र बति नभएको उनले बताइन् ।

सातामा एकपटक होलसेलमा पसलको सामग्री खरिद गर्न लामा आउँछिन् । सामान किन्‍ने ठाउँमा शौचालय नहुँदा रत्‍नपार्कको  शौचालय प्रयोग गर्ने गरेको उनले सुनाइन् । शौचालय सफा नहुँदा दुर्गन्धले २ मिनेट पनि उनी शौचालयमा बस्‍न सकिनन् ।

शौचालय प्रयोग गरेबापत शुल्क तिर्नु परे पनि लामाले राम्रो वातावरणको शौचालय नपाउनुमा सरकार जिम्मेवार रहेको बताइन् । उपत्‍यकाको जुनसुकै चोकमा गए पनि सहजै शौचालयको प्रयोग गर्न नपाइएको उनले प्रस्ट पारिन् । 'सहरमा सबैथोकको सुविधा भए पनि शौचालयको कहर छ,' उनले भनिन् ।

उपत्यकाको मुख्य-मुख्य नगरपालिकामा कुल २५० सार्वजनिक शौचालय छन् । काठमाडौँ महानगरपालिकामा विभिन्‍न सार्वजनिक स्थान तथा संघ संस्थासहित १५०, ललितपुर महानगरपालिकामा ५५, किर्तिपुरमा २३ र मध्यपुर थिमी भक्तपुरमा २२ वटा शौचालय छन् । अस्पताल, मन्दिर, पार्क, सरकारी कार्यालय, व्यवसायीक भवन र पेट्रोल पम्पमा सार्वजनिक शौचालय उपलब्ध छन् ।

ऐतिहासिक स्थल, मठ-मन्दिरमा भएका शौचालयलाई पेट्रोल पम्पमा भएका शौचालयलाई सेवाग्राहीले सहजै प्रयोग गर्न पाएका छैनन् । सार्वजिनक स्थानमा निर्माण भएका शौचालय प्रयोगविहिन र कतिपय स्थानमा निर्माणाधिन छन् । केही भने सञ्‍चालन हुने क्रममा छन् ।

'शौचालय ठेक्‍का विधि हटाऔँ'

सार्वजनिक शौचालयमा भरपर्दो नीति, सञ्‍चालन गर्न कार्यविधि नबन्दा शौचालय राम्रो र स्तरीय बन्‍न नसकिरहेको गुथिका प्राविधिक सल्लाहकार तथा सार्वजनिक शौचालय सुधारकर्ता प्रकाश अमात्य बताउँछन् । देशको राजधानीमा विदेशी पर्यटकले शौचालयको प्रयोग गर्न खोज्दा सफा र व्यवस्थित नपाउँदा देशको बारेमा राम्रो सन्देश नजाने उनले बताए ।

बहालमुखी नीति तथा टेन्डर प्रक्रियाबाट शौचालय दिने प्रक्रिया हटाउनुपर्ने अमात्यको भनाइ छ । जनतासँग सेवामा प्रत्यक्ष जोडिएका विषयहरूमा सरकारले आफैँ सञ्‍चालन गर्नुपर्ने उनले बताए । ' प्रयोग भइरहेका शौचालयलाई व्यवस्थित ढंगले सञ्‍चालन गर्नुपर्छ,' उनले भने,' प्रयोग गर्दा शुल्क लिने वा नलिने त्यसको सम्पूर्ण व्यवस्था कार्यविधिमा हुनुपर्छ ।'

शौचालय अपाङ्गमैत्री हुनुपर्ने अमात्यको माग छ । उपत्यकामा भएका शौचालय फरक अवस्थाका मानिसले प्रयोग गर्न नसक्‍ने प्रकृतिका छन् ।  महिला र पुरुषले प्रयोग गर्ने  समान संख्यामा हुनुपर्ने उनले धारणा राखे । शौचालयमा काम गर्नेहरूको निश्‍चित पारिश्रमिक तोक्नुपर्ने र श्रमिकले मन लगाएर सर-सफाई गर्ने उनको भनाइ छ ।

वीर अस्पताल अगाडिको पुलमुनी निर्माण भएका शौचालयलाई व्यवसायीक प्रयोजनका लागि प्रयोग गर्न नहुने अमात्यको तर्क छ । सहरको मध्यभागमा शौचालय बनाएर कमाउने धन्दाबाहेक अन्य काम हुन नसकेको उनले सुनाए ।

जनसंख्याका आधारमा शौचालय कम

जनसंख्याका अनुपातमा सार्वजनिक शौचालयको संख्या एकदमै कम रहेको काठमाडौँ महानगरका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्‍नेत बताउँछन् । भएका शौचालयलाई व्यवस्थित तरिकाले सञ्‍चालन हुन नसकेको उनको भनाइ छ ।

'शौचालय स्तरीय छैनन्, पुराना भवनको पुननिर्माण भइरहेको छ,' बस्‍नेतले इकागजसँग भने,' ठेक्कामा लगाए पनि अनुगमन हुन नसक्दा सफा र व्यवस्थित तरिकाले सञ्‍चालन नगरेको पाइएको छ । सञ्‍चालन गर्न पाएकाले कतिपय स्थानमा व्यापार गरेका छन् ।'

शौचालय सञ्‍चालन कार्यविधि तयार भए पनि बोर्डबाट पास हुन नसकेको बस्‍नेतले जानकारी दिए । कार्यविधि कार्यान्वयनमा नहुँदा समस्या भएको उनले प्रस्ट पारे । महानगरको विभिन्‍न वडामा १६ शौचालय सञ्चालनमा छन् । केही वडाले आफै शौचालय सञ्‍चालनमा ल्याइसकेका र आठ वटा शौचालय स्थानमा निर्माणाधिन अवस्थामा छन् ।

दुई करोडमा शौचालय ठेक्का

रत्‍नपार्क र विद्युत प्राधिकरण अगाडिको शौचालय सञ्‍चालन गर्दै आएका ठेकेदार ऋषि गडतौलाले महानगरले कार्यविधि बनाएर सञ्‍चालन गर्न अनुमति दिएमा पुनः शौचालय प्रयोग गर्ने बताए । पाँच वर्षका लागि शौचालय सञ्‍चालन गरेका उनको ठेक्का अवधि गत साउनमा समय सकिएको थियो ।

गडतौलाले दुवै स्थानको शौचालय २ करोड बढीमा ठेक्का लिएको जानकारी दिए । सम्झौता सकिएपछि अहिले सफाइ कर्मचारीले शुल्क उठाउँदै आएका छ्न् । ठेक्का अवधिमा बायोग्यास निकाल्ने र टयांकीसमेत निर्माण भएको थियो । सम्झौता सकिएको दिन महानगरले टयांकी भत्काइदिएको उनले बताए ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x