मसलाको अनुमति लिएर चुकको व्यापार
पोखरा– बजारमा एउटा खाद्यान्नको अनुमति लिएर अन्य सामान बिक्री गरेको हल्ला धेरै चल्यो । जनताका गुनासो उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकीमा पुग्यो । अखाद्यका बिषयमा आएका गुनासा र सुचनाका आधारमा निर्देशनालयको नेतृत्वमा एउटा टोली मंगलबार पोखराको बजार अनुगमनमा निस्कियो ।
अनुगमन टिममा निर्देशनालयसँगै जिल्ला प्रशासन, जिल्ला प्रहरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र उपभोक्ता मञ्च रहेको थियो । अनुगमन टोली सुरुमै शंकाको घेरामा रहेको पोखरा ५ प्रस्र्याङको समिर मसला सप्लायर्समा पुग्यो । त्यहाँ पुग्दा टोलीले सप्लायर्समा खाद्यान्न राखेको स्थानमै फोहरमैला देख्यो । साथै कागजपत्र पनि भेटेन ।
बोर्डमा भने मसला सप्लायर्स लेखिएको थियो । तर त्यहाँ टोलीले मसला कम चुक बढी मात्रामा भेट्यो । उक्त सप्लायर्समा विन्ध्यवासिनी, ज्वालामुखी, पहाडको चुकलगायत नाम गरेको ५ कम्पनीका चुकको बट्टा फेला पा¥यो । ती पाचै कम्पनीको ट्यागमा ठेगाना अनि दर्ता नम्बर भेटेन ।
यी सबै कारणले त्यो पसल अनुगमन टोलीको शंकाको घेरामा परेको उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष तथा बजार अनुगमन समिति गण्डकीका सदस्य कपिलनाथ कोईरालाले जानकारी दिए । ‘हामीले मसला सप्लायर्समा चुकको बोतल भेट्यौ,’ उनले भने, ‘त्यसमा लेभल मात्र लगाईएको थियो, त्यसमा उत्पादन पोखरा नेपाल मात्र भनेको छ, कुनै सम्पर्क नम्बर, ठेगना अनि दर्ता पनि छैन ।’
बिक्रेतालाई कुन स्थानबाट आएको हो? भन्ने बुझ्दा उसले आफूले चुक खरिद गर्ने स्थान देखाएको उनले बताए । समिर मसला सप्लायर्सलाई ५ हजार जरिवाना गरेर ३ दिन भित्र कागजपत्रसहित निर्देशनालयमा उपस्थिगत हुन निर्देशन दिएको उद्योग, वाणिज्य उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेशका निर्देशक नारायण आचार्यले बताए । टोली सिधैं समिर सप्लायर्सले चुक खरिद गर्ने स्थानमा पुग्यो । प्रस्र्याङ मै रहेको सो पसलमा पुग्दा न बोर्ड भेट्यो न इजाजत । त्यही पसलमा भित्र गएर निरीक्षण गर्दा ५२.६ किलोको २७ ड्रम चुक फेला प¥यो । झण्डै १ हजार ४ सय २० लिटर चुक भर्न ठिक्क पारेको अवस्थामा भेटिएको कोइरालाले जानकारी दिए ।
मंलगबार भेटिएका गुणस्तर हो या होईन भनेर एकिन गर्न काठमाडौं ल्याबमा पठाईने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका निमित्त प्रमुख शिवजी बरालले बताए । ‘अहिले बजारमा साईटिक एसिडमा कागती निबुवा हालेर अमिलो बनाएको भेटिन्छ त्यो खान पनि योग्य हुन्छ,’ उनले भने, ‘तर अझै कडा बनाउनका लागि सल्फ्यूरिक, नाईट्रिक एसिड मिसाएको छ की भन्ने आशंका छ ।’ यसको रिजल्ट आउन १० दिनसम्म लाग्ने उनको भनाई छ ।
उक्त पसलमा भएको चुक प्रयोगशालाबाट अखाद्य एकिन भएमा सोही अनुसार कारबाही गरिने निर्देशक आचार्यको भनाई छ । ‘यदि अखाद्य रहेछ भने ५ हजार देखि ५ लाखसम्म जरिवाना हुन सक्छ,’ उनले भने, ‘उपभोक्ता संरक्षण ऐन २०७५ को दफाअनुसार कसुरको मात्रा हेरेर कारबाही हुन्छ ।’ सो पसललाई पनि खरिद वा बिक्रीको काजजात वा उद्योग भए उद्योगको प्रमाणपत्रसहित ३ दिन भित्रमा निर्देशनालयमा उपस्थित हुन निर्देशन दिएको उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया