समाज

फरार सात जना अभियुक्त सिरहाबाट एकै दिन पक्राउ

इकागज |
मंसिर १६, २०७८ बिहीबार २१:१२ बजे

सिरहा -  विभिन्न मुद्दामा अदालतबाट सजाय पाएर फरार सात जना सिरहाबाट बिहीबार पक्राउ परेका छन् । फरार सात जनालाई नै बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । कुटपिट तथा अंगफंग मुद्दामा अदालतबाट दुई वर्ष कैद तथा एक लाख रूपैयाँ जरिवानाको सजाय पाएर फरार लक्ष्मीपुरपतारी गाउँपालिका-५ खरुकियाही निवासी ६० वर्षीय रामअशिष दास तत्मालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस्तै नकबजनी चोरी मुद्दामा एक वर्ष कैद र चार लाख ९९ हजार ६ रूपैयाँ जरिवानाको सजाय पाएर फरार लहान नगरपालिका-२० भवानीपुर कलाबन्जर निवासी ३४ वर्षीय परशुराम यादव, लेनदेन मुद्दामा दुई वर्ष कैद सजाय पाएका सुखीपुर नगरपालिका-५ निवासी ३८ वर्षीय कासीन्द्र यादव, लेनदेन बिगो मुद्दामा छ महिना कैद सजाय पाएर फरार सिरहा नगरपालिका-१२ गम्हरिया टोल निवासी ४५ वर्र्षीया अनितादेवी सहनीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सुभाष बुढाथोकीले जानकारी दिए ।


यस्तै सवारी ज्यान मुद्दामा १५ दिन कैद र दुई हजार रूपैयाँ जरिवानाको सजाय पाएर फरार गोलबजार नगरपालिका-२ गुरुधाम निवासी ४१ वर्षीय रामकुमार मगर र सवारी ज्यान मुद्दामै आठ दिन कैद र दुई हजार रूपैयाँ जरिवानाको सजाय पाएर फरार सोही ठाउँका ३५ वर्षीय साजनकुमार लामा र जग्गा खिचोला मुद्दामा रु १३७ जरिवानाको सजाय पाएका औरही गाउँपालिका-२ निवासी ६७ वर्षीय जगदीश नायकलाई पक्राउ गरेको डीएसपी बुढाथोकीले बताए । 

पक्राउ परेका सातै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पेश गरिएको छ । त्यस्तै झैझगडा तथा कुटपिट मुद्दाका फरार विष्णुपुर गाउँपालिका-१ निवासी ३५ वर्षीय रामबाबु यादवलाई आजै पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x