कुल पूजामा महिलामाथि दुर्व्यवहार
सुर्खेत - कुल पूजाका बेला दुर्व्यवहारमा परेकी एक महिलाले प्रहरीमा उजुरी दिन मानेकी छैनन् । सुर्खेतको लेकबेसीमा कुल पुजाको बेला महिलामाथि भएको दुर्व्यवहारको भिडियो सार्वजनिक भएको थियो । भिडियोका आधारमा महिलामाथि अभद्र व्यवहार भएको भन्दै तीन जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ ।
तीन दिनअघि धामी–झाँक्रीसँग उपचार गराउने क्रममा ती महिलामाथि अभद्र व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए ।
शाहीका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली, वडा नम्बर ७ का भक्ति ज्ञवाली र बराहताल गाउँपालिका–८ का मिलन ज्ञवाली पक्राउ परेका छन् । सार्वजनिक भएको भिडियोमा भने एकजनाले महिलालाई पैतला चटाएका छन् । अर्का एक जनाले महिलामाथि देवता चढेको बहानामा शारीरिक रूपमा आक्रमण गरेको शाहीले बताए । प्रहरी निरीक्षक शाहीका अनुसार प्रहरी प्रतिवेदनका आधारमा उनीहरू पक्राउ परेका हुन् ।
प्रहरी निरीक्षक शाहीले पीडित महिलाले अहिलेसम्म जाहेरी नदिएको बताए । ‘अहिलेसम्म हामीकहाँ जाहेरी आएको छैन, जाहेरी आउनेवित्तिकै दर्ता गर्छाै’ उनले भने ‘यो केश फौजदारी अन्तर्गतको भएकाले जाहेरी नआए पनि मुद्दा अगाडी बढ्छ ।’ स्थानीयबासीका अनुसार दुर्व्यवहारमा परेकी महिलाले आफु बिरामी भएकाले कुल पुजामा आएको र निको गराउन विधि गरेको प्रतिक्रिया दिएकी छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया