श्रीरामजानकी विवाहको स्वयंवर सम्पन्न, आज राति विवाह हुने
जनकपुरधाम - वैवाहिक कार्यक्रम अन्तर्गत भगवान श्रीराम जानकीको स्वयंवर सम्पन्न भएको छ । त्रेत्रायुगमा भगवान श्रीराम र जानकीबीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा मनाइदै आएको विवाह पञ्चमी महोत्सव अन्तर्गत रंगभूमि मैदानमा बुधवार दिउंसो स्वयंवर सम्पन्न भएको हो ।
माता सीताको स्वयंवर स्थल रंगभूमि मैदान नै रहेको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष विवाह पञ्चमी महोत्सवको क्रममा वैवाहिक कार्यक्रम अघि स्वयंवर आयोजना गरिदै आएको छ । श्रीराम मन्दिरबाट भगवान श्रीराम र जानकी मन्दिरबाट निस्केको माता सीता (युगल जोडी) डोलाको मिलन र परिक्रमा गराई स्वयंवर गरिएको हो । स्वयम्बरका क्रममा जानकी मन्दिरका डोलासहित मन्दिरका महन्थ र पुजारीहरुले राम मन्दिरका डोलालाई विशेष पूजा गरे । पूजापछि रामको डोलालाई जानकीको डोलाले सातपटक परिक्रमा गराई मिलन गराइएको छ ।
सो स्वयंवर हेर्न रंगभूमि मैदानमा देश विदेशबाट आएका साधु सन्त सहित लाखौ श्रद्धालुहरुको जनसागर ओर्लेको थियो । नेपाली सेनाका सहभागितामा कडा सुरक्षाका बीच स्वयंवर कार्यक्रम सम्पन्न गरिएको हो ।
स्वयंवर कार्यक्रम पश्चात जानकी मन्दिर र राम मन्दिर सहित विभिन्न मठ मन्दिरबाट भगवान श्रीराम र माता सीताको डोलालाई बाजागाजा सहित मैथिली वैवाहिक लोक गीत गाउंदै शोभा यात्रा सहितको नगर परिक्रमा समेत गराइएको छ । रंगभूमि मैदानबाट निस्केको युगल जोडीको डोला रामानन्द चोक हुँदै पिराडी चोक, मिल्स एरिया, भानु चोक र शिव चोक हुँदै नगर परिक्रमा गर्दै पुनः जानकी मन्दिरमै पुगेको थियो ।
कडा सुरक्षाकाबीच सो डोलासँगै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल तथा भारतका विभिन्न मठ मन्दिर साधुसन्त महन्थ, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायत लाखौ श्रद्धालुहरुको भीड नगर परिक्रमा गरेको थियो ।
स्वयंवर कार्यक्रमको क्रममा नेपाली सेनाले स्वयंवर स्थल रंगभूमि मैदान र जानकी मन्दिरमा हेलिकप्टरले प्रत्येक वर्ष जस्तै यस वर्ष पनि माथिबाट पुष्प वर्षा समेत गरेका थिए । सीता स्वयंवर पश्चात आज बेलुका मिथिला विवाह पद्धति अनुसार वैवाहिक कार्यक्रम सम्पन्न गरिनेछ ।
जानकी मन्दिरको प्रांगणमा आयोजना गरिने वैवाहिक कार्यक्रममा माता सीताको अभिभावक राजा जनकको भूमिका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, भगवान श्रीरामको अभिभावक राजा दशरथको भूमिका राम मन्दिरका महन्थ बाबा रामगिरीले गर्नेछ ।
प्रत्येक वर्ष अयोध्याबाट जन्तीका रुपमा आएका लक्ष्मण किलाधिशका महन्थले गर्दै आएका थिए । तर कोरोना संक्रमण महामारीका कारण गत दुई वर्षदेखि जोखिमको दृष्टिगत गर्दै अयोध्याबाट जन्ती आउन रोकिएको छ । यसवर्ष पनि अयोध्याबाट जन्ती आएको छैन । तर केही मन्दिरका साधु सन्तहरु दर्शानार्थीको रुपमा आएका छन् ।
भोली बिहीबार अन्तिम दिन जन्तीको विदाई सहितको रामकलेवा गरी विवाह पञ्चमी महोत्सव सम्पन्न हुनेछ । मिथिला परम्परा अनुसार जन्तीलाई भोजन र लताकपडा दिई सम्धी मिलन गरेर विदाई गर्ने सहितका कार्यक्रम राम कलेवामा आयोजना गरिदै आएको छ ।
विवाह पञ्चमी महोत्सवको सप्ताहिक कार्यक्रम अन्तर्गत यसअघि नगर दर्शन, फुलबारी लिला, धनुष यज्ञ, तिलकोत्सव र मटकोर सहितका कार्यक्रम सम्पन्न भइसकेको छ । विवाह पञ्चमी महोत्सव हेर्न अहिले जनकपुरधाममा श्रद्धालु भक्तजनहरुको जनसागर नै ओर्लिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया