समाज

महिला सेलमा पत्‍नी पीडितहरु

‘विदेशबाट कमाएको पैसा श्रीमतीले जाँडरक्सीमा सकिन्’

सृजना खड्का |
पुस २०, २०७७ सोमवार ७:३५ बजे

काठमाडौँ : कालिमाटीको महिला सेल भन्‍नेबित्तिकै धेरैले महिला तथा बालबालिकालाई सेवा दिने केन्द्र भन्‍ने बुझ्‍छन् । जहाँ महिलाहरु घरेलु हिंसादेखि बलात्कारसम्मका केस लिएर जान्छन् । तर, अहिले महिला सेलमा पुरुषहरु पनि आउन थालेका छन् । उनीहरु अरु कसैबाट नभएर आफ्‍नै पत्‍नीबाट पीडित भएर महिला तथा बालबालिका सेवा केन्द्र (महिला सेल) धाउन थालेका हुन् । 

०००
केही दिन पहिला रमेश (नाम परिवर्तन) ‘पत्‍नीबाट पीडित भएँ’ भन्दै महिला सेल आए । पत्‍नीले जाँडरक्सी खाएर कमाएको पैसा उडाएको उनको गुनासो थियो । रमेश दुई वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए । पत्‍नीले जाँडरक्सी खाएर दुई छोराछोरीको बिचल्ली पारेको खबर उनलार्ई आफन्तले सुनाए । खबर सुन्‍नेबित्तिकै केही समयअघि उनी स्वदेश फर्किए ।


स्वदेश फर्किएर श्रीमतीलाई सुधार्न सकिएला भन्‍ने उनले सोचेका थिए । तर, विदेशमा कमाएर पठाएको पैसा सबै जाँडरक्सीमा उडाएको थाहा पाएपछि भने रमेशको मन भाँचियो । छोराछोरीको बिचल्ली हेरिसाध्य थिएन । उजुरीमा रमेशले श्रीमतीले जाँड खाएर होहल्ला गरेको, कमाएको पैसा उडाएको र छोराछोरीको बेवास्ता गरेको उल्लेख गरेका छन् ।

०००
आइतबार काठमाडौँ, बानेश्वरका अनुपम (नाम परिवर्तन) प्रहरी निरीक्षक कोपिला चुडालसँग गुनासो पोखिरहेका थिए । अनुपमको बिहे भएको दुई वर्ष भयो । मंसिर ३० गते उनको दोस्रो विवाहको वार्षिकोत्सव थियो । त्यसको एक साता पहिला उनकी पत्‍नी माइत गइन् । सामान्य झैंझगडामा माइत गएकी पत्‍नीसँग उनको भेट तीन हप्तापछि एकैचोटी महिला सेलमा भयो । जुन उनले सपनामा समेत सोचेका थिएनन् ।

‘रिसाएर माइत गएको तीन हप्ता भएको थियो,’ अनुपमले भने, ‘मैले म्यासेज गरेर ‘घर आऊ’ भनेको भन्यै थिएँ । तर, एकैचोटी महिला सेलबाट फोन आयो । म त छाँगाबाट खसेझैँ भएँ ।’ महिला सेलको उजुरीमा उनकी पत्‍नीले भनेकी छिन्- ‘कुटपिट गर्‍यो, दाइजो माग्यो, परस्त्रीसँग लागेर बेवास्ता गर्‍यो ।’

यी सबै आरोप झूटा भएको अनुपमको दाबी छ । केही दिनअघि महिला सेलमै पत्‍नीले अनुपमलाई सबैका अगाडि थप्पड हानिन् । ‘यस्तो व्यवहार मैले धेरै सहेँ,’ अनुपमले भने, ‘उनको र मेरो उमेर ग्याप भएकाले कुरा नमिलेको होला भनेर सहेर बसे । अब त अत्याचारै भैसक्यो ।’

अनुपम ४० वर्षका भए । उनकी श्रीमती ३० लागिन् । पत्‍नीको उजुरीपछि उनी दैनिक तारेखमा महिला सेल धाइरहेका छन् । ‘मैले केही गल्ती नगर्दा पनि यो सजाय भोग्‍नु परेको छ,’ उनले भने, ‘जीवनमा कहिल्यै प्रहरी चौकी नआएको मान्छे यसरी दिनदिनै प्रहरीमा धाउनुपर्दा मर्नु र बाँच्‍नु भएको छ ।’

०००
कोसिस (नाम परिवर्तन) केही दिनअघि महिला सेलमा पत्‍नीविरुद्ध उजुरी लिएर आए । उनी र उनकी श्रीमती दुबैजना डाक्टर हुन् । उनीहरुका १० वर्षिय छोरा छन् । बिहे गर्दा उनकी पत्‍नी आइएस्सी पढ्दै थिइन् । कोसिसले उनलाई डाक्टर पढाए । जीवनको जस्तोसुकै कठिन परिस्थितिमा साथ दिए ।

दुवैजनाको वैवाहिक सम्बन्ध राम्रै चल्दै थियो । तर, एकदिन कोसिसले पत्‍नीको सम्बन्ध अन्यत्र रहेको थाहा पाए । विवाहेत्तर सम्बन्धका कारण उनकी पत्‍नी विस्तारै टाढिदै गइन् । कोसिसले पत्‍नीलाई सम्झाउन हर प्रयास गरे । छोराको भविष्यलाई हेरेर भए पनि आफूबाट टाढा नहुन आग्रह गरे । तर, उनी मानिनन् । महिला सेलसम्म उनीहरु आइपुगे । उनीहरु सम्बन्ध विच्छेदको अन्तिम बिन्दुमा छन् । 
  
पुसमा मात्रै १० जना पत्‍नी पीडित पुरुषले दिए उजुरी 
पुस महिनामा अहिलेसम्म (१९ दिनमा) पत्‍नीबाट पीडित भएको भन्दै १० जना पुरुषले महिला सेलमा उजुरी दिएका छन् । यो आर्थिक वर्ष अर्थात् ६ महिनाको अवधिमा ५० जना पुरुष पत्‍नीबाट पीडित भएको उजुरी महिला सेलमा लिएर आएका छन् ।

साउनमा १३, भदौमा ८, असोजमा ५, कार्तिकमा ६, मंसिरमा ८ र पुसमा १० गरी ५० जनाले महिला सेलमा आफ्नो उजुरी दिएका छन् । सेलकी प्रहरी निरीक्षक कोपिला चुडालले महिला सेल भन्‍ने बित्तिकै प्रायजसो महिला मात्रै पीडित हुन्‍छन् भन्‍ने सोचिए पनि पछिल्लो समय पुरुषहरु पनि महिलाबाट प्रताडित भएर आउने गरेको बताउँछिन् । ‘पहिला धेरैजसो महिलाका मुद्दाहरु आउथे,’ उनी भन्‍छिन्, ‘पछिल्लो समय पत्‍नीबाट पीडित हुने पुरुषको संख्या पनि बढ्दै गइरहेको छ ।’

प्रहरी निरीक्षक चुडाल पत्‍नीबाट पीडित हुने कारणहरुमा वैदेशिक रोजगार, विवाहेत्तर सम्बन्ध आदिलाई मान्‍छिन् । ‘वैदेशिक रोजगारीमा गएको पैसा हिनामिना गर्नेदेखि पत्‍नीले विवाहेत्तर सम्बन्‍ध राखेर पीडित भएका पुरुषहरु आउँछन्,’ उनी भन्‍छिन् ।


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x