सूचनाको हकसम्बन्धी कानून निर्माणमा प्रतिबद्ध छौं : मन्त्री थापा
पोखरा - गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले सूचनाको हकसम्बन्धी कानून निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । सञ्चारिका समूह गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित सूचनाको हकसम्बन्धी दुईदिने प्रदेश भेलामा उनले सरकारले कानूनको मस्यौदा तयार पार्दै गरेको जानकारी दिए ।
सूचना लुकाउने प्रवृत्ति चिर्न तालिम महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्दै मन्त्री थापाले नागरिकको सूचनाको हक पाउने संवैधानिक अधिकार हनन गर्नु अपराध भएको बताए । कार्यक्रममा राष्ट्रिय सूचना आयोगका पूर्वआयुक्त तथा प्रशिक्षक यशोदा तिमिल्सिनाले शासनमा बस्दा सूचना नदिने र शासनबाट बाहिर हुनेबित्तिकै हरेक नागरिकले सूचना पाउनुपर्छ भन्दै हिँड्ने प्रवृति राजनीतिक दलहरूमा मौलाएको बताइन् ।
उनले नेपालका प्रदेश सरकारले समेत भारतमा जस्तै आयोग गठन गरी नागरिकले सजिलै सूचना पाउनुपर्ने अधिकारलाई व्यवस्थापन गर्ने कानून निर्माण गर्नुपर्ने आवश्यकतालाई औंल्याइन् । नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनीले सूचना अधिकारी सूचनामैत्री भई दिएको खण्डमा प्रत्येक नागरिकले सहजै सूचना पाउन सक्ने बताइन् । सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशकी अध्यक्ष स्मिता अधिकारीले महिला पत्रकारको क्षमता अभिवृद्धिका लागि उक्त तालिम आयोजना गरिएको बताइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया