मदिराको लतमा महिलाको हत्या
तनहुँ - तनहुँको व्यास नगरपालिका-६ सिसाघाटमा बेवारिसे अवस्थामा बस्दै आएकी एक वृद्धाको हत्या भएको छ । गोरखा पालुङटार नगरपालिका-७ सतिघाट घर भई सिसाघाटमा बस्दै आएकी ६५ वर्षीया मनेना कुमालको हत्यामा संलग्न रहेको अभियोगमा व्यास-६ एक्लेगाउँका १९ वर्षीय महेन्द्र कुमाल पक्राउ परेका छन् ।
कात्तिक ३० गते राति ११ः३० बजे प्रतिवादीले ती वृद्धालाई ढुंगाले हानेर हत्या गरेको प्रहरी नायव उपरीक्षक (एसपी) युवराज तिमिल्सिनाले जानकारी दिए । चौतारा नजिक सार्वजनिक ठाटीमा बसोबास गर्दै आएकी वृद्धालाई प्रतिवादीले मादक पदार्थ सेवन गरी ढुंगाले टाउकामा हानी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको तिमिल्सिनाले बताए । प्रहरीका अनुसार घटनाका बारेमा प्रहरीलाई मंसिर १ गते खबर आएको र अनुसन्धानको करिब २० घण्टामा प्रतिवादीलाई पक्राउ गरिएको छ ।
‘टाउकामा ढुंगाले हानेर कर्तव्य गरी प्रतिवादी राति नै घर गएको अनुसन्धानबाट खुलेको छ, उनले दुई गिलास मादक पदार्थ सेवन गरेको देखिएको छ,’ तिमिल्सिनाले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’ घटनाको अनुसन्धानका लागि प्रहरीले पोखराबाट तालिमप्राप्त कुकुरसमेत ल्याएको थियो ।
कात्तिक ३० गते कामको सिलसिलामा छिमेकी यामबहादुर तामाङको घरमा दिनभर परालको दाइँ हाल्ने काम गरी राति ८ः३० बजेतिर खाना खाएर दुरा सेवा समाजको भवनमा नाचगान कार्यक्रम भएकाले सोही स्थानतर्फ जाँदै गर्दा बाटोमा विक्रम दुरालाई भेटी निजको मोटरसाइकलमा चढी सँगै गएको र विक्रमले चिया खाएको तर निज महेन्द्रले दुई गिलास घरेलु मदिरा खाएको अनुसन्धानबाट खुलेको छ ।
‘महेन्द्रले उच्शृङ्खल व्यवहार गरेपछि विक्रमले घरमा फर्किने कुरा गर्दा निजले जान नमानेको तर पछि विक्रमको मोटरसाइकलमा चढी सँगै घर फर्किएका रहेछन्,’ तिमिल्सिनाले भने, ‘घरनजिक पुग्ने समयमा निज प्रतिवादीले आफू हिँडेर घर जाने कुरा गरेकाले विक्रमले निजलाई मोटरसाइकलबाट उतारिदिएका थिए ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया