समाज

दुर्व्यवहार गरेको भन्दै जनप्रतिनिधिद्वारा नगर प्रमुख कार्यकक्षमा तालाबन्दी

इकागज |
मंसिर ६, २०७८ सोमबार १४:५३ बजे

जनकपुरधाम - जनकपुरधाम उपमहानगरपालिका नगरप्रमुख लालकिशोर साहको कार्यकक्षमा जनप्रतिनिधिहरूले साेमबार तालाबन्दी गरेका छन् । सफाइ कर्मचारीले वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंह र सो वडाका सदस्य मण्डललाई दुव्र्यवहार गरेको भन्दै जनप्रतिनिधिहरूले नगरप्रमुख साहको विरोध प्रदर्शन गर्दै उनको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

वडाभित्र मरेको छाडा चौपायालाई व्यवस्थापन गर्न भन्न गएका वडाध्यक्ष सिंह र सदस्य मण्डललाई सफाइ कर्मचारी इन्चार्ज उपेन्द्र साह र श्याम ठाकुरले गाली गलौज गरेको कारण नगर प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको बताएका छन् ।


‘आफ्नो वडा स्थित सञ्चय कोषको कार्यालयनजिक गाई मरेको थियो । गाई मरेको कारण सो क्षेत्र दुर्गन्धित भइरहेको कारण ती गाईको व्यवस्थापन गरिदिन भन्न जाँदा डियूटी समयमा मदिरा खाएर लट्ठ परेका सफाइ कर्मचारी इन्चार्ज उपेन्द्र साहले गाली गलौज गरेर दुव्र्यवहार गरे,’ वडाध्यक्ष सिंहले भने ।  

फोहोर व्यवस्थापनका लागि पछिल्लो पटक सहमति गरे पनि हालसम्म नगरेको र अहिले मरेको गाई व्यवस्थापन गर्न आग्रह गर्दा नगरप्रमुख साहको इशारामा गाली गलौज गरेको विरोध प्रदर्शनमा सहभागी वडा नम्बर ६ का अध्यक्ष जानकीराम साहले बताए ।

उनले नगरको सरसफाइमा असक्षम र भ्रष्टाचारमा लिप्त रहेका नगरप्रमुखले दोषी कर्मचारीलाई कारबाही नगरेसम्म हाम्रो विरोध प्रदर्शन जारी रहने चेतावनी दिए ।

नगरप्रमुख साहको विरोधमा उत्रेका जनप्रतिनिधिहरूले नौतिकताको आधारमा नगरप्रमुखले राजीनामा दे, नगर सरसफाईको व्यवस्थापन तत्काल गर, जनप्रतिनिधिलाई दुव्र्यवहार गर्ने कर्मचारीले राजीनामा दे लगायतका नाराबाजीसमेत गरेका छन् । 

विरोध प्रदर्शन र नगरप्रमुखको कार्यकक्षमा तालाबन्दी सहितका कार्यक्रममा जनकपुरधाम उपमहानगर वडा नम्बर १ का वडाध्यक्ष शत्रूधन साह, वडा नम्बर ३ वडाध्यक्ष दीपेन्द्र साह, वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंह, वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साह लगायतका वडाध्यक्ष र सदस्यहरूको सहभागिता थियो ।

नगरको सरसफाई नगरिएको भन्दै तीन साताअघि तिहारको पूर्वसन्ध्यामा जनप्रतिनिधिहरूले नगरप्रमुख साहको निवास र उपमहानगरपालिका कार्यालय फोहोर राखेर विरोध प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनपश्चात स्थानीय प्रशासनको रोहबरमा उपमहानगरपालिकाका निमित प्रमुख मेहीलाल यादवले तीन दिनभित्र नगरको फोहोर व्यवस्थापन हुने प्रतिबद्धता जनाएका थिए । तर आजसम्म फोहोर व्यवस्थापन हुन नसकेको गुनासो जनप्रतिनिधिहरूको रहेको छ । 


Author

थप समाचार
x