समाज

जताततै हिउँ नै हिउँ (फोटो फिचर)

इकागज |
पुस १४, २०७८ बुधबार ९:३२ बजे

काठमाडौँ- मंगलबार रातिदेखि देशका विभिन्न भूभागमा पानी परेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार वर्षासँगै पहाडी र उच्च हिमाली जिल्लामा हिमपात भएको छ । हिमाली क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । पुसमा पानी परेपछि चिसो पनि बढेको छ ।

चन्द्रागिरि हिमपात
काठमाडौँको चन्द्रागिरि डाँडामा हिमपात भएको छ । चन्द्रागिरिमा यो वर्षको पहिलो पटक हिमपात भएको हो । काठमाडौँ उपत्यकामा देशका अधिकांश भूभागमा बिहानैदेखि पानी परेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात भैरहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।


महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानमा दिनभरजसो नै वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भू–भागहरूका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावनासमेत रहेको छ। आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएको महाशाखाले जनाएको छ । महाशाखाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

दार्चुलाको ब्यासमा भारी हिमपात, जनजीवन कष्टकर
दार्चुलाको हिमाली क्षेत्र ब्यास गाउँपालिकामा भारी हिमपात भएको छ । मंगलबार रातिदेखि वर्षा र हिमपात हुँदा गाउँबस्तीसम्म हिउँ पुगेको सम्पाल माध्यमिक विद्यालय सुन्सेरा ब्यासका शिक्षक पदमराज भट्टले जानकारी दिए ।

ब्यास गाउँपालिकाको कार्यालयभन्दा तल्लो क्षेत्रसम्म हिउँ पुगेको छ । हिउँ निरन्तर परिरहेको उनले बताए । हिमपातले चिसो अत्यधिक बढेपछि जनजिवन कष्टकर बनेको छ ।

ब्यास गाउँपालिका-३ को सीना तुसरपानी, २ को राप्ला, दुम्लीङ, ४ को सुन्सेरा, डोकट, ५ को धौलाकोट र ६ को हुती लगायतका बस्तीमा हिउँ परेको छ । कालापानी नजिकको क्षेत्र वडा नम्बर १ छाङरु र तिंकरमा भारी हिमपात भएको छ । हिउँदमा भारी हिमपात हुने छाङरु र तिंकरका स्थानीय बासिन्दा मंसिर महिनामा नै दार्चुला सदरमुकाम खलंगा झरिसकेका छन् । तिंकर गाउँ हिउँदमा मानवविहीन हुने गरेको छ भने १२ किलोमिटर तल रहेको छाङरु गाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बाह्रैमहिना बस्ने गरेको छ । दार्चुलाका उच्च पहाडी क्षेत्रका बस्ती दुहुँ गाउँपालिकाको पिपलचौरी, हिकिला, मालिकार्जुनको न्वालपानी, शैल्यशिखरको बरमुडे लगायतका स्थानमा समेत हिमपात भएको छ ।

रातिदेखि हिमपात भएपछि भिमदत्त राजमार्ग राजमार्ग अवरुद्ध
मंगलबार रातिदेखि परेको पानीका कारण सुदूरपश्चिमका उच्च हिमाली भेगमा हिमपात भएको छ । घना जंगल एवं उच्च पहाडी भेगमा हिमपात भएपछि अत्याधिक चिसो बढेको हो । सुदुरपश्चिमका डडेल्धुरालगायत बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला जिल्लाका उच्च हिमाली भेगमा हिमपात सुरु भएसँगै चिसो बढेको हो ।

सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने एक मात्रै सडक भिमदत्त राजमार्गको हगुल्टे, शाहुखर्क क्षेत्रमा रातिदेखि हिमपात सुरु भएपछि राजमार्ग अवरुद्ध भएको छ । सवारीका साधन राजमार्गमै रोकिएका कारण त्यसमा सवार यात्रुहरूलाई निकै समस्या भएको छ । भिमदत्त राजमार्गको साहुखर्क र हगुल्टेमा बुधबार बिहानै देखि सडक अवरुद्ध भएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । उनले अबरुद्ध सडक सुचारू गर्न जेसिबी पठाइएको बताए । 

जुम्लामा हिमपात, चिसोबाट बच्‍न प्रशासनको आग्रह
जुम्लामा मंगलबार रातिबाट हिमपात भएको छ । हिमपातका कारण अत्यधिक चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ।  जुम्ला प्रशासनले  चिसोबाट बच्न न्यानो भएर बस्न आग्रह गरेको छ ।

जाडोका कारण जनजीवन कष्टकर हुने हुँदा झोलिलो खानेकुरा खान,अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँले बताइन् ।

'बालबालिका र बृद्धबृद्धालाई  न्यानो तथा  शरीर ढाक्ने गरी लुगा लगाउन सार्वजानिक सूचनामार्फत अनुरोध   गरिएको छ,' उनले भनिन् । प्रशासनले  कुनै घटना भएमा तत्काल नजिकैको प्रहरी चौकीमा  खबर गर्न पनि भनेको छ ।

