समाज

मधेस प्रदेशमा ओमिक्रोन फैलिए पनि छैन् सतर्कता

इकागज |
माघ ७, २०७८ शुक्रबार १७:१५ बजे

फाइल तस्वीर

जनकपुर – मधेस प्रदेशका विभिन्न जिल्लाहरुमा अत्याधिक भिड देखिएको छ । विभिन्न जिल्लाहरुमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमित भेटिए पनि स्थानीय तहले भने सतर्कतामा खासै ध्यान दिएकाे छैन ।

बजारमा भिडभाड अत्याधिक देखिएको छ भने सर्वसाधारणहरु स्वास्थ्य मापदण्ड अपनाउन छाडेका छन् । विनामास्क बजारमा सर्वसाधारणहरु आवतजावत गर्ने गरेका छन् भने भिडभाड समेत देखिएको छ । 


मधेश प्रदेशमा १४ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको स्वास्थ्य निर्देशनालय मधेस प्रदेशका निर्देशक विजय झाले जानकारी दिए । उनका अनुसार ५ सय २७ जना परिक्षण गर्दा १४ जनामा ओमिक्रोन भेरियन्ट देखिएको छ । 

उनले भने, 'पछिल्लो केही दिनदेखि मधेस प्रदेशमा कोरोना संक्रमनको दर बढेको छ । अहिले दिनहुँ सयौँको संख्यामा कोरोना संक्रमित थपिदै गएका छन् । बिहीबार प्रदेशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ७ जनामा कोरोना संक्रमण देखिएको थियो । हाल यस प्रदेशमा १ हजार २ सय ११ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन्।' 

उनका अनुसार संक्रमितहरुमध्ये आईसीयूमा २ जना, एचडीयुमा ४ जना र बाँकी संक्रमित होम आइसोलेशनमा रहेका छन् । झाले खोप लगाउनेको संख्यामासमेत वृद्धि भएको बताए। उनले करिब ५० प्रतिशतले खोप लगाएको जानकारी दिए ।

पछिल्लो दुई साताको अवधिमा मात्रै प्रदेशका जिल्लामा कोभिडविरुद्धको खोप लगाउने दर करिब १२ प्रतिशतले बढेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । बढ्दै गएको कोभिड संक्रमणको ग्राफ, खोपसम्बन्धी निरन्तरको प्रचार–प्रसार र स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सक्रियताका कारण पछिल्लो समय खोप लगाउने दर बढेको हो । 

गत पुस २५ सम्म दोस्रो मात्रा खोप लगाउने १८ वर्षमाथि उमेर समूहको संख्या ३८ प्रतिशतमात्र रहेकामा पछिल्लो दुई साताको अवधिमा त्यो संख्या बढेर करिब ५० प्रतिशत पुगेको निर्देशनालयका निर्देशक झाले जानकारी दिए । उनका अनुसार पूर्ण खोप लगाउनेको संख्या सर्लाहीमा ६३ दशमलव ३, धनुषामा ५२ दशमलव ६, बारामा ५३ दशमलव ६, पर्सामा ५१ दशमलव १, सप्तरीमा ४७ दशमलव ७, सिरहामा ४६ दशमलव ८, रौतहटमा ३९ दशमलव ६ र महोत्तरीमा ३६ दशमलव ६ प्रतिशत पुगेको छ । तर बजार, सरकारी कार्यालयहरुमा अहिले पनि सर्वसधारणहरुको भिड लाग्ने गरेको छ । विनामास्क आउने गरेका छन् ।

बजारमा भिडभाड देखिएको छ भने स्वास्थ्य मापदण्डलाई कडाइ गराउन खासै चासो देखाइएको छैन । राजनीतिक दलहरुले समेत कोभिड नियन्त्रणका लागि लागू गरिएको स्वास्थ्य मापदण्डको बेवास्ता गर्दै आ–आफनो गतिविधिलाई अगाडि बढाउने गरेको पाइएको छ ।    


Author

थप समाचार
x