समाज

विवाह पञ्चमी महोत्सव : फूलबारी लीला सम्पन्न, आइतबार धनुष यज्ञ

इकागज |
मंसिर १८, २०७८ शनिबार २०:१७ बजे

जनकपुरधाम - धार्मिक तथा ऐतिहासिक रामजानकी विवाह पञ्चमी महोत्सवअन्तर्गत दोस्रो दिन शनिबार फूलबारी लीला मनाइएको छ । फूलबारी लीलामा फूलबारीमा भगवान् राम र लक्ष्मणको प्रतीकका रूपमा एक जोडा बालबालिकालाई विवाहमण्डप प्रांगणमा रहेको फूलबारीमा घुमाइन्छ । सप्ताहव्यापी मनाइने महोत्सवको पहिलो दिन शुक्रबार नगरदर्शन सम्पन्न भएको थियो ।

त्रेता युगमा राम र लक्ष्मण जनकपुर आएको बेला फूलबारीमा घुम्न जाँदा सखीसहेलीसँग फूल टिप्न आएकी जानकीसँग पहिलो भेट भएको धार्मिक विश्वास रहेको छ । सोहीअनुसार विवाहपञ्चमी महोत्सवमा दोस्रो दिन फूलबारी लीलामा घुमाउँदै राम लक्ष्मण र सीताको भेटघाट गराउने चलन रहेको जानकी मन्दिरका छोटा महन्त रोशन दासले बताए । 


२३ मंसिरसम्म चल्ने विवाहपञ्चमी महोत्सवअन्तर्गत तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौं औं दिन मटकोर, छटौं दिन स्वयंवर र विवाह सातौं दिन  रामकलेवा हुने छ ।


Author

थप समाचार
x