गोरखाको लाप्राकमा हिमपात
गोरखाको लाप्राकमा हिमपात भएको छ । मंगलबार रातिदेखि लाप्राकमा हिमपात भएको हो ।  हिमपातका कारण अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । 

टिएमजे क्षेत्रमा बाक्लो हिमपात, जनजीवन प्रभावित
तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमावर्ती क्षेत्र तिनजुरे,मिल्के र जलजले क्षेत्रमा बाक्लो हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ । मंगलबार राति वर्षासँगै हिउँका कारण जनजीवन प्रभावित बनेको हो । 

खासगरी हिउँका कारण बालबालिका र जेष्ठ नागरिक मारमा परेका छन् । यहाँका डाँडाकाँडा हिउँले ढाकेर सेताम्यै बनेका छन् भने करिब चार फिटसम्म हिउँ जमेको टुटेदेउरालीका श्री कार्कीले बताए ।

उनका अनुसार चित्रे, बसन्तपुर, देउराली, तिनजुरे पाथीभरा, पाँचपोखरी, मंगलबारे, चौकी गुफा लगायत उच्च लेकाली क्षेत्रमा बाक्लो हिउँ परिरहेको छ ।

‘बाक्लो हिउँ परिरहेकाले यहाँका नागरिकलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । पशुचौपया चरनमा नै कति हराएका छन् । सडकमा सवारीसाधन गुड्न समेत समस्या हुँदा यस क्षेत्रमा आएका पर्यटकहरु यात्रा गर्न झनै समस्या भएको छ,’ उनले भने ।

घरको छानादेखि सडक, वनजंगल हिँउले ढाकेर सेताम्यै बनेका छन् । हिउँका कारण अत्यधिक चिसो बढेको छ । चिसोका कारण नागरिकलाई हिँडडुल गर्न समस्या भएको छ । 

यहाँका नागरिक आगो तापेर घरमै बस्नुको विकल्प नरहेकाे स्थानीय छिरिङ शेर्पाले बताए । यस क्षेत्रमा हिउँ पर्दा छिमेकी जिल्ला र तराईका विभिन्न जिल्लाबाट पर्यटक आउने गरेका छन् । तर,हिउँ परिरहेकोले यात्रा गर्न समस्या भएको छ ।

खासगरी यहाँ पर्यटक हिउँ खेल्न र गुराँस फुल्ने सिजनमा गुराँसले रंगिएको वनमा रमाउने गरेका छन् । गुराँसको राजधानीको रुपमा चिनिएको तिनजुरे,मिल्के र जलजले पर्यटकीय रुपमा परिचित नाम हो ।

बैतडीमा यो वर्ष पहिलो पटक हिमपात, गहुँबाली सप्रिने आशा
बैतडीका उच्च लेकाली भेगमा भारी हिमपात भएको छ । पाटन नगरपालिकाको खोड्पे, अनारखोली, सुर्नया गाउँपालिकाको ढोल्यामोड, श्रीभाबर, सतबाँझ, बाँजपानी, सिगास गाउँपालिकाको गर्जे, बुरुसे, चौखाम लगायतका ठाउँमा मंगलबार राति देखि हिमपात भइरहेको हो । 

हिमपात अहिले पनि जारी छ । हिउँ पर्न थालेसँगै चिसो बढेकाले सावधानी अपनाउन स्वास्थ्यकर्मीले सुझाएका छन् । चिसोले बालबालिका तथा वृद्धवृद्धालाई बढी असर गर्ने भएकाले ख्याल गर्न स्वास्थ्यकर्मीले सुझाएका हुन् ।

वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन् । यो वर्ष समयमै हिउँ परेकाले गहुँ बाली सप्रिने आशा पलाएकाे पाटन नगरपालिका-९ का किसान नरबहादुर भण्डारीले बताए । बैतडीमा यो वर्ष पहिलो पटक हिमपात भएको हो ।

दामनमा हिमपात, सडक अबरुद्ध
मकवानपुरको पर्यटकीय क्षेत्र थाहा नगरपालिकाको सिमभञ्याङ र दामन क्षेत्रमा बिहानैबाट निरन्तर हिमपात हुँदा हेटौंडा-काठमाण्डौ जोड्ने पुरानो सडकमार्ग त्रिभुवन राजपथ अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता राजकुमार सापकोटाले बिहानैबाट सुरु भएको बाक्लो हिमपातले सडकमार्गको सिमभञ्याङ र दामन क्षेत्रको सडक पूर्ण रुपमा अवरुद्ध रहेको जानकारी दिए ।

थाहा नगरपालिकासँग समन्वय गरेर सडक खुलाउने तयारी भैरहेको छ । चिसो बढेसँगै हेटौंडाका बिद्यालय आज बन्द हेटौंडा उपमहानगरपालिकाले ह्वात्तै चिसो बढेको भन्दै आज एक दिन विद्यालयको पठनपाठन बन्द गर्ने भएको छ । गएरातिबाट हेटौंडामा निरन्तर बर्षा भैरहेको छ । वर्षाले चिसो ह्वात्तै बढेको भन्दै विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै आज नगर भित्रको विद्यालयको पठनपाठन बन्द गर्न लागिएको नगर शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालले जानकारी दिए ।


Author

थप समाचार
x