समाज

हेलिकोप्टरबाट झर्ने नेतालाई रातो कार्पेट, भविष्यका कर्णधार चिसो भुइँमा

शौचालय नहुँदा जंगलतिर दुगुर्नुपर्ने बाध्यता

जितेन्द्र थापा |
पुस १८, २०७८ आइतबार ९:३४ बजे

सुर्खेत – नेपालमा उच्च ओहदाका मानिसहरू हेलिकोप्टरबाट झर्दा रातो कार्पेट ओछ्याइन्छ । तर, देशका भविष्य मानिने विद्यार्थीहरूका लागि सामान्य बिछ्याउने वस्तुसम्म हुँदैन । त्यस्तै समस्या छ, सुर्खेतको बराहताल गाउँपालिका–६ को जनजागरण प्राथमिक विद्यालयमा ।

उक्त विद्यालयमा बराहताल– इखेनीकी छ वर्षीय हस्तना विक एक कक्षामा पढ्छिन् । उनी इखेनीस्थित श्रीजनजागरण प्राथमिक विद्यालयमा एक कक्षामा पढ्छिन् । उनका साथमा न त झोला छ न त न्यानो कपडा नै। चिसोले कापिरहेकी थिएन् । 


उनी मात्र होइन अर्का विद्यार्थी लोकेन्द्र विकको पनि अवस्था उस्तै छ । उनीहरू दुईजना एक प्रतिनिधि पात्र मात्र हुन् । विद्यालयमा अध्ययनरत १०४ विद्यार्थीमध्ये अधिकांशको अवस्था उनी लोकेन्द्र र हस्तनाको जस्तै छ ।

भेरीको छेउमै रहेको यो विद्यालयमा यहाँका विद्यार्थी विभिन्न समस्या झेल्दै आएका छन् । यहाँका विद्यार्थीका लागि न्यानो लुगा कपडा र झोला त परकै कुरा भए । उनीहरूसँग लगाउने जुत्ता–चप्पल समेत छैनन् ।

भेरी किनारका वनक्षेत्र फडानी गरी ५० परिवारलाई तत्कालीन विद्रोही माओवादीले २०६२ मा बसाएको थियो । यातायात, विद्युत, विद्यालय, खानेपानी, सिचाइँलगायतका सुविधाबाट विमुख इखेनी बस्तीले गाउँमा खानेपानी पाए पनि विद्यालयको खानेपानी समस्या भने ज्युँकात्युँ छ । विद्यालयमा खानेपानी धारा बनाउन भने पनि वडा कार्यालयले वास्ता नगरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष उज्वल कामी बताउँछन् । 

शिक्षक अपुग
श्री जनजागरण प्राथमिक विद्यालयमा कक्षा पाँचसम्म पढाइ हुन्छ । त्यसपछि थप अध्ययन गर्न चेपाङ पुग्छन् । कक्षा पाँचसम्म अध्ययन हुने गरे पनि शिक्षक अपुगका कारण पठनपाठनमा समस्या भएको विद्यालयका शिक्षक रमेश नामजाली बताउँछन् । 

२०६५ सालमा स्थापित श्रीजनजागरण प्राथमिक विद्यालयमा दुईजना शिक्षकको दरबन्दी छ । त्यसमा पनि एक पद खालि छ । स्थानीय शिक्षक राख्न विद्यालयसँग स्रोत छैन । विद्यालयमा हाल एकजना दरबन्दी, एकजना स्थानीय स्रोत, एकजना राहत, एकजना करारसहित पाँचजना शिक्षक छन् ।

शौचालय चाहिँ जंगल
विद्यालयमा शौचालय र पानी नहुँदा विद्यार्थीहरू जंगल दुगुर्नुपर्ने वाध्यता छ । विद्यालयका भवन पनि जीर्ण छन् । शौचालय पनि जीर्ण हुँदा विद्यार्थीहरू शौचालय नगएर जंगलतिर दुगुर्नुपर्ने बाध्यता रहेको शिक्षक नामजाली बताउँछन् । ‘विद्यालयमा शौचालय र पानी नै हुँदैन’ उनले भने, ‘शौचालय पनि जीर्ण छ । विद्यार्थी जान डराउँछन् । जस्का कारण शौचको लागि जंगल जानुपर्ने बाध्यता छ ।’

‘विद्यालयको स्रोतबाट विद्यालयमा शिक्षकसम्म छैनन्,’ उनले भने, ‘बेञ्च डेस्क किनेर कसरी राख्नु ? हाम्रा नेताज्यूका कानमा कसले सुनाइदेला ? तपाईलाई हेलिकप्टरबाट झर्दा रातो कार्पेट चाहिन्छ । यता देशको भविष्य पढ्ने बेला ओछ्याउने कार्पेट नपाएर चिसो ठाउँमा बसेर पढ्छन् ।’

विद्यार्थी अभिभावकसँगै भारत जान्छन् 
यो बस्तीका सबैजसो परिवार भारत नगए चुलो बल्दैन । अत्यधिक गरिबीको चपेटामा रहेको यहाँको विद्यालयमा पर्याप्तरूपमा भौतिक पूर्वाधारको सामाग्रीबाट बञ्चित छन् । पर्याप्तरूपमा बस्ने डेस्क बेन्चहरू छैनन् । विद्यार्थीहरू चार वर्षअघिको च्यातिएर प्वाल परेको कार्पेटमा बस्नुपर्ने बाध्यता रहेको विद्यालयका शिक्षक नामजाली बताउँछन् ।

इखेनी बस्तीका एकसय चार विद्यार्थी अध्यनरत छन् । घरको आर्थिक अवस्था कमजोर भएकै कारण ३० प्रतिशत बालबालिका भारत जाने गरेको शिक्षक नामजाली बताउँछन् । ‘घरको आर्थिक अवस्था कमजोर भएका कारण अभिभावकसँगै भारत जाने गर्छन्,’ उनले भने, ‘एकसय चार जनामध्ये ८५ जना मात्र विद्यालयमा उपस्थित हुन्छन् । छ महिना घर–देश छ महिना परदेश जाने क्रम चलिनै रहन्छ ।’


Author

थप समाचार
x