समाज

राहदानी लिन पाँच दिनसम्‍म लाइनमा

विभाग भन्छ- दैनिक एक सय ई-पासपोर्ट वितरण गरिरहेका छौँ

अतिन आचार्य |
मंसिर ६, २०७८ सोमबार ११:१४ बजे

काठमाडौँ- काठमाडौँ उपत्यकामा चिसो बढ्दै गएको छ । बिहानै काममा निस्कनेहरू बाक्लो ज्याकेट र टोपी लाएर निस्‍किन्‍छन् । केशरमहलको राहदानी विभागमा भने सेवाग्राहीको भीडले सबेरै ताप बढ्‍छ । सेवाग्राहीहरू एका बिहानै विभागमा लाइन बस्‍न आइपुग्‍छन् ।

कतिपय बिहानै पुग्दा पनि लाइन बस्‍न पाउँदैनन् । विभागले भीडभाड नहोस् भनेर कुपन बाँड्छ । कुपन पाएकाहरू मात्रै लाइनमा बस्‍न पाउँछन् । नपाएकाहरू विभागको फलामे गेट हेरेर बस्‍छन् । न कुपन पाउँछन् न लाइनमा बस्‍न ।


यो विभागमा नियमित देखिने दृष्‍य भइसक्‍यो । सोमबार बिहान विभाग पुग्दा पनि दृष्‍य उही थियो । '१२ गते सम्मका लागि कुपन वितरण गरिसकिएको छ,'गेटमा बसेका एक प्रहरी भित्रबाट चिच्‍याउँदै थिए, ' कुपन भएकाहरू मात्र लाइनमा उभिनुहोस । धेरै भीड नगर्नुहोस् ।'

घडीमा ६ बजेर २० मिनेट गएको थियो । परिसरमा सेवाग्राहीहरू कागजको कपमा तातो चिया पिउँदै ढिलासुस्तीप्रति आक्रोष पोखिरहेका थिए । सेवाग्राहीसँगै उभिएका सुरक्षाकर्मीले  दैनिक ६-७ सय मानिसलाई प्रवेश दिने गरेको बताए ।  बिहान २-३ बजेदेखि सेवाग्राहीहरू लाइनमा लाग्‍ने गरेको उनले सुनाए । 'हाम्रो काम लाइन र भीडभाडको व्यवस्थापन गर्ने काम हो,' उनले भने।

सोलुखुम्बुका रामबहादुर क्षेत्री बिहानै ३ बजेदेखि लाइनमा थिए । तीन दिनअघि उनले कुपन लिएका रहेछन् । सोमबार १२ बजेसम्म पासपोर्ट हात पार्ने आशा उनको थियो । कतार जाने उनको तयारी रहेछ ।

राज्यसँग उनको गुनासो छ,' व्यवस्था राम्रो गरिदियोस् । पासपोर्ट प्राप्‍त गर्न बिहानदेखि लाइनमा बस्ने बाध्यता हटोस्।'

सजना महर्जनले बिहीबार कुपन लिइन् । बिहान ४ बजेदेखि लाइनमा छिन् । आज पासपोर्ट पाइने समय भएकोले सबेरै आइन् । १२ कक्षा पास गरेकी उनी उच्च शिक्षाका लागि विदेश जाने योजनामा छिन् ।

'यो देशमा पासपोर्ट बनाउन पाँच दिन लाग्छ भने अन्य कुराको के आशा राख्‍नु,' उनले आफ्नो आक्रोश पोखिन् । ई-पासपोर्टको बारेमा सुनेको तर सहजता नभएकाले एमआरपीका लागि आवेदन दिएको बताउँछिन् ।

दैनिक तीन हजार सेवाग्राही आउँछन्

दैनिक तीन हजार सेवाग्राहीहरू आउने गरेको विभागका निर्देशक शरदराज अरनले बताए । सबैको आवेदन लिन नसकिने उनको भनाइ छ । विभागले दैनिक १५ सय सेवाग्राहीको मात्र पासपोर्टको आवेदन लिने गरेको उनले जानकारी दिए ।  'सबैभन्दा बढी भीड आइतबार हुने गरेको छ,' उनले भने ।

'सेवाग्राहीलाई मिति तोकेर बोलाउन सकिदैन,' उनले भने,' कुपन वितरण गरिसकेर मिति तोक्ने गरेका छौ । इमर्जेन्सी परेकालाई बिना कुपन पनि सेवा उपलब्ध गरिरहेका छौ ।'

विभागले जिल्लालाई सेवाग्राहीको आवेदन पठाउनलाई आग्रह गरिरहेको छ । जतिसक्दो चाँडो आएमा सबैलाई चाँडो पासपोर्ट बनाएर विभाग पठाउने तयारीमा लागिरहेको उनले प्रस्‍ट पारे ।

पछिल्लो समय कोरिया जाने कामदारहरू जरुरी पासपोर्ट भन्दै बनाउन आइरहेको उनले बताए । 'टिकट र भिसा हेरेर पनि एकदिनमा पासपोर्ट बनाएर दिएका छौ,' उनले भने ।

विभागले ई-पासपोर्ट त्रिपुरेश्‍वर कार्यालयबाट वितरण गरिरहेको छ । परीक्षणका लागि एक सय ई-पासपोर्ट वितरण भइरहेको छ । १५ दिनसम्म परीक्षण अवधि मानेर वितरण गरिएको उनले जानकारी दिए।

'मङ्सिर अन्तिमसम्म एमआरपी पासपोर्ट वितरण गरिन्छ,' उनले भने,' सबै तयारी पुरा भएपछि ई-पासपोर्ट सबैलाई उपलब्ध गर्नेगरी काम भइरहेको छ ।' सुरुमा विभागबाट वितरण भए पनि बिस्तारै जिल्लाबाट सेवा उपलब्ध गराइन्छ ।

पहिलो चरणमा ललितपुर जिल्लाबाट ई-पासपोर्ट वितरण सुरुवात गर्ने भएको हो । क्रमसँगै काठमाडौँ र भक्तपुरबाट जिल्लाबासीलाई सेवा उपलब्ध गराउने निर्देशक अरनले जानकारी दिए ।

ई-पासपोर्ट बनाउन सेवाग्राहीसँग पुरानो मूल्य लिने उनले जानकारी दिए । दुई दिनमा १२ हजार र जिल्लाबाट आवेदन दिएमा पाँच हजार रुपैयाँ पाउन सकिन्छ । सेवाग्राहीले ई-पासपोर्टका लागि आवेदन दिएको दुई दिनमा प्राप्‍त गर्न सक्‍ने उनको ठहर छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x