समाज

छोराछोरी निदाइसके भन्‍ठानेर सेक्‍स गरिरहनुभएको त छैन ?

सृजना खड्का |
पुस ८, २०७८ बिहीबार ८:३५ बजे

एकजना किशोर मन जँचाउन आए । उनको मन जाँच्‍ने प्रयत्न गरिरहेकी थिइन्, मनोविद् डा. गंगा पाठक । समस्या खोतल्दै जाँदा उनले सोच्दै नसोचेका कुरा ती किशोरले निकाल्न थाले । उनी आफ्नी बहिनीसँग जिस्किने, चल्ने संवेदनशील अंगमा छुने गर्दा रहेछन् । यसरी चल्ने-जिस्किने कुरालाई परिवारले दाजुबहिनी चलेको भनेर सामान्य रूपले लिँदो रहेछ ।  

‘बहिनीलाई त्यसो गरेकामा बिस्तारै उसलाई ग्लानि महसुस हुन थालेछ,’ डा. पाठकले सुनाइन्, ‘केही समयदेखि यही विषयमा धेरै सोच्‍न थालेर किशोर डिप्रेसनको सिकार भएका थिए ।’


‘बहिनीलाई त्यस्तो गर्ने आँट तिमीलाई कहाँबाट आयो ?,’  डा. पाठकले किशोरलाई सोधिन् ।  

‘मैले सानैदेखि आमाबुवा पनि त्यसैगरी चल्ने गरेको देखेको थिएँ,’ किशोरले जवाफ फर्काए । 

‘उनी ठूलो हुँदासम्म पनि आमाबुवा सँगै सुत्ने गर्दा रहेछन्,’ डा. पाठकले भनिन्, ‘सँगै सुत्दा आमाबुवाबीचको शारीरिक सम्बन्ध नजिकबाट नियालिरहेका हुँदा रहेछन् । सानैदेखि उनको दिमागमा त्यो दृश्यले डेरा जमाएर बसेको रहेछ ।’ 

डा. पाठककहाँ यस्ता थुप्रै केस आउँछन् । उनी बालबालिका ठूलो हुने बेलासम्म आफैँसँग सुताउँदाको परिणामका रूपमा यसलाई लिन्छिन् । यो विषयलाई प्रायः परिवारका सदस्यले सामान्य रूपमा लिने गरेको उनी बताउँछिन् । उनका अनुसार विदेशीहरू यस्ता स-साना कुरालाई ध्यानमा राख्छन् । ताकि भविष्यमा पारिवारिक सम्बन्धमा कुनै दुर्घटना नहोस् । तर, नेपालमा यस्तो चलन छैन । बालबालिकालाई ठूलो हुने बेलासम्म पनि आफूसँग सुताउने गरिन्छ । 

यो विषय कतिपयको भने बाध्यतासँग जोडिएको उनी बताउँछिन् । ‘गाउँबाट सहरमा संघर्ष गर्न आएकाहरू सबै परिवार एउटै कोठामा बस्छन्,’ उनी भन्छिन्, ‘धेरैको एउटै कोठामा सबै परिवार बस्नुपर्ने बाध्यता पनि हुन्छ । तर, केही अभिभावकहरू पर्याप्त कोठाहरू भएर पनि बालबालिकालाई ठूलो हुने बेलासम्म आफैँसँग सुताउँछन् । जुन गलत हो ।’ 

०००
प्रारम्भिक बाल विकास विशेषज्ञ डा. मीनाक्षी दाहाल केही बालबालिकाहरू एकआपसमा खेल्दा यौनजन्य क्रियाकलाप गर्ने गरेको बताउँछिन् । तर, यस्ता कुरालाई लाजको विषय बनाएर परिवारका सदस्यले बेवास्ता गर्ने, खुलेर कुराकानी नगर्ने उनको गुनासो छ । ‘बच्चालाई केही थाहा हुँदैन भनेर यस्तो विषय गौण ठानिन्छ,’ उनी भन्छिन्, ‘तर, बच्चा कतिबेला ब्युँझिन्छ, आमाबुवा कस्तो अवस्थामा हुन्छन्, त्यसलाई उसले कुन रूपमा लिन्छ भन्‍नेबारे खासै हेक्का राखिएको हुँदैन ।’

मनोविद् गोपाल ढकाल हामीले सामान्य रूपमा लिने यस्ता विषयमा घरभित्रै हुने यौन दुव्र्यवहार र बलात्कारका घटनासमेत जोडिएको बताउँछन् । ‘धेरैजसो यौन दुव्र्यवहार र बलात्कारका घटना आफन्त र परिवार भित्रैबाट भएको पाइन्छ,’ उनी भन्छन्, ‘बालबालिकालाई धेरै सानोमा बेडरुमबाट छुटाउनु राम्रो होइन । तर, ठूलो भइसकेपछि नअलग्याउनु पनि राम्रो होइन । यसले बालबालिकामा यौनको विषयमा गलत शिक्षा दिन्छ ।’

बच्चा ठूलो हुँदासम्म बाबुआमाले आफैँसँग सुताउँदा वा आफन्त त हो नि वा आफ्नै दाइभाइ-दिदीबहिनी त हुन् नि भनेर सँगसँगै सुताउँदा, त्यसको नकारात्मक असर त परिरहेको छैन ? 

पारिवारिक सम्बन्धलाई चाहिनेभन्दा बढी विश्वास गर्दा सम्बन्धमा दुर्घटना हुन सक्ने उनी बताउँछन् । ‘बालबालिकालाई सानोमा सँगै सुताउँदा आत्मीयता, सुरक्षाको भाव हुन्छ, उनी भन्छन्, ‘तर, ठूलो भइसकेपछि उनीहरूलाई आफूसँग मात्र होइन, परिवारका अन्य सदस्यसँग पनि सुताउनु हुँदैन ।’

कुन उमेरसम्म सँगै सुताउने, कुन उमेरपछि अलग्याउने ?
मनोविद् करुणा कुँवर केही समयसम्म बालबालिकालाई सँगै सुताए पनि कुन उमेरमा छुटाउने त्यसको जानकारी अभिभावकले राख्नुपर्ने बताउँछिन्  । ‘कहिले छुटाउने भन्‍ने कुरा थाहा नहुँदा १२-१५ वर्षसम्म सँगै सुताउँछन्,’ उनी भन्छन्, ‘अभिभावकले छोराछोरी निदाए भनेर शारीरिक सम्बन्ध राख्दा बालबालिकालाई असर गर्छ । आफूलाई ज्ञान र अनुभव नभएको विषय देख्दा उनीहरूमा कौतूहल हुन्छ । प्रयोग गर्न खोज्छन् ।’

यसले बालबालिकाको शारीरिक, मानसिक, भावनात्मक विकासमा असर पुर्‍याउने उनको तर्क छ । बालबालिकालाई सुत्ने बेला आफूसँग अलग्याउनुलाई उनी राम्रो बानी भन्छिन् । ‘राम्रो बानीहरू सिकाउनु छ भने बच्चालाई छिटो सिकाएको राम्रो,’ उनी भन्छिन् । 

डा. दाहाल भने बालबालिकालाई सानो उमेरमा आमाबाबुको साथ र आत्मीयता चाहिने बताउँछिन् । ‘आमाले बच्चालाई आफूबाट अलग बनाउनुभन्दा आवश्यकताअनुसार आफूले ठाउँ परिवर्तन गर्नुपर्छ,’ उनी भन्छिन्, ‘एक वर्षपछि बिस्तारै उसलाई एक्लै सुत्ने बानी बनाउनुपर्छ । उनीहरू सुत्ने ठाउँमा खेलौनाहरू राखिदिनुपर्छ ।’

सँगै सुताउँदा के-कस्तो असर पर्छ ?
डा. दाहाल ठूलो हुँदासम्म पनि आमाबुवासँग सुत्ने बानी परेका बालबालिकामा पछि गएर ‘सेपरेसन एन्जाइटी’को समस्या देखिने बताउँछिन् । ‘ठूलो हुँदासम्म पनि उनीहरू आमाबुवाबिना सुत्न मान्दैनन्,’ उनी भन्छिन्, ‘जसले गर्दा उनीहरूको आत्मबल कमजोर हुन्छ । रात परेपछि उनीहरू डराउन थाल्छन् । कतिपय बालबालिकाको भने बुवाप्रतिको धारणा नकारात्मक हुने पनि देखिएको छ ।’

भर्खरै जन्माएको बच्चालाई सँगै सुताउँदा कुनै पनि प्रकारको दुर्घटना हुन सक्ने डा. पाठक बताउँछिन् । ‘मुख छोपिन सक्छ, थिचिन सक्छ,’ उनी भन्छिन्, ‘सुतेर दूध खुवाउँदा निसासिन सक्छ । त्यसैले उनीहरूलाई आफ्नै ओछ्यानमा भन्दा साइडमा एउटा कर्नर बेड राखेर त्यसैमा सुताउनुपर्छ ।  

समाधान के ?
मनोविद् कुँवर बालबालिकालाई छुट्टै सुताउँदा केही समय उनीहरूको बेडरुममा गएर ‘स्टोरी टाइम’ दिनुपर्ने बताउँछिन् । ‘उनीहरू ननिदाएसम्म उनीहरूसँगै बसिदिने, कथाहरू सुनाउने गर्नुपर्छ,’ उनी भन्छिन्, ‘ढोका खुल्लै राखेर बेलाबेलामा उनीहरूको निरीक्षण गर्नुपर्छ ।’

डा. दाहाल बच्चाहरू स्वभावैले जिज्ञासु भएकाले उनीहरूलाई यौन शिक्षा पनि परिवारबाटै दिनुपर्ने बताउँछिन् । ‘हाम्रोमा ‘म कसरी जन्मिएँ’ भनेर बालबालिकाले सोध्यो भने बाँसघारीमा भेटेको, देउताले दिएको, आकाशबाट खसेको जस्ता कुरा गरेर टार्ने चलन छ,’ उनी भन्छिन्, ‘अभिभावकले बालबालिकालाई आफ्नो ओछ्यानबाट अलग्याउनुको मतलब बालबालिकासँग यौनका कुरा गर्दै गर्नु हुन्‍न भन्‍ने होइन ।’ 

आफ्नै दाजु-बहिनी भनेर सँगै सुताउने गर्नुभएको छ ?
केही समयअघि डा. दाहाल अध्ययनका क्रममा बाँके गएकी थिइन् । त्यहाँको ‘किशोरी क्लब’का किशोरीहरूको कुरा सुन्‍ने मौका उनले पाइन् । एकजना किशोरीले आफ्नी साथीको कथा सुनाइन् । उनकी साथी र दाजु एउटै कोठामा सुत्ने रहेछन् । ‘उनले धेरैपटक ‘दाजुसँग सुत्दिनँ’ भनेर आमाबुवालाई भनेकी पनि रहिछिन्,’ उनी भन्छिन्, ‘पढ्नको गाह्रोले मसँग सुत्न नमानेको’ भनेर दाजु आमाबुवालाई कुरा लगाउने गर्दा रहेछन् । आमाबुवा उल्टो गाली गर्दै दाजुसँग सुत्न पठाउने रहेछन् ।’ केही समयपछि ती किशोरी गर्भवती भएको परिवारले थाहा पायो । आफ्नै परिवारभित्र भएको घटना भन्दै आमाबुवाले गुपचुप किशोरीको गर्भपतन गराए । 

डा. पाठककहाँ त्यस्तै प्रकृतिको एउटा केस केही समयअघि आएको थियो । परामर्शका लागि आएकी ती किशोरीमा शारीरिक समस्या केही थिएन । मानसिक रूपमा निकै तनावपूर्ण अवस्थामा उनी आइपुगेकी थिइन् । उनको समस्या थियो- आफन्त दाइसँगको मनमुटाव । कुरा बुझ्दै जाँदा डा. पाठकले थाहा पाइन्- उनका दाजुले उनीमाथि यौन दुव्र्यवहार गरेका रहेछन् । त्यसपछि उनी दाइसँग बोल्नै छाडिछिन् । 
‘परिवारले जहिल्यै दाइसँग किन नबोलेको भनेर बोल्न प्रेसर दिँदो रहेछ,’ डा. पाठक भन्छिन्, ‘किन नबोलेको भन्‍ने जवाफ उनले आमाबुवालाई दिन सकिनछिन् । यही कुराले उनलाई मानसिक तनाव दिएको रहेछ । 

काउन्सिलिङका क्रममा किशोरीले डा. पाठकलाई भनेकी थिइन्- म त्यो दाइको घरमा दसैँमा टिका लगाउन पनि जान छोडेँ । उसलाई देख्यो कि डर लाग्छ, रिस उठ्छ । आफन्तबाट भएका यौन दुर्व्यवहारका घटनालाई लिएर धेरैजना परामर्शका लागि आउने गरेको डा. पाठक बताउँछिन् । ‘यसको जड परिवारले आफन्त भनेर विश्वास गर्नु हो,’ उनी भन्छिन्, ‘आफ्नै त फुपूको छोरा, काकाको छोरा, मामाको छोरा । उसले मेरो छोरीलाई एकदमै माया गर्छ, केयर गर्छ भन्दाभन्दै कतिबेला आफ्ना सन्तान दुव्र्यवहारमा पर्छन्, पत्तै हुँदैन ।’

कोसँग कति दूरी कायम गर्ने भन्‍ने थाहा नपाउँदा यस्ता दुर्घटना हुने उनी बताउँछिन् । ‘आफ्ना बालबालिकालाई सानैदेखि असल छुवाइ र खराब छुवाइबारे जानकारी दिइरहनुपर्छ,’ उनी भन्छिन्, ‘कोसँग कति नजिक हुने, कसलाई कति विश्वास गर्ने जस्ता कुरा सिकाउनुपर्छ । यसमा अभिभावक आफैँ पनि चनाखो हुनुपर्छ ।'


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x