समाज

प्रदूषणबारे भूषण

अब आउनुस् एकछिन हावाको कुरा गरौं

सृजना खड्का |
पुस २१, २०७७ मगलवार १९:१८ बजे

तस्बिर : रासस

काठमाडौँ : विश्‍वका प्रमुख सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौँ पहिलो नम्बरमा परेको छ । आईक्यू एअरका अनुसार काठमाडौँको वायुमण्डलमा मंगलबार (आज) बिहान एअर क्‍वालिटी इन्डेक्स (एक्यूआई) ४३७ पुगेको छ ।

प्रदूषणका हिसाबले दोस्रोमा किर्गिस्तानको बिस्केक, तेस्रोमा पाकिस्तानको कराँची, चौँथोमा चीनको वुहान, पाँचौंमा भियतनाममको हनोई रहेको आईक्यू एअरले उल्लेख गरेको छ । 


नेपालमा ३०० एक्युआई नाघेपछि जनस्वास्थ्यका हिसावले विपद्काल घोषणा गर्नुपर्छ । यस्तो बेला बालबालिका, ज्येष्ठ नागरिक र बिरामीहरूले विशेष सावधानी अपनाउनुपर्छ । 

यसै विषयमा वातावरणविद् भूषण तुलाधरसँग इकागजकी सृजना खड्काको संवादको सारः
काठमाडौँको एअर क्‍वालिटी इन्डेक्स (एक्युआई) बढ्नुमा प्रमुख तीन कारण देखिन्छन् । पहिलो कारण हो– मौसमले गर्दा उपत्यका बादलले ढाकिनु । काठमाडौँ कचौरा आकारको उपत्यका हो । अहिलेको मौसम र बादलले त्यो कचौरामा ढकनी लगाउने काम गरेको छ । जसको कारण प्रदूषण बाहिर जान पाएको छैन । 

दोस्रो, उपत्यकामा चिसो बढ्ने क्रम जारी छ । चिसो बढेकाले उपत्यकाभित्र धेरैले आगो तापिरहेका छन् । आगो ताप्‍न व्यवस्थापन गर्न नसकेका फोहोर बाल्ने गरेको पाइन्छ । त्यसले पनि प्रदूषण बढाउँछ । जसमा प्लास्टिक, टायरलगायतका धरेलु नगल्ने फोहोर पर्दछन् । 

तेस्रो, उपत्यकाबाहिर केही समयअघि आगलागी भएको थियो । उताको प्रदूषणको उपत्यकामा भित्रिएपछि त्यसको असर देखिएको हुन सक्छ ।

जाडो महिनामा पानी नपर्ने भएकाले साधारणतया प्रदूषणको मात्रा बढ्छ । पानी नपर्दा प्रदूषण हट्न पाउँदैन । जाडो महिनामा पहिलाका वर्षहरूमा पनि प्रदूषण नबढेको होइन । तर, यसरी नै प्रदूषण बढ्दै गयो भने भविष्यमा झनै प्रदूषण बढ्ने देखिन्छ । किनभने, काठमाडौँमा जनघनत्वसँगै प्रदूषणका स्रोतहरू पनि बढिरहेका छन् ।
 
वायु प्रदूषणले हाम्रो स्वास्थ्यमा असर गर्छ । तत्कालै आँखा पिरो हुने, श्‍वास फेर्न गाह्रो हुने जस्ता समस्या देखिन्छन् । त्यस्तै, दम वा श्‍वासप्रश्‍वासको समस्या भएकालाई जटिलता देखिन सक्छ । लामो समय यस्ता प्रदूषणमा बस्दा दीर्घकालिन असर गर्छ । यसले गर्भमा रहेको बच्चालाई समेत असर गर्छ । गर्भवती महिलाहरू झन यसको जोखिममा छन् । 

विभिन्‍न अध्ययनले कोभिड-१९ र वायु प्रदूषणबीच सम्बन्ध भएको निष्कर्ष निकालेका छन् । दुवैले श्‍वासप्रश्‍वास प्रणालीमा असर गर्छन् । तसर्थ श्‍वासप्रश्‍वास प्रणाली कमजोर भएकाहरूले विशेष ध्यान पुर्‍याउनुपर्छ । कोभिडको संक्रमणसँगै वातावरण प्रदूषणबाट पनि बच्‍ने उपाय गर्नुपर्छ ।
 
मन्त्रिपरिषद्ले पास गरेको सरकारको निर्णयमा काठमाडौँ उपत्यका वायु प्रदूषण कार्ययोजना छ । कार्ययोजनामा यस्तो अवस्था आइपरे फोहोर बाल्न नहुने । अनावश्यक रूपमा घरबाहिर निस्किन नहुने । संभव भएसम्म गाडी चलाउन नहुने । उद्योग तथा इटा भट्टा सञ्‍चालनमा रोक लगाउनुपर्ने जस्ता कुरा उल्लेख गरिएका छन् । यी कुराहरूलाई तुरुन्तै कार्यान्वयनमा ल्याउनुपर्छ । 

घरबाहिर नजानू भनेर भनिएपछि घरभित्र पनि प्रदूषण भएको हुन सक्छ । त्यसमा पनि सबैले विचार पुर्‍याउनुपर्छ । 

प्रदूषणबाट बच्‍न के गर्ने ?
प्रदूषणको स्रोतबारे जानकारी राखेर त्यसको वरपर जानुहुँदैन । 
–कोभिडबाट मात्रै नभइ प्रदूषणबाट बच्‍न मास्कको प्रयोग गर्नुपर्छ । 
–प्रदूषण हुने समय र स्थानको बारेमा थाहा पाइराख्नुपर्छ । 
–ट्राफिक जाम हुने, फोहोर वा आगो बाल्ने ठाउँबाट टाढा बस्नुपर्छ । 
–बिहानीको समयमा प्रदूषणको मात्रा बढ्छ । दिउँसो घट्छ । त्यसैले बिहानको समयमा मर्निङ वाक, सपिङ वा साइक्लिङ जानु हुँदैन । 
–कोभिडका कारण धेरैको घरबाटै काम गर्ने सुविधा भएकाले घरबाट बिना काम सकेसम्म बाहिर निस्कनु हुँदैन । 

प्रदूषण घटाउन के गर्ने ?
फोहोर जलाउने र आगो बाल्ने काम बन्द गर्नुपर्छ । 
–आफूले व्यवस्थापन गर्न नसकेका फोहोर नगरपालिकालाई दिनुपर्छ । 
–पुनः प्रयोग गर्न मिल्ने समानहरू प्रयोग गर्नुपर्छ ।
–मोटरसाइकल वा गाडीको बेला-बेला मर्मत गर्नुपर्छ । 
–सकेसम्म साइकल चढ्ने, हिँड्ने बानीको प्रवर्धन गर्नुपर्छ । 


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x