अमरगढी किल्लाबाट ऐतिहासिक सामग्री हराउन थालेपछि स्थानीय चिन्तित
डडेलधुरा - अगरगढी किल्लामा प्रयोग गरिएका ऐतिहासिक हात हतियार र टायल गायव भएका छन् । यस्ता सामग्री हराएसँगै किल्लाको महत्त्व घटेको स्थानीयले बताएका छन् । अमरगढी किल्लामा निर्माण गरिएको कोतघरसमेत जीर्ण बनेको छ। डडेलधुरामा रहेको नेपाली सेनाको तत्कालीन रणबम गणले नागरिक-सैनिक सम्बन्ध कार्यक्रम अन्तर्गत २० लाख रूपैयाँको लागतमा कोतघर निर्माण गरी १३ कात्तिक ०७७ अमरगढी नगरपालिकालाई हस्तान्तरण गरिसकेको छ ।
भग्नावशेषका रूपमा रहेको कोतघरलाई सेनाले पुस्तकालयसहितको कोतघर निर्माण गरी एक थान कम्प्युटर सहित कोतघर अमरगढी नगरपालिकालाई हस्तान्तरण गरेको एक वर्ष नपुग्दै जीर्ण भएको छ। कोतघरको धुरीमा राखिएको काठ भाँच्चिएर चुहिन थालेपछि कोतघरमाथि त्रिपाल हालेर राखिएको छ।
कराडाैंका टायल : बालुवामा पानी सरह
फलामे तारले घेरबार गरिएको किल्लाबाहिर पर्खाल निर्माण गरिएको छ। साना सहरी विकास तथा भवन डिभिजन कार्यालयबाट टेन्डर भएर गत वर्ष एक करोड ९६ लाखमा लक्ष्मी कन्ट्रक्सनले बनाउने जिम्मा दिइएको हो । तर, ति टायल आफैं खस्दै गएका छन्। टायल लगाउने समयमै लक्ष्मी कन्ट्रक्सनले मनपरी गर्न थालेपछि आफूले सम्झाएको स्थानीय शुरेस थापाले बताए। ‘अहिले त एक वर्ष भन्दा बढी भइसक्यो। यो त फुट्ने नै भयो। लगाउने बेला नै फुटेको थियो,’ उनले भने, ‘चिटिक्क साइजअनुसार बनाउन छोडेर मनपरी गरेपछि यस्तो भयो।’
हामीले भएन भनेर आवाज उठाएको भए पनि आर्थिक रूपले फाइदा लिनको लागि उनीहरूले जथाभावी रूपमा बनाएको उनी बताउँछन्। टायल आफैं खस्न थालेपछि खसेको टायल किल्लानजिकका व्यक्तिले लैजाने गरेको स्थानीयको भनाइ छ।
टायल लगाउने समयमा अमरगढी नगरपालिकाले अनुगमन गरेको थियो। तर, ठेकेदार र नगरपालिकाका कर्मचारीको मिलेमतोमा कमसल खालको सामग्री प्रयोग गरिएको स्थानीयको आरोप छ। दीर्घकालिन योजना बनाएर काम नगरी हचुवाको भरमा काम गर्दा किल्लाको अस्तित्व नै धरापमा परेको हो।
बाइसे-चौबीसे राज्य एकीकरणसँगै डोटेली राज्यमा रहेर पश्चिम प्रशासक भएका बडाकाजी अमरसिंह थापाले कुमाउमा रहेको अग्रेजसँग लडाइँ लड्न अमरगढी किल्ला बनाएका थिए । नेपालमा अमरगढी किल्ला र सिन्धुलीगढी किल्लामात्र अस्तित्वमा रहेका छन्। ०५८ देखि ०६६ सालसम्म तत्कालीन विद्रोही माओवादी युद्धका कारण जिल्लालाई सुरक्षा दिन अमरगढी किल्ला नेपाली सेना मातहत थियो।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया