छाउगोठ भत्काए पनि भत्किएन मनको डर
देउता रिसाउने डरले प्लास्टिकको छाप्रोमा बास
सुर्खेत - जिल्लाको ठाटीकाँध गाउँपालिका–२ कि सरुपा विक २१ वर्षको भइन् । १६ वर्षको उमेरमा महिनावारी भएकी उनी छाउगोठमा बसेको यो छैटौँ पटक हो । उनी महिनावारी भएका बेला उही छाऊगोठमै जान्छिन् ।
महिनावारीको समय नजिँकिदा शरीरमा काडा उम्रेर आउँछ । उनी भन्छिन्, ‘छाउगोठमा बसौँ त सर्पको डर, घरमा बसौँ त देवताको डर । केही गरे पनि सुख छैन ।’
बिहान पाँच बजेकै हुँदैन, कठ्याङिदो जाडोमा घाँस काट्न वनतिर हिँडिहाल्छिन् । घाँसको डोको बोकेर घर फर्किन्छिन् । यसरी नै उनको दैनिकी बित्छ । अघि पछिभन्दा महिनावारि भएका बेला निकै पिडा कष्ट हुने गरेको उनी सुनाउछिन् । उनले भनिन्, ‘महिनावारीका बेला गनिनसक्नु पीडा हुन्छन् । सुख्खा सेतो नुनसँग खाना खानुपर्छ । एकसरो कपडा ओछ्याएर चिसो ठाउँमा सुत्नुपर्छ ।’
त्यस्तै आठबिस नगरपालिका–५ की अमला बडुवाल (परिवर्तित नाम) पहिलोपटक महिनावारी हुँदा लुक्नसमेत जंगल पसिन् । गाउँघरमा पहिलो पटक रजस्वला भए लुक्ने जाने चलन आफूले पनि पूरा गरेको अमला बताउँछिन् । ‘सरकारले छाउलाई बार्न हुन्न, छाउ गोठमा बस्न हुन्न भनेर भत्कायो,’ उनले भनिन्, ‘गोठ भत्काएर मात्र के गर्नु ? मनको डर भत्काउन कसैले नसक्ने रहेछ । त्यसैले पनि छाउ गोठमै बस्नुपर्ने बाध्यता छ ।’
पहिलोपाला रजस्वला हुँदा त झनै समस्या हुन्छ, रजस्वला हुँदा यदि नलुकेमा दाइभाइको नजर परे राम्रो हुँदैन भनी पाँच दिनसम्म लुक्ने चलन रहेको ठाटीकाँधकी सरुपा बि क बताउँछिन् । ‘पहिलो पटक महिनावारी हुँदा घरमा बस्नु हुँदैन, लुक्न जानुपर्छ जंगलतिर । कसैको पनि नजरमा पर्न हुँदैन ।’
‘महिनावारी हुँदा त धेरै पोसिलो खाना खानुपर्ने हुन्छ । तर, उनले एकछाक खाना पनि कतिबेला दिन्छन् र खाउँला भनी अरूको मुख हेर्नुपर्छ, फेरि महिनावारी हुँदाको पीडा पनि छँदैछ ।’ अर्काकै घर भएपनि उनले आफ्ना लागि छुट्टै बस्ने एउटा कोठा भने पाएकी थिइन कोठामा सुत्ने ओछयान पनि राम्रै भएको उनी सुनाउँछिन्, ‘घरि बेस्सरी पेट दुख्थ्यो, घरि हराउँथ्यो । पेट दुख्दा एउटा कुनामा एक्लै सुतिरहनुपथ्र्याे ।’
छैटौँ पटक महिनावारी हुँदा भने उनी अर्काको घरमा लुक्न जानु परेन । तर, तीन दिनसम्म घरकै कुनामा कहीँ केही नछोइ बस्नुपर्ने बाध्यता उनले भोग्नुपर्यो । दैलेखको आठविस नगरपालिका–२ कि भावना उपाध्यायको पनि उस्तै अनुभव छ । उनले पनि घरमा भएका पुरुषलाई अनुहार देखाउन नहुने भन्दै ७ दिनसम्म आफन्तको घरमा लुक्न जानुप¥यो । ‘झुक्केर पनि आकाशतिर सूर्यलाई हेर्न पनि नहुने रे । यी सब कुराहरूले म महिनावारी भएको होइन, केही अपराध गरेर सजाय काटेको जस्तो अनुभव भयो,’ उनले दुखेसो पोखिन् ।
सरुपा र भावना त एक प्रतिनिधि पात्र मात्रै हुन । परम्परागत सोचमा परिवर्तन आउन नसक्दा कर्णाली तथा सुदुरपश्चिम प्रदेशका विभिन्न ठाउँमा अदृश्य रूपमा छाउप्रथाले निरन्तरता पाइरहेको छ ।
छाउगोठहरु भत्काइए पनि पुन छाउगोठमै
