समाज

बैतडीमा बिजुली

सात महिनाअघि नै हाउस वाइरिङ सम्पन्न, विद्युत आउने अत्तोपत्तो छैन

मोबाइल चार्ज गर्नसमेत अन्यत्रै जानुपर्ने बाध्यता

इकागज |
मंसिर २०, २०७८ सोमबार १५:५७ बजे

बैतडी - सिगास गाउँपालिकाû १ का बासिन्दाले हाउस वाइरिङ गरेको सात महिना पुग्नै लाग्यो । तीन सय घरधुरी रहेको यस वडामा दुई वर्ष अघिदेखि नै विद्युत विस्तार सुरू भएको हो । त्यसबेला छिट्टै बिजुली बत्ती बाल्न पाइन्छ भनेर स्थानीयवासी निकै खुसी बनेका थिए । तर, उनीहरूको त्यो खुसीले अझैसम्म पनि पुरा भएको छैन । चाडै बिजुली बत्तीमा बल्ने आश्वासनपछि हाउस वाइरिङसमेत गरेका स्थानीय अहिले भने निराश छन् । किनकी अझै कहिले बत्ती बल्छ भन्ने अत्तोपत्तो छैन।

स्थानीय रामबहादुर महराकाअनुसार यो वडा जयपृथ्वी राजमार्गसँगै जोडिएको छ । यो वडासँगै सीमा जोडिएको सुर्नया गाउँपालिका र पाटन नगरपालिकामा भने बिजुली छ । तर, यही वडामा विद्युत छैन । तार र पोलहरू केही ठाउँमा जडान गरिएका छन् भने धेरैजसो तार र पोल अलपत्र छन् ।


सिगास-१ मा बिजुली नआउँदा धेरै नै समस्यामा भएको स्थानीय राजबहादुर चन्दले बताए । उनले भने, ‘बिजुली आउँदैछ भनेर हामीले घरमा भएका सोलारसमेत हटायौँ । केही मर्मत गर्नुपर्ने सोलार मर्मत नगरी छाड्दा त्यसै बिग्रिए । र अहिले मट्टीतेलबाट टुकी र सल्लाको दियो बालेर रात कटाउन थालेका छाैं ।’

स्थानीय महावीर बिकले बिजुली अभावमा मोबाइल चार्ज गर्नसमेत गाडी चढेर अन्यत्रै जानुपर्ने बताए । घर नजिक गाडेका पोलहरू र जडान गरिएको तार अहिले लथालिंग भएको छ भने, टान्सफर्मर ल्याएर प्रयोगविहीन भएको बताए । 

गाउँमा विद्युत आइहाल्छ भनेर केही स्थानीयवासीले वाइरिङ गर्नुका साथै मिटरबक्ससमेत किनेर ल्याइसकेका छन् । स्थानीय वीरबहादुर चन्दले भने, ‘घर र पसलका लागि दुई वटा मिटरबक्स खरिद गरेर ल्याएको छु । मिटर बक्स किनेकै दिन देखिको न्युनतम् महसुलसमेत तिर्नुपर्ने हुन्छ । तर, बिजुली अझै बलेको छैन । कहिले बल्छ त्यो पनि केही थाहा छैन । हाम्रो यहाँ हरेक काममा ढिलाइ हुने गरेको छ । विद्युत प्राधिकरणमा कुलमान घिसिङ आएपछि राम्रो गर्लान भन्ने लागेको थियो तर केही फरक भएन ।’ 

यता, सिगास गाउँपालिका-१ मा आगामी दुई महिनाभित्रै विद्युत बल्ने सम्भावना रहेको वडा अध्यक्ष गगनसिंह धामीले बताए । उनले भने, ‘आवश्यक सामान ल्याइसकेका छाैं । तर, बिजुली बल्न बाँकी नै छ । अब विद्युत प्राधिकरणले जिम्मा लिइसकेपछि जनप्रतिनिधिको भूमिका खासै रहदैन् । प्राधिकरणबाटै ढिलाइ भएको हो । अब सम्बन्धित निकायलाई घचघच्याएर विद्युत विस्तारमा ध्यान दिन्छु ।’ ६ महिनाभित्र सिगास गाउँपालिकाका वडा नम्बर १ देखि ५ सम्म विद्युत सेवा सुचारु गरिसक्ने गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए ।


Author

थप समाचार
x