‘नेपालले जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणको नेतृत्व गर्न सक्छ’
कास्की : २०७२ वैशाख १ मा वातावरण मन्त्रालयले प्लाष्टिक झोला निषेध गर्ने निर्णय गर्याे । अहिले देशभर दिनमा २ करोड प्लास्टिक झोला फ्याकिन्छन् । काठमाडौं उपत्यकामा मात्रै १ करोड प्लास्टिक झोला जमिनमै छाडिन्छन् । काठमाडौंंकी शिलशिला आचार्य लगायतको टोलीले प्लास्टिक झोला निषेध गर्न देशभरबाट ५० हजार भन्दा बढी युवाको हस्ताक्षर उठाएर तत्कालिन उपप्रधानमन्त्रीलाई बुझाए ।
उनीहरूकोे प्लास्टिक झोला निषेध गर्ने अभियान केही सफल भयो । तर वैशाख १२ गतको महाभूकम्प र त्यसपछिको नाकाबन्दीले उनीहरूको अभियान बिथोल्यो । १२ दिन काठमाडौंमा पूर्णत निशेष भएको प्लास्टिक झोलापछि सरकारको नजरमा परेन । आचार्यका अनुसार यसले गर्दा जलवायु परिवर्तन र नेपालको आर्थिक क्षेत्रमै समस्या थपिँदै गयो ।
हिमालयन क्लाइमेट इनिसियटिभकी कार्यकारी निर्देशक शिलशिला आचार्य प्लास्टिक प्रयोगले नेपाललाई केबल मौसम र जलवायुमा मात्र नभएर आर्थिक क्षेत्रमै समस्या पारिरहेको बताउँछिन् । ‘प्लास्टिक बनाउन चाहिने कच्चा पदार्थ हामीसँग छैन, काम नपाएर युवा विदेशिएका छन्, उनीहरूकै पैसा प्लास्टिक किन्न पनि गइरहेको छ,’ आचार्य भन्छिन्, ‘प्लास्टिक उत्पादनमा देशभर १ हजार २५० जनाले रोजगार पाएका छन् भने कपडाको झोला बनाउन २६ हजार बढी रोजगार पाएका छन्, जलवायुमा पर्ने असर त झनै धेरै छन् ।’
आचार्य बुधबार नेपाल लिट्रेचर फेस्टिभलमा बहस गर्दै थिइन् । बहसमा आर्चासँगै थिए डा. अरनिको पाँडे र डा. महेश्वर ढकाल । उनीहरूलाई रमेश भुषालले सहजीकरण गरेका थिए । जलवायुमा परेको असर र कार्बनबीचका बारेमा बोल्ने क्रममा आचार्यले प्लास्टिक निषेध गर्दाको अवस्था र त्यसपछि आएका समस्याका बारेमा प्लास्टिकले जलवायुमा मात्र नभई आर्थिक क्षेत्रमै असर पारेको बताइन् ।
अहिले नेपालमा प्लास्टिक निषेध तथा जलवायु परिवर्तन रोक्ने विषयमा मानिसले एकअर्कालाई दोषारोपण गर्ने गरेको दृष्टान्त दिइन् । जनताले सिस्टमलाई र सिस्टमले जनतालाई दोषारोपण गरेर उम्कने गरेको उनको भनाइ थियो । ‘प्लास्टिक निषेधकै कुरा गरौं, ग्राहकले पसलेलाई, पसलेले कारखाना र कारखानाले सरकारलाई दोष दिएर उम्कन खोजेको पाइयो,’ आचार्यले भनिन्, ‘जनताले सिस्टम मिलाउनुपर्छ भन्ने र सरकारले जनताले सिस्टम मानेनन् भन्ने अवस्थामा हामी छौं । दुवै तिर चेतना भर्नुपर्छ ।’