गतवर्ष पुस महिनाबाट सरकारले कर्णाली र सुदुरपश्चिम प्रदेशका १९ जिल्लामा छाउगोठ भत्काउने अभियान चलायो । उक्त अभियानबाट करिब ९ हजार २ सय १० वटा छाउगोठहरू गृह मन्त्रालयलको आदेशमा भत्काइयो । छाउगोठहरु भत्काइए पनि पुन छाउगोठमै बस्न थालेका छन् ।
रजस्वला हुँदा छाउ गोठमा बस्नेलाई कारबाही गर्ने कानुनमा प्रस्ट उल्लेख भएपनि कार्यान्वयन भने हुन सकेको छैन । फेरि पहिलेका छाउगोठ पनि धमाधम ठडिन थालेका छन् । महिनावारी भएका बेला बस्न भनेर बनाइएका छाउगोठमा बस्ने क्रममा महिला एवं किशोरीले वर्षेनी ज्यान गुमाउन थालेपछि त्यस्तो अभियान सुरु गरिएको थियो ।
स्थानीय तहका जनप्रतिनिधिको अगुवाइ र प्रहरीको बलमा छाउगोठ भत्काएर छाउगोठ मुक्त घोषणा गरिएपनि महिलाहरू भने महिनावारी हुँदा फेरि गाईभैँसीको गोठ र बाख्राखोरमा बस्न थालेका छन् ।
सरकारले छाउगोठ भत्काए पनि घरभित्र बस्न मनले मान्दैन डर लाग्छ दैलेख आठविस नगरपालिकाकी एक महिलाले भनिन्, ‘घरभित्रै बस्ने मन भएपनि देउता रिसाउने भन्दै बूढाबूढी (सासु)ससुरा)ले बस्नै दिँदैनन । त्यसैले महिनावारी हुँदा पाँचदिन बाध्य भएर छाउगोठमै नबसी हुँदैन ।’
छाउगोठ भत्काउदा उल्टो प्रभाव
पहिलेको भन्दा छाउपडी र छाउगोठमा बस्ने प्रचलन कम हुँदै गएको आठबिस नगरपालिका उपप्रमुख दिपा बोहोरा बताउँछिन् । ‘पहिले सरकारले छाउगोठ भत्काउँदा विना पूर्वाधार मानसिक रुपमा तनाव दिएर भत्काउने भयो, त्यसले गर्दा उल्टो प्रभाव प¥यो,’ उनले भनिन्, ‘जसले गर्दा झाडी र खुल्ला ठाउँमै बस्ने भयो ।’
‘छाउगोठ भत्काउने नै भए पहिले मनको डर भत्काउनुपर्छ, मनको डर नभत्काउन्जलसम्म छाउगोठ र छाउपडी अन्त्य हुन मुस्किल छ,’ उनले भनिन्, ‘सामाजिक मूल्य मान्यताका कारण पनि एक साथीले अर्को साथीलाई डर देखाइदिनाले गलत सन्देश गएको छ ।’
दण्डनीय कानुनले रोक्न नसकेको छाउपडी प्रथा
सन् २०१८ को अगष्टमा नेपालले छाउपडीलाई गैरकानुनी घोषणा गरेको थियो । त्यसपछि छाउगोठ भत्काउने अभियान पनि थालियो । न त छाउगोठ भत्किए न त छाउपडी र मनको डर ।
राष्ट्रिय मानव अधिकार आयोगको तथ्यांक अनुसार, २०६२ यता छाउगोठमा कम्तीमा १५ जनाले ज्यान गुमाइसकेका छन् । मुलुकी अपराध (संहिता) ऐनको दफा १६८ (३)ले रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्न नहुने उल्लेख गरिएको छ ।
यस्तो कसुर गरेको ठहर भए तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुन सक्ने व्यवस्था नयाँ कानुनले गरेको छ । कानुनमा उल्लेख गरिए पनि कानुनी रुपमा पालना हुन नसक्दा कागजमै सीमित छ ।
महिनावारी हुने कुरालाई सामान्य रूपमा लिएर छाउप्रथालाई महिला आफैँले छाड्न सकिरहेका छैनन् । छाउगोठको अन्त्य गर्न विभिन्न समयमा विकट गाउँमा रहेको छाउगोठ भत्काउने वर्षेनी अभियान सञ्चालन गरिए तर, शहरमै रहेको यस्ता छाउकोठा भत्किन सकेका छैनन् ।
प्रत्येक पटक महिनावारी हुँदा ५ दिनसम्म घरमा छुट्टै बस्नुपर्ने वाध्यता थियो भने अहिले गाउँघरमा दुईदिन थपेर सात दिनसम्म छाउगोठमा बस्नुपर्ने बाध्यता छ । जसका प्रमुख कारण यौनहिंसा र सर्पदंश अर्थात् सर्पले टोक्ने समस्या छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया