समाज

वीरगञ्ज कारागारमा ८ कैदीबन्दीलाई क्षयरोग पुष्टि

इकागज |
मंसिर २५, २०७८ शनिबार २०:७ बजे

फाइल फोटो

जनकपुरधाम - प्रदेश २ को पर्सा जिल्ला स्थित वीरगञ्ज कारागारमा ८ जना कैदीबन्दीमा क्षयरोगको संक्रमण पुष्टि भएको छ । कारागारका नायब सुब्बा नवराज बर्तौलाले जनाए अनुसार २४ देखि ६० उमेर समूहका ७ पुरुष र एक महिला कैदीबन्दीमा क्षयरोग संक्रमण पुष्टि भएको हो । उनले भने नियमित स्वास्थ्य परीक्षणको क्रममा तिनीहरुमा क्षयरोग पुष्टि भएको छ ।

संक्रमित मध्ये ३ जना अरुलाई सार्न सक्ने छातीका क्षयरोगी हुन् भने बाँकी ५ जना बोन, ग्ल्यान्डका क्षयरोगी रहेको कारागार स्वास्थ्य प्रमुख दिपक यादवले बताएका छन । क्षयरोग सरुवा रोग भएकोले यो अन्य व्यक्तिमा पनि सर्न सक्ने जोखिम भएकाले संक्रमित कैदीबन्दीलाई जतिसक्दो छिटो अन्य कैदीबन्दीबाट टाढा राख्नु उपयुक्त हुने बताए ।


कारागारका जेलर कृष्ण गैरेले जेलमा आवश्यक व्यवस्था नभएकाले तत्कालै संक्रमित कैदीबन्दीलाई आइसोलेट वा छुट्टै राख्न सक्ने अवस्था नरहेकाले तिनीहरुलाई सावधानी अपनाएर कारागारभित्रै अन्य कैदीबन्दीसँग दूरी बनाएर बस्न भनिएको बताए ।

उनले भने कारागारमा स्वास्थ्य मापदण्ड अनुसारका छुट्टै पुर्वाधार व्यवस्थापन नभएकाले स्वास्थ्यकर्मीले भने अनुसार अरु कैदीलाई सार्न नसक्ने गरी सावधानी अपनाएर डिस्टेन्स मेन्टन गरी खान बस्ने व्यवस्थापन गरिएको छ ।

कारागार भित्र कैदीबन्दीमा भाइरल ज्वरो, झाडापखाला, चर्मरोग लगायतको प्रकोपको समस्या देखा परिरहेको छ । गतवर्ष कोरोना महामारीको पहिलो लहरमा पनि त्यहाँका ठूलो संख्यामा कैदीबन्दी र कारागार सुरक्षार्थ खटिएका प्रहरी तथा सेनाका जवानहरू संक्रमित भएको थियो ।


Author

थप समाचार
x