समाज

मोरङ मालपोतभित्र खैनी, चुरोट र गुट्खा खान रोक

इकागज |
पुस १३, २०७८ मंगलबार १४:३७ बजे

विराटनगर - दैनिक तीन सय बढि सेवाग्राहीको चाप रहने जिल्ला मालपोत कार्यालय मोरङको परिसरभित्र खैनी चुरोट र गुट्खा खान रोक लगाइएको छ । कार्यालय समयमा आउने सेवाग्राही लगायतका व्यक्तिहरुले खैनी चुरोट र गुट्खा खाएर खोललाई डष्टबिनमा समेत नफालेको भन्दै परिसरभित्र खैनी गुट्खा खान नै रोक लगाइएको जनाइएको छ ।

कार्यालयको गेट र परिसरमा खटिने सुरक्षाकर्मीहरुको सहायता लिएर एकसातासम्म सचेतनामुलक अभियान चलाइने र त्यसपछि पनि खैनी चुरोट गुट्खा खाएर फोहोर गरेमा कारवाही अघि बढाइने जिल्ला मालपोत कार्यालय मोरङका प्रमुख लोकबहादुर भण्डारीले जानकारी दिए ।


उनले सेवाग्राहीमुखी कार्यालय बनाउने अभियान अन्तरगत जिल्ला मालपोत कार्यालय विशेष सरसफाई अभियान समेत संचालन गरिएको बताए । भूमि व्यवस्थापन तथा अभिलेख विभाग र जिल्ला मालपोत कार्यालय मोरङबीच भएको कार्यसम्पादन सम्झौता बमोजिम प्रत्येक महिनामा एक पटक कर्मचारीहरुकै प्रत्यक्ष संलग्नतामा कार्यालयको सरसफाई सुरु गरिएको बताए । 

सेवाग्राहीले कार्यालय परिसरमा कागज र प्लाष्टिकजन्य फोहोर उत्पादन गर्ने र कार्यालय परिसर दुर्गन्धित हुने भएकोले मंगलबारदेखि नियमित सरसफाई अभियान संचालन गरिएको उनले बताए । मालपोत कार्यालयप्रति सर्वसाधारण र सेवाग्राहीको हेर्ने दृष्टिकोण बदल्नका लागि सेवाग्राहीमुखि स्मार्ट कार्यालय बनाउने योजना अनुसार लेखापढी कानुन व्यवसायीहरु समेतको संलग्नतामा सुधारका काम गरिरहेको कार्यालय प्रमुख भण्डारीले जानकारी दिए ।
 


Author

थप समाचार
x