पातालगैरी वनका पदाधिकारी र उपभोक्ताविरुद्ध मुद्दा दायर
सुर्खेत - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पातालगैरी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र उपभोक्ताविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ । समितिका अध्यक्ष हरि दमाइ, कोषाध्यक्ष खड्गप्रसाद जैसी र सचिव पूर्णिमा शाह सिंहविरुद्ध आयोगले १८ लाख ७७ हजार रूपैयाँ बराबरको बिगो भराउन माग गर्दै मुद्दा दायर गरेको हो ।
समितिका सदस्य रणबहादुर बडुवालविरुद्ध पाँच लाख ५० हजार र अर्का सदस्य भरतबहादुर बशाहीविरुद्ध एक लाख ५० हजार र उपभोक्ता प्रेमबहादुर सिञ्जापतिविरुद्ध आठ लाख ८७ हजार रूपैयाँ बराबरको बिगो भराउन माग गरिएको छ ।
यसैगरी उपभोक्ता हस्तनादेवी शाहीविरुद्ध एक लाख १५ हजार र अशोक सिंहविरुद्ध २५ हजार रूपैयाँ बराबरको बिगो माग गरिएको आयोगका प्रवक्ता नारायण रिसालले जानकारी दिए । सेवाग्राहीसँग आठ हजार रूपैयाँ घुस लिएको अभियोगमा वैदेशिक रोजगार कार्यालय ताहाचल काठमाडौंमा कार्यरत नायव सुब्बा दुर्गाप्रसाद पोखरेलविरुद्ध पनि आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । कार्यालय परिसरमा रहेको फोटोकपी सञ्चालकसँगको मिलेमतोमा नायव सुब्बा पोखरेलले घुस लिएको आरोप लागेको छ । -रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया