समाज

सपनाहरू भेरीमा बगिगए, वशमा छैन आमाको मन

रुकुम घटनाका पीडित भन्छन्–‘छोराहरू बगेसरी न्याय नबगोस्’

सृजना खड्का |
पुस २१, २०७७ मंगलबार १६:२१ बजे

तस्बिरमा क्रमश: नवराजकी आमा उर्मिला बिक, गोविन्दकी आमा भीमकुमारी शाही, लोकेन्द्रकी आमा लक्ष्मी सुनार । तस्बिर : सरोज बैजू

काठमाडौँ : पुस १६ गते न्यायको ढोका ढकढकाउन जाजरकोटदेखि नवराज बिक र उनीसँगै मारिएका पाँच युवाका आमाबुबा काठमाडौँ आए । जिल्ला अदालत रुकुमले ६ जनालाई थुनामुक्त गरेपछि उनीहरू न्यायका लागि भौँतारिँदै काठमाडौँ आएका हुन् । 

काठमाडौँ आएर उनीहरूले न्याय नमरोस् भन्दै छोराहरूका निम्ति आवाज उठाए । माइतीघरमा धर्ना कसे । र, सोमबार पुनः जाजरकोट फर्किए । घटनामा मारिएका गोविन्द शाहीकी आमा भूमिकुमारी छोराका लागि न्यायको गुहार गर्दै पहिलो पटक काठमाडौँ आएकी थिइन् । ‘छोराको आयस्ता खाने बेलामा काख रित्तिएको छ,’ उनले गुनासो पोखिन्, ‘बलात्कारको केसमा हालिदिएको भए पनि बरु जेल गएर भेट्थ्यौँ, छोरा भन्थ्यौँ ।’ 


घटनामा मारिएका सबैलाई उनी आफ्ना मात्र नभएर देशका छोरा भन्छिन् । ‘ती देशका छोराहरूले जसरी भए पनि न्याय पाउनुपर्छ,’ उनले भनिन् । ‘हाम्रा छोराका हत्यारालाई किन एक–एक गर्दै निकालियो, त्यो बुझ्नका लागि आएका हौँ,’ भीमकुमारीले थपिन्,‘कहिल्यै नआएको ठाउँमा छोराहरूले न्याय पाऊन् भनेर आएका हौँ ।’ 
सन्दिप बिककी आमा सबिता बिकले न्याय नपाए बदला लिने बताइन् । ‘धमाधम थुनाबाट छोराका हत्याराहरू निस्किरहेका छन्,’ उनले भनिन्, ‘सरकारले हामीलाई हेरिदिनुपर्‍यो । न्याय पाएनौँ भने यसको बदला हामी अवश्य लिन्छाैँ ।’ 

केही नेताहरूले मृतक युवाहरू आफैँ भेरीमा हाम फालेर मरेका हुन् भनेका कुरा लोकेन्द्र सुनारकी आमा लक्ष्मीले सुनिन् । यो कुराले उनी निकै आक्रोशित छिन् । उनको मन वशमा छैन । ‘काठमाडौँमा बसेर उहाँहरूले हाम्रा छोराहरू भेरीमा हाम फरालेका हुन् भनेर कसरी थाहा पाउनुभयो ?’ उनले प्रश्न गरिन् ‘दुईतर्फी झडप भएको भनेर पनि केहीले भनेका रहेछन् । दुईतर्फी झडप भएको भए हाम्रा छोराहरू मारिए, घाइते भए । उनीहरू कसैलाई किन केही भएन ? 

नवराजकी आमा उर्मिलाको मन पनि वशमा छैन । ‘कुरा बुझ्दै नबुझी छोराहरूलाई आफै भेरीमा हाम फरालेको भनिएको छ,’ उनले भनिन्, ‘जिल्ला अदालतले भटाभट उनीहरूलाई छाड्न थाल्यो । अब सर्वोच्चले पनि के गर्ने हो थाहा छैन ।’ 

घटनामा मरिएका गणेश बुढामगरका बुवा पदम बहादुरको मन घटना सम्झिँदा कुडिन्छ । ढुङ्गामुडा बगाउने नदीले आफ्ना लक्काजवान छोराहरू बगाएसँगै न्याय पनि त्यसैगरी बग्ने हो कि भन्ने चिन्ता उनलाई छ । ‘छोराहरूलाई नदीले बगाए जसरी न्याय नबगोस्,’ उनले भने । 

गएको जेठ १० गते रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा नवराज बिक, गणेश बुढा मगर, टीकाराम नेपाली, लोकेन्द्र सुनार, गोविन्द शाही र सन्जिव बिकसहित ६ जनाको ज्यान गयो । नवराजले मल्ल थरकी युवतीलाई प्रेमविवाह गर्न १८ जना साथीहरू लिएर गएका थिए । १८ जनामध्ये १२ जनाले भने आफ्नो ज्यान जोगाउन सफल भएका थिए । 

ज्यान गुमाउनेका परिवारले हत्या गरिएको भनेर किटानी जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले ३४ जनालाई पक्राउ गरेको थियो । ६ महिनाअघि जिल्ला अदालत रुकुमले उनीहरूमध्ये २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । 

उनीहरूमध्ये जिल्ला अदालत रुकुम पश्चिम र उच्च अदालत सुर्खेतले छ जनालाई छाडेको छ । उच्च अदालतले थप ६ जनालाई छोड्ने विषयमा तीन न्यायाधीशबीच राय बाझिएपछि उक्त मुद्दा सर्वोच्च अदालतमा आइपुगेको अधिवक्ता त्रिलोकचन्द्र बिकले बताए । ‘जिल्ला र उच्च अदालतका निर्णय चित्त नबुझ्दा सर्वोच्चसम्म आउन पाइन्छ,’ अधिवक्ता बिकले भने,‘सर्वोच्चको आदेशपछि सम्बन्धित व्यक्तिहरूसँग बयान गरेर फैसला हुन्छ ।

विभिन्न तहबाट गठित छानबिन समितिले उक्त घटना जातीय भेदभाव र सामूहिक हत्या भएको निष्कर्ष निकालेका छन् । मुलुकी ऐन २०२० ले जातीय आधारमा छुवाछुतलाई दण्डनीय अपराध मानेको छ । छुवाछुत तथा भेदभाव (कसुर र सजाय) ऐन, २०६८ मा विवाह गर्ने तथा बरवधु छान्ने अधिकार छ । तर, पनि जातीय छुवाछुतका कारण हुने यस्ता घटनाहरू घटिरहेकै छन् । 


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x