प्लास्टिकले कार्वन उत्सर्जनमा पनि भूमिका खेलेको बताउँदै गर्दा अरनिको पाँडेलाई सहजकर्ता भुषालले न्युनिकरणका उपाय के हुन सक्छन् भन्ने प्रश्न गरे । पाँडेले ब्ल्याक कार्वनको उत्सर्जन कम गर्न सके कार्वनडाइअक्साइडको उत्सर्जन कम हुने बताए । ‘ब्ल्याक कार्वनको उत्सर्जन बन्द गरे आधा डिग्रीसम्म तापक्रम टाउन सकिन्छ, कार्वनडाइअक्साइड पनि कम उत्पादन हुन्छ,’ पाँडेले भने ।
बुधबार माछापुच्छ्रे हिमाल खुलेको थियो । हिउँको च्यादर ओडेर उभिएको हिमालको काखबाट कालो धुँवा उडेको देखिन्थ्यो । डा. अरनिको पाँडेले त्यसतर्फ इंगित गर्दै जलवायु प्रदुषणले हिमाल र हिमनदीमा पारेको प्रभावबारे बोल्न लागे । पाँडेले उक्त मुस्लोमा ब्ल्याक कार्वन मिसिएको र त्यसले हिमनदीलाई एकदमै छिटो पगाल्ने उनको भनाइ थियो । ‘माछापुच्छ्रेको फेद हेर्नुहोस्, त्यहाँ डढेलोबाट कालो धुँवा उडेको छ, त्यसमा ब्ल्याक कार्बन छ, यसले हिमनदीलाई पगाल्ने र हावा तताउँछ,’ पाँडेले भने, ‘ब्ल्याक कार्वन अहिले कार्वन उत्सर्जन पछिको सबैभन्दा ठूलो समस्या हो, ३२०० मिटरबाट उठेको डढेलोले ४/५ हजारसम्म प्रभाव पार्छ ।’
डा. महेश्वर ढकालले नेपाललाई अब दुई कार्वनबीचको देशका रुपमा चिनाइनुपर्ने बेला आएको बताउँछन् । दुई ढुंगाबीचको तरुल भनिने गरेको नेपाल अहिलेको अवस्थामा दुई कार्बनबीचको देश भएको उनको भनाइ थियो । ‘जलवायुका विषयमा भन्ने हो भने नेपाल अहिले दुई कार्बनबीचको देश भएको छ, यसले देशको सबै भेगमा उत्तिकै असर पार्न सक्छ,’ ढकालले भने ।
चीन र भारतबाट आउने हावामा कार्वन मिसिएको हुनाले नेपाली हिमालहरुको हिउँ छिटोछिटो पग्लने क्रममा रहेको उनको भनाइ थियो । ‘अहिले हिउँ पग्लिने क्रम तीव्र छ, यसले हिमालमात्र नभएर जडीबुटी, वनस्पति समेत विनाश हुने खतरा छ,’ ढकालले सुनाए । ढकालको भनाइमा सहमति जनाउँदै डा. पाँडेले नेपालकै धुँवा भन्दा भारतबाट आउने धुँवाले नेपालमा असर पार्ने देखिएको बताए । पाँडेले भारतीय ठूला सहरले कार्र्बन उत्सर्जन बन्द गरे नेपाललाई पनि सहयोग पुग्ने बताए ।
‘नेपालको जलवायु अब दिल्ली र बेइजिङ्का आगामी कदमले निक्र्यौल गर्छ, हामी उनीहरूको कदममा चनाखो हुनुपर्छ,’ ढकालले भने । अहिले बेलायतले जलवायुलाई वातावरणको मात्र विषय नभई डिप्लोमेसीको पनि विषय बनाएको भन्दै नेपालले त्यसबाट सिक्न सक्नुपर्ने धारणा राखे ।
जलवायु परिवर्तन रोक्न नेपालले ‘अन्डरग्राउन्ड’बाट नै काम थाल्नुपर्ने शिलशिला आचार्यको भनाइ थियो । नेपालमा अहिले धेरै मन्त्रलायबीच समन्वय तथा छलफल गर्नुपर्ने र सही सहकार्यको अभावमा काम हुन नसकेको उनको धारणा थियो । ‘प्लास्टिक निषेधकै कुरा गर्दापनि वातावरण र गृह मन्त्रालयबीच सहकार्यको अभावले अहिले प्लास्टिक निषेध गर्न सकिएन, वातावरण मन्त्रालयले निषेध भन्छ गृहले समाउँदैन, सहकार्यको खाँचो देखियो,’ उनले भनिन् ।
नेपालमा विकास भनेकै बाटो निर्माण भन्ने गलत सोच रहेकाले पनि जलवायु परिवर्तनमा सहयोग गरिरहेको उनको भनाइ थियो । विकासका नाममा अव्यवस्थित तरिकाले बाटो खन्नु र रुख काट्नुले पनि जलवायु परिवर्तनमा भूमिका खेल्ने उनले जनाइन् । ‘हाम्रा लागि विकास भनेकै बाटो खन्नु हो, इन्जिनियरिङ नै नगरी बाटो खन्यो, रुख काट्योे अनि ठूला विल्डिङ ठड्यायो,’ उनले भनिन्, ‘घर बनाउने भनेको सिमेन्टकै बनाइन्छ, सिमेन्ट कार्वनउत्सर्जनको ठूलो स्रोत हो । माटो ढुंगाको प्रयोगले रैथाने आकर्षक घर बनाउन सकिन्छ भन्ने भुल्यौं ।’
डा. अरनिको पाँडे अबको समयमा दुई देशहरू सिमानाका लागि लड्नुभन्दा पनि मिलेर जलवायु परिवर्तनका बारेमा सोच्नुपर्ने बताउँछन् । नेपाल इसिमोडको मुख्यालय भएको देश भएकाले यसमा नेतृत्व लिन सक्नुपर्ने पाँडेको टिप्पणी छ । ‘अहिले सिमाको बारेमा लड्नु भन्दा जलवायुका लागि लड्नुपर्छ, नेपालले यसको नेतृत्व लिन सक्ने बेला यही होे,’ उनले भने, ‘नेपालले कुनैबेला सफा टेम्पो चलाउँदा अरु देशमा भन्दा बढी प्रतिशत इलेक्ट्रिक गाडीको प्रयोग हुन्थ्यो, नेपालले अब हाइड्रोको उपयोग गरेर इलेक्ट्रिक गाडी चलाउन सक्नुपर्छ ।’ नेपालले अरु देशलाई उदाहरण दिन सक्नुपर्छ ।
नेपालमा जलवायु परिवर्तन र यससँग जोडिएका अन्य पक्षहरूका बारेमा नयाँ पुस्ताले जानकारी राख्न सक्ने गरी कुनै नेपाली किताब नहुँदा ज्ञानस्तरमा कमी आएको शिलशिला आर्चाको भनाइ थियो । पहिला नेपाली गाउँगाउँका रैथाने वस्तुका बारेमा नयाँ साहित्य लेखिनुपर्ने बताउँछिन् । जलवायु परिवर्तनका बारेमा साहित्य नलेखिएको भन्दै किसानहरूमा जलवायु परिवर्तनबाट परेको प्रभावबारे कथा लेखिनुपर्ने उनको तर्क थियो । ‘विदेशमा क्वान्टम थ्वेरीबारे कस्तो सानो सानो किताबहरू बनाइएको छ जसलाई साना बच्चाले समेत बुझ्छन्, यसरी जलवायुबारे पनि किताब बनाउन सके उचित हुन्थ्यो,’ उनले भनिन् ।
बहसमा सहजकर्ता भुषालले डा. अरनिको पाँडेलाई सोही विषयमा बोल्न दिए । पाँडेले आफू किताब छाप्न तयार रहेको र लेखनमा केही साथीको साथ चाहिने बताएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया