समाज

रामप्रसाद दुलाल स्मृति पत्रकारिता पुरस्कार इलामका भट्टराईलाई

इकागज |
मंसिर ४, २०७८ शनिबार १८:३६ बजे

इलाम - ‘रामप्रसाद दुलाल स्मृति पत्रकारिता पुरस्कार २०७८’ इलामका पत्रकार विजयशेखर भट्टराईलाई प्रदान गरिएको छ । दुलाल परिवारसँगको सहकार्यमा नेपाल प्रेस युनियन इलाम शाखाले पुरस्कार प्रदान गरेकाे हाे ।

शनिबार इलाममा एक समारोह आयोजना गरेर भट्टराईलाई २० हजार रूपैयाँ राशिको पुरस्कार प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले प्रदान गरे । करिब तीन दशकदेखि पत्रकारितामा क्रियाशील भट्टराई हाल नेपाल टेलिभिजनको संवाददाताको रूपमा कार्यरत छन् । यस अघि उनी सन्दकपुर दैनिक, नेपालबाणी एफएम, राष्ट्रिय समाचार समितिलगायतका सञ्चार माध्यममा कार्यरत थिए । 


इलाम जिल्लामा प्रजातान्त्रिक विचारधारा स्थापित गराउन क्रियाशील रहेर दुलाल समाजसेवामा समेत कहलिएका व्यक्ति हुन् । समाजसेवामा अग्रसर रहेका दुलाललाई ‘जिल्ला बा’को उपनामले समेत चिनिने गरेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् ।

समाज विकासमा दुलालले पुर्‍याएको योगदानलाई जीवन्त राख्नको लागि पत्रकारिता पुरस्कार स्थापना गरिएको प्रेस युनियनका केन्द्रीय सदस्य तथा उनका नाति माधव प्रसाद चम्लागाईंले बताए । प्रजातान्त्रिक योद्धा तथा समाजसेवी स्वर्गीय रामप्रसाद दुलालको स्मृतिमा पुरस्कार स्थापना गरिएको हाे ।


Author

थप समाचार
x