समाज

रातिदेखि हिमपात भएपछि भिमदत्त राजमार्ग राजमार्ग अवरुद्ध

इकागज |
पुस १४, २०७८ बुधबार ८:१३ बजे

कैलाली - मंगलबार रातिदेखि परेको पानीका कारण सुदूरपश्चिमका उच्च हिमाली भेगमा हिमपात भएको छ । घना जंगल एवं उच्च पहाडी भेगमा हिमपात भएपछि अत्याधिक चिसो बढेको हो । सुदुरपश्चिमका डडेल्धुरालगायत बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला जिल्लाका उच्च हिमाली भेगमा हिमपात सुरु भएसँगै चिसो बढेको हो ।

सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने एक मात्रै सडक भिमदत्त राजमार्गको हगुल्टे, शाहुखर्क क्षेत्रमा रातिदेखि हिमपात सुरु भएपछि राजमार्ग अवरुद्ध भएको छ । सवारीका साधन राजमार्गमै रोकिएका कारण त्यसमा सवार यात्रुहरूलाई निकै समस्या भएको छ । भिमदत्त राजमार्गको साहुखर्क र हगुल्टेमा बुधबार बिहानै देखि सडक अवरुद्ध भएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । उनले अबरुद्ध सडक सुचारू गर्न जेसिबी पठाइएको बताए ।


दार्चुलाको हिमाली क्षेत्र ब्यास गाउँपालिकामा भारी हिमपात भएको छ । मंगलबार रातिदेखि वर्षा र हिमपात हुँदा गाउँबस्तीसम्म हिउँ पुगेको सम्पाल माध्यमिक विद्यालय सुन्सेरा ब्यासका शिक्षक पदमराज भट्टले जानकारी दिए । ब्यास गाउँपालिकाको कार्यालयभन्दा तल्लो क्षेत्रसम्म हिउँ पुगेको छ । हिउँ निरन्तर परिरहेकाे उनले बताए । हिमपातले चिसो अत्यधिक बढेपछि जनजिवन कष्टकर बनेको छ ।

ब्यास गाउँपालिका-३ को सीना तुसरपानी, २ को राप्ला, दुम्लीङ, ४ को सुन्सेरा, डोकट, ५ को धौलाकोट र ६ को हुती लगायतका बस्तीमा हिउँ परेको छ । 
कालापानी नजिकको क्षेत्र वडा नम्बर १ छाङरु र तिंकरमा भारी हिमपात भएको छ । हिउँदमा भारी हिमपात हुने छाङरु र तिंकरका स्थानीय बासिन्दा मंसिर महिनामा नै दार्चुला सदरमुकाम खलंगा झरिसकेका छन् । तिंकर गाउँ हिउँदमा मानवविहीन हुने गरेको छ भने १२ किलोमिटर तल रहेको छाङरु गाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बाह्रैमहिना बस्ने गरेको छ । 

दार्चुलाका उच्च पहाडी क्षेत्रका बस्ती दुहुँ गाउँपालिकाको पिपलचौरी, हिकिला, मालिकार्जुनको न्वालपानी, शैल्यशिखरको बरमुडे लगायतका स्थानमा समेत हिमपात भएको छ ।


Author

थप समाचार